नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे, सर्भेक्षक ठाकुर प्रसाद गुरौसमेत ४ जना उपर सरकारी कागजात सच्याउने कार्य गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७९।१०।०५ गते ।
----------------------------------------------------
रुपन्देही  जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकोमा जग्गाधनीको कुनै अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरुले पछाडिको मोहडा पट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौले रुपन्देही  जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदावी लिइएको छ ।

साथै, जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरुले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको देखिंदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूर गरेकोले निजहरु शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसूरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

 प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release