नवआगन्तुक कर्मचारीहरुलाई अनुसन्धान सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न
आज मिति २०७६।१०।१५ मा आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेज्यूको समुपस्थितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नवआगन्तुक कर्मचारीहरुलाई लक्षित गरी मिति २०७६।१०।१२ गते देखि सञ्चालित अभिमुखीकरण तालिम कार्यक्रम सम्पन्न भएको छ । आयोगमा आउने नयाँ कर्मचारीहरुलाई खास गरी आयोगको कार्य प्रकृति, कर्मचारीहरुले पालना गर्नु पर्ने आचार संहिता तथा अनुशासन, अनुसन्धान, तहकिकात तथा अभियोजन, सम्बन्धित विषयवस्तु लगायत कानूनी पक्षहरुलाई समेत समावेश गरी निरन्तर रुपमा नवप्रवेशी कर्मचारीहरुलाई सामाजिकीकरण गर्ने उद्देश्यले सञ्चालन हुँदै आइरहेको अभिमुखीकरण कार्यक्रम यो पटक पनि अत्यन्तै व्यवस्थित तथा प्रभावकारी रुपमा सम्पन्न भएको छ । आयोगका प्रवक्ता सहसचिव प्रदिपकुमार कोइरालाज्यूले तालिमको संक्षिप्त विवरण तथा सहभागीहरुका तर्फबाट तालिमबारे प्राप्त पृष्ठपोषणहरुको बारेमा जानकारी गराउँदै सुरु भएको समापन कार्यक्रममा आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेज्यू सहित माननीय आयुक्तद्वय डा. गणेश राज जोशीज्यू र डा. सावित्री थापा गुरुङज्यू, श्रीमान् सचिव महेश्वर न्यौपानेज्यू, महाशाखा प्रमुखज्यूहरु, सम्पूर्ण प्रशिक्षार्थीहरु लगायत तालिम सञ्चालन समूहका सदस्यहरु समेतको सहभागिता रहेको थियो ।
कार्यक्रमको महत्वपुर्ण क्षणमा बोल्दै आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेज्यूले नवआगन्तुक कर्मचारीहरुलाई आयोगमा स्वागत गर्दै तालिममा सिकेका कुराहरु व्यवहारमा रुपान्तरण सहित कार्यसम्पादनमा निपूर्णताको आधारमा मात्र तालिमको प्रभावकारीता मापन गर्न सकिने बताउनु भयो । साथै उहाँले कर्मचारीहरुलाई हालका दिनमा आयोगको कार्यभार अझ बढेको बताउँदै आफूलाई Role Model को रुपमा भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । सोही कार्यक्रममा आयोगका माननीय आयुक्त डा. गणेश राज जोशीज्यूले प्रशिक्षित कर्मचारीहरुलाई आयोगको कार्यविधि तथा आचार संहितालाई आन्तरिकीकरण गरी समयमा नै अनुसन्धान कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो । सोहि अवसरमा तालिम कार्यक्रमको सुभारम्भमा पनि उपस्थित हुनभएका आयोगका श्रीमान् सचिव महेश्वर न्यौपानेले बोल्दै सहभागीहरुबाट प्राप्त भएका पृष्ठपोषणहरुलाई आगामी तालिमको संरचना निर्धारण गर्दा समावेश गर्ने बताउनु हुँदै सहभागी प्रशिक्षार्थीहरुको पृष्ठपोषण अनुरुप नै आयोगले पनि आगामी दिनहरुमा सार्वजनिक खरिद, जग्गा प्रशासन, विकास निर्माणमा गुणस्तर जस्ता विषयहरुमा अनुसन्धान गर्न विशिष्टिकृत तालिम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो भने स्रोत तथा साधनहरु उपलब्ध गराउने विषयमा आयोगले कहिल्यै पनि कञ्जुस्याँई नगर्ने तर कर्मचारीहरुले आफ्नो खुबीको उच्चतम प्रयोग गर्दै मर्यादित ढङ्गले समय भित्र त्रुटि रहीत रुपमा कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
समापन कार्यक्रममा सहभागीहरुको तर्फबाट तालिमको बारेमा धारणा राख्दै आयोगको कार्यालय हेटौंडाका उपसचिव ओम प्रकाश बरालले अभिमुखीकरण तालिमबाट आफूहरु अनुसन्धानका धेरै जस्तो विषयवस्तुहरुको बारेमा सुसूचित भएको बताउनु हुँदै तालिमको सुरुवातमा नै सहभागी प्रशिक्षार्थीहरुबाट तालिमबाट सहभागीहरुको अपेक्षा संकलन गर्नु सबैभन्दा सुखद पक्ष रहेको धारणा रख्नुभयो । साथै उहाँले तालिमको समग्र अवधीभर व्यवस्थापन पक्ष उत्कृष्ट रहेको महशुस गर्दै सम्पूर्ण सहभागीहरुको तर्फबाट व्यवस्थापन टिमलाई धन्यवाद दिनुभयो ।
Tweet