अन्तर्किया कार्यक्रम सम्पन्न
आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम बमोजिम “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” विषयक पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटबल सम्पर्क कार्यालय नेपालगञ्जबाट मिति २०७९/१०/०६ गते राजापुर नगरपालिका, बर्दियाका नगर प्रमुख दिपेश थारुको प्रमुख आतिथ्यता र सम्पर्क कार्यालयका प्रमुख विजय राज पौडेलको अध्यक्षतामा राजापुर नगरपालिका, बर्दियामा सम्पन्न भयो।
उक्त कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरुका सम्बन्धमा कार्यालय प्रमुख विजय राज पौडेलले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमका प्रमुख अतिथि एवम् राजापुर नगरपालिकाका नगर प्रमुखबाट भ्रष्टाचार नियन्त्रण गर्न सबैको सहयोग हुनुपर्ने भन्दै राजापुर नगरपालिका भित्र रहेका सबै सार्वजनिक पदाधिकारीहरुले कानूनको पालना गर्न र सदाचार निर्माणमा ध्यान दिन अनुरोध गर्नु भयो। वहाँले अख्तियारको कार्यप्रति आफ्नो सहयोग रहने वचन सहित कार्यक्रम सञ्चालन गर्नु भएकोमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष एवं सम्पर्क कार्यालय प्रमुख विजय राज पौडेलले छलफलमा उठेका सवालहरुको सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रणमा सर्वपक्षीय चासो, सक्रियता र सहयोग हुनुपर्ने विषयमा जोड दिदै भ्रष्टाचारजन्य कार्यको जानकारी हुनासाथ सूचना गर्न सबैमा आग्रह गर्नु भयो।
राजापुर नगरपालिका, बर्दियाका नगर उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर कार्यपालिका सदस्यहरु, नगरपालिकाका शाखा प्रमुखहरु, क्याम्पस तथा मा.वि.का. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, संघीय/प्रादेशिक कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, स्थानीय गैर सरकारी संस्था तथा नागरिक समाजका प्रमुख प्रतिनिधिहरु, सञ्चारकर्मी, स्थायी प्रकृतिका उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरु समेत गरी १३५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित सबै प्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रमका अध्यक्षबाट कार्यक्रम समापन गरिएको थियो।
Tweet