राजविराज नगरपालिका, नगर कार्यपालिकाका सब-इन्जिनियर सत्यजीब कुमार सिंहसहित ६ जना उपर गैरकानूनी लाभ तथा नेपाल सरकारलाई हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०८।२१ गते ।
----------------------------------------------------
 
जिल्ला सप्तरी, राजविराज नगरपालिकाभित्रको सडकको दायाँवायाँ वृक्षारोपण गर्नको लागि निकासा भएको रकमबाट केही स्थानहरुमा मात्र बृक्षारोपण गरी बाँकी रकम नगरपालिकाका कार्यकारी अधिकृतसमेतको मिलेमतोमा हिनामिना गरेको हुँदा छानविन गरी आवश्यक कारबाही गरी पाउँ भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा राजविराज नगरपालिका, नगर कार्यपालिकाका सब-इन्जिनियर, तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत, आर.के. ईन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोपराईटर, सेभ द नेपाल, राजविराजका अध्यक्ष र सेभ द नेपाल, राजविराजका कोषाध्यक्षसमेतको मिलोमतो र संलग्नतामा निजहरुले नभएको नगरिएको कार्यलाई पनि भएको गरिएको भनी र कम गुणस्तरको कामलाई पनि निर्धारित गुणस्तरको काम भएको भनी सरकारी रकम हिनामिना गरेकोले निजहरुको हकमा निम्नानुसारको कसुरमा निम्नानुसार सजायको मागदाबी लिइएको छ ।
 
क) सब-इन्जिनियर सत्यजीब कुमार सिंहले राजविराज नगरपालिकाभित्र सडकको दायाँवायाँ गरिएका वृक्षारोपण कार्यको अन्तिम मूल्याङ्कनमा निर्माणस्थलमा भएको भन्दा बढी परिमाणको कार्य उल्लेख गरी तथा प्रयोग भएको तारजालीको पनि निर्धारित गुणस्तरयुक्त तथा मापदण्डबमोजिम नभएकोलाई भएको भनी भुक्तानीको लागि सिफारिस गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेकोले निज सत्यजीब कुमार सिंहलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम रु.१७,७५,७४२।४० (अक्षेरेपी सत्र लाख पचहत्तर हजार सात सय बयालीस रुपैया चालीस पैसा) बिगो कायम गरी सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको उक्त बिगो निजबाट असुल उपर हुन मागदावी लिइएको छ ।
 
ख) तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत शीतल रिमालले वृक्षारोपण कार्यको अन्तिम मूल्याङ्कनमा निर्माणस्थलमा भएको भन्दा बढी परिमाणको कार्य उल्लेख गरी तथा प्रयोग भएको तारजालीको पनि निर्धारित गुणस्तरयुक्त तथा मापदण्ड बमोजिम नभएकोलाई भएको भनी रु. ७,८६,२८७।६४  (अक्षेरेपी सात लाख छ्यासी हजार दुई सय सतासी रुपैया चौसठ्ठी पैसा) रकम सेभ द नेपाल, राजविराजलाई भुक्तानीको लागि सिफारिस गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेकोले निज शीतल रिमाललाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम रु.७,८६,२८७।६४ (अक्षेरेपी सात लाख छ्यासी हजार दुई सय सतासी रुपैया चौसठ्ठी पैसा) बिगो कायम गरी सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम हानिनोक्सानी भएको उक्त बिगो निजबाट असुल उपर हुन मागदावी लिइएको छ ।
 
ग) तत्कालीन अनुगमन तथा मूल्याङ्कन अधिकृत सूचना तिमल्सिनाले कार्यको अन्तिम मूल्याङ्कनमा निर्माणस्थलमा भएको भन्दा बढी परिमाणको कार्य उल्लेख गरी तथा प्रयोग भएको तारजालीको पनि निर्धारित गुणस्तरयुक्त तथा मापदण्डबमोजिम नभएकोलाई भएको भनी रु. ९,८९,४५४।७६  रकम तारजाली सहित वृक्षारोपण कार्यक्रम उपभोक्ता समिति, राजविराजलाई भुक्तानीको लागि सिफारिस गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) र (ग) बमोजिम कसुर गरेको हुँदा निज सूचना तिमल्सिनालाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम रु.९,८९,४५४।७६ (अक्षेरेपी नौ लाख उन्ननब्बे हजार चार सय चौवन्न रुपैया छयत्तर पैसा) बिगो कायम गरी सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा(१) बमोजिम हानिनोक्सानी भएको उक्त बिगो निजबाट असुल उपर हुन मागदावी लिइएको छ ।
 
घ) आर.के. इन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोपराइटर टुनालाल कर्णले राजविराज नगरपालिका सडक दायाँवायाँ तारजालीसहित वृक्षारोपण कार्यक्रम सेभ द नेपाल, राजविराजबाट भएको तारजालीसहित वृक्षारोपण कार्यमा रु.७,८६,२८७।६४ (अक्षेरेपी सात लाख छ्यासी हजार दुई सय सतासी रुपैया चौसठ्ठी पैसा) रकम बराबरको कम संख्या तथा गुणस्तरको काम भएकोमा पूरै संख्या र गुणस्तरबमोजिमको काम भएको भनी अन्तिम मूल्याङ्कन बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी बढी भुक्तानी दिलाई निज आर.के. इन्जिनियरिङ्ग कन्सल्टेन्टका प्रोपराइटर टुनालाल कर्णले सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) बमोजिम कसूर गरेको देखिएकोले निजलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम रु.७,८६,२८७।६४ (अक्षेरेपी सात लाख छ्यासी हजार दुई सय सतासी रुपैया चौसठ्ठी पैसा) बिगो कायम गरी सजाय हुन र ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानी भएको उक्त बिगो निजबाट असुल उपर हुन मागदाबी लिइएको छ ।
 
ङ) सेभ द नेपाल, राजविराज र तारजालीसहित वृक्षारोपण कार्यक्रम उपभोक्ता समिति, राजविराजका अध्यक्ष घनश्याम झाले वृक्षारोपण कार्यको कम संख्यामा तारजालीसहित विरुवा रोपिएको र निर्धारित तौलभन्दा कम तौलको तारजालीको प्रयोग गरी कार्य सम्पन्न गरी भुक्तानी लिने सेभ द नेपाल, राजविराज र तारजालीसहित वृक्षारोपण कार्यक्रम उपभोक्ता समिति, राजविराजका अध्यक्ष घनश्याम झाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसूर गरेकोले राजविराज नगरपालिकाभित्र सडकको दायाँवायाँ भएको वृक्षारोपणको भुक्तानी लिनेमा संलग्न निज घनश्याम झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम रु.१७,७५,७४२।४० (अक्षेरेपी सत्र लाख पचहत्तर हजार सात सय बयालीस रुपैया चालिस पैसा) बिगो कायम गरी सजाय गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानी भएको उक्त बिगो निजबाट असुल हुन मागदाबी लिइएको छ ।
 
च) सेभ द नेपाल, राजविराजका कोषाध्यक्ष ललितनारायण झाले राजविराज नगरपालिका सडक दायाँवायाँ तारजालीसहित वृक्षारोपण कार्यक्रम संचालन गरेकोमा निज ललित नारायण झासमेतको संलग्नतामा कार्यक्रम संचालन भएको तथा संस्थाको अध्यक्ष घनश्याम झालसँगको संयुक्त बैङ्क खाताबाट कार्यक्रम सम्पन्न गरेबापत आएको रकम भुक्तानी लिई सम्पन्न गरेको कामभन्दा रु.७,८६,२८७।६४ (अक्षेरेपी सात लाख छ्यासी हजार दुई सय सतासी रुपैया चौसठ्ठी पैसा) भुक्तानी लिनेमा संलग्न निज ललित नारायण झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम रु.७,८६,२८७।६४ (अक्षेरेपी सात लाख छ्यासी हजार दुई सय सतासी रुपैया चौसठ्ठी पैसा) बिगो कायम गरी सजाय गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (४) बमोजिम हानिनोक्सानी भएको उक्त बिगो निजबाट असुल हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
 
प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24