नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत ४ जना उपर बिगो रु. ४,९७,५८७/०३ कायम गरी गैरकानूनी लाभ वा हानी सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२१ गते।
-----------------------------------------

नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहले स्रोत नखुलेको रकम अन्दाजी रु.८/१० लाख रुपैयाँ साथमा लिई लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौंतर्फ आउने हुँदा निजलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरी पाउँ भन्ने गोप्य सूचना अनुसार निज बुटवलबाट काठमाडौं तर्फ आउँदै गर्दा जिल्ला धादिङ्ग धुनिवेशी नगरपालिका वडा नं ८ खानीखोलामा फेला पारी निजको खानतलासी गर्दा स्रोत नखुलेको जम्मा नगद रु.२,३३,५००/-, विभिन्न रकम जम्मा गरेको भौचरहरु, हिसाब किताबको अभिलेख रहेको सेतो कागजको टुक्रा (चिट), चेकबुक, भीजा कार्ड, डायरी तथा मोबाइल सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले  निजलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलका कार्यालय प्रमुख सन्तोष साहबाट बरामद सेतो कागजको टुक्रामा भावना ४१२५०० र चिराग ६५६००० लेखी हिसाब गरिएको चिट (कागजको टुक्रा) सम्बन्धमा नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगरले पाइप लाइन बिस्तार कार्य कृष्णनगर नगरपालिका र झन्डी नगरदेखि लक्ष्मी नगरसम्मको गरी जम्मा तीन स्थानहरूमा पाइप लाइन बिस्तार गर्ने भनी रु.४,९९,५७५/८४ को लागत इस्टिमेट तयार गरी बजेट निकासा गराएकोमा भावना निर्माण सेवा बुटवलका सञ्चालक रमेश बेल्बासेसँग सम्पर्क गरी गर्दै नगरेको कामलाई काम सम्पन्न भइसकेको भनी कोटेसन सहितको भ्याट बिल मागी लिई कामै नगरी निर्माण सम्पन्न भएको झूटा प्रतिवेदन तयार गरी गराई आरोपितहरू सन्तोष साह र सिनियर पलम्बर राजेन्द्र रैदास समेतले नगद रु.४,९७,५८७/०३ (चार लाख सन्तानब्बे हजार पाँच सय सतासी रुपैयाँ तीन पैसा) रकम भावना निर्माण सेवा बुटवलका सञ्चालक रमेश बेल्बासेलाई भुक्तानी दिई उक्त रकममध्ये रु.४,१०,५००/- आरोपित सन्तोष साहको बाबु राम नारायण साहु सुडीको खातामा जम्मा गर्न लगाई सो रकम झिकी बाँडीचुडी खाई नेपाल सरकारको सम्पत्ति बदनियतपूर्वक हिनामिना हानिनोक्सानी र आ-आफूलाई गैरकानुनी लाभ हुने कार्य गरेको पुष्टि हुन आएकोले निज राष्ट्रसेवक कर्मचारी इन्जिनियर सन्तोष साह र सिनियर पलम्बर राजेन्द्र रैदासले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) एवं सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत भ्रष्टाचारको कसुर भएकोले निज इन्जिनियर सन्तोष साह र सिनियर पलम्बर राजेन्द्र रैदासलाई हानिनोक्सानीको बिगो रु.४,९७,५८७/०३ (चार लाख सन्तानब्बे हजार पाँच सय सतासी रुपैयाँ तीन पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम जरिबाना र कैद सजाय हुन साथै हिनामिना हानिनोक्सानी भएको रकम सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम निज सन्तोष साह र राजेन्द्र रैदासबाट असुल उपर हुन समेत मागदाबी लिइएको छ ।

साथै भावना निर्माण सेवाका सञ्चालक रमेश बेल्बासेले उक्त कार्यको कामनै नभएकोमा झूटा बिल बीजक तयार गरी नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगरमा पेश गरी रु.४,९७,५८७/०३ भुक्तानी लिएकोमा सो रकममध्ये रु.४,१०,५००/- सन्तोष साहको बाबु राम नारायण साह सुडीको खातामा जम्मा गरी नेपाल सरकारको हानीनोक्सानी र आफूसमेतलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज भावना निर्माण सेवाका सञ्चालक रमेश बेल्बासेलाई हानिनोक्सानीको बिगो रु.४,९७,५८७/०३ (चार लाख सन्तानब्बे हजार पाँच सय सतासी रुपैयाँ तीन पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो रु.४,९७,५८७/०३ (चार लाख सन्तानब्बे हजार पाँच सय सतासी रुपैयाँ तीन पैसा) असुल उपर गरी जफत हुन मागदाबी लिइएको छ ।

त्यसै गरी सन्तोष साहको बाबु राम नारायण साहु सुडीले आफ्नो छोरा सन्तोष साहले अनियमित तरिकाले प्राप्त गरेको रकम रु.४,१०,५००/- कृषि विकास बैकको खातामा जम्मा गरेको सो रकम तत्कालै झिकी सरकारी सम्पत्ति हानिनोक्सानी र आफूसमेतलाई फाइदा हुने कार्य गरेको र पटकपटक सम्पर्क राख्न बोलाउँदा आयोग समक्ष उपस्थित नभई फरार रहेकोसमेत देखिँदा निज राम नारायण साहु सुडीले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को कसुरको मतियारको कसुर गरेकोले निज राम नारायण साहु सुडीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मुख्य कसुरमा सन्तोष साहलाई हुने सजाय सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24