नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहसमेत ३ जना उपर बिगो रु. ८,२२,०००/- कायम गरी घुस/रिसवत सम्बन्धी आरोप-पत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०७७।०६।२१ गते।
-----------------------------------------

नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवल रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साहले स्रोत नखुलेको रकम अन्दाजी रु.८/१० लाख रुपैयाँ साथमा लिई लु १ ञ ९५ नम्बरको गाडीमा बुटवलबाट काठमाडौंतर्फ आउने हुँदा निजलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गरी पाउँ भन्ने गोप्य सूचना अनुसार निज बुटवलबाट काठमाडौं तर्फ आउँदै गर्दा जिल्ला धादिङ्ग धुनिवेशी नगरपालिका वडा नं ८ खानीखोलामा फेला पारी निजको खानतलासी गर्दा स्रोत नखुलेको जम्मा नगद रु.२,३३,५००/-, विभिन्न रकम जम्मा गरेको भौचरहरु, हिसाब किताबको अभिलेख रहेको सेतो कागजको टुक्रा (चिट), चेकबुक, भीजा कार्ड, डायरी तथा मोबाइल सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज इन्जिनियर सन्तोष साहलाई पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा रूपन्देही जिल्ला बुटवल उप-महानगरपालिकास्थित मिलनचोक देखी जोगीकुटी सम्म र देबीनगर क्षेत्रभित्र पाइप लाइन बिस्तारको ठेक्का अनिता निर्माण सेवालाई दिलाइ दिएबापत नेपाल खानेपानी संस्थान शाखा कार्यालय बुटवलमा कार्यरत इन्जिनियर सन्तोष साहले सेवाग्राही अनिता निर्माण सेवाको सञ्चालिका शान्ति रानाबाट रकम माग गरेकोमा शान्ति रानाले अनिता निर्माण सेवाको खाताबाट रु.८,२२,०००/- रकम सन्तोष साहको बाबु राम नारायण साहु सुडीको कृषि विकास बैकको खातामा कमिसनबापत जम्मा गरेको र सो रकम निकाली लिए खाएको पुष्टि हुन आएकोले निज राष्ट्रसेवक कर्मचारी इन्जिनियर सन्तोष साहले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ६ बमोजिमसमेतको भ्रष्टाचारजन्य कसुर भएको निर्विवाद रूपमा पुष्टि हुन आएकोले निज आरोपित इन्जिनियर सन्तोष साहलाई बिगो रु.८,२२,०००/- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम जरिबाना र कैद सजाय हुन साथै घुस/रिसवत/कमिसनबापतको रकम रु.८,२२,०००/- (आठ लाख बाइस हजार) सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम निज आरोपित सन्तोष साहबाट जफत हुन समेत मागदाबी लिइएको छ ।

साथै आरोपितमध्ये अनिता निर्माण सेवाकी सञ्चालक शान्ती रानाले उक्त काम दिलाई दिएबापत घुस/रिसवत/कमिसन स्वरूप रु.८,२२,०००/- (आठ लाख बाइस हजार) सन्तोष साहको बाबु राम नारायण साहु सुडीको खातामा जम्मा गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज शान्ति रानालाई घुस/रिसवत/कमिसनबापतको बिगो रु.८,२२,०००/- (आठ लाख बाइस हजार)  कायम गरी सोही ऐनको दफा ३ को उपदफा (३) मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

त्यसै गरी आरोपित सन्तोष साहको बाबु राम नारायण साहु सुडीले आफ्नो छोरा सन्तोष साहले अनियमित तरिकाले प्राप्त गरेको रकम रु.८,२२,०००/- आफ्नो कृषि विकास बैकको खातामा जम्मा गरेको सो रकम तत्काल झिकी खाइ मासी आफूसमेतलाई फाइदा हुने कार्य गरेको र पटक-पटक सम्पर्क राख्न बोलाउँदा आयोग समक्ष उपस्थित नभई फरार रहेको समेत देखिँदा निज राम नारायण साहु सुडीले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरको मतियारको कसुर भएकोले निज राम नारायण साहु सुडीलाई बिगो रु. ८,२२,०००/- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्याम्समा उल्लेख भए बमोजिम मुख्य कसुरद्वारा सन्तोष साहलाई हुने सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)  र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24