जिल्ला कैलाली, कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर बहादुर वमसमेत ६ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७८।१२।१६ गते ।
----------------------------------------------------
जिल्ला कैलाली, कालिका सामुदायिक वन उपभोक्ता समूहको अध्यक्ष तथा कालिका नि.मा.वि.मा निजी शिक्षकको रुपमा कार्यरत कमल बहादुर शाहीले, सामुदायिक वनको अध्यक्ष भएको समयमा निजले समूहको कोषको रकम विद्यालयलाई अनुदान उपलव्ध गराएको देखाई विद्यालयको खातामा भएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालिका निम्न माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु अध्यक्ष झंकर बहादुर वम, सदस्य धिरेन्द्र बहादुर विष्ट, सदस्य कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमल बहादुर शाही र प्रधानाध्यापक तथा सदस्य-सचिव जनक बहादुर थापाले कालिका सामुदायिक वन उपभोक्ता समूहले टेण्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम मिति २०७१।०७।१८ गतेको कालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आर.एस. सःमिलका प्रोप्राइटर रमेश थापालाई बदनियतपूर्वक विद्यालय/सार्वजनिक संस्थाको रु.८,००,०००/- बराबरको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको देखिंदा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर बहादुर वम, सदस्य धिरेन्द्र बहादुर विष्ट, सदस्य कमला रावल (विष्ट), शिक्षक प्रतिनिधि कमल बहादुर शाही र प्रधानाध्यापक तथा सदस्य-सचिव जनक बहादुर थापाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा १७ ले निर्दिष्ट गरेको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम बिगो रु.८,००,०००/- (आठ लाख रुपैयाँ) समेत प्रतिवादीहरुबाट असुल उपर गरी उक्त कालिका निम्न माध्यमिक विद्यालयलाई दिलाई भराई पाउन मागदाबी लिइएको छ ।
साथै आर.एस. सःमिलका प्रोप्राइटर रमेश थापाले माथि उल्लेखित प्रतिवादीहरुले विद्यालयको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको कार्यलाई मतियारको रुपमा सघाई विद्यालयको खातामा रहेको रु.८,००,०००/- निजले लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवाधात्मक वाक्यांश अनुसारको अन्य प्रतिवादीहरुलाई हुने सजाय बराबर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरेकोले सोही ऐनको दफा २२ को प्रतिवाधात्मक वाक्यांश अनुसारको अन्य प्रतिवादीहरुलाई हुने सजाय बराबर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको सजाय गरी पाउन मागदावी लिई विगो रु.८,००,०००/- (आठ लाख रुपैयाँ) निज प्रतिवादीबाट समेत कालिका निम्न माध्यमिक विद्यालयलाई दिलाई भराई पाउन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Tweet