जोशीपुर गाँउपालिकाको कार्यालय कैलालीका ना.सु. सिद्धराज जोशीउपर बिगो रु. ८५,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।०४।२६ गते।
------------------------------------------

 जिल्ला कैलाली, जोशीपुर गाँउपालिकाबाट सिलाई कटाई तालिम, सैलुन तालिम र चुरा बनाउने तालिमहरू दिई तालिम सफलता पुर्वक सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले निज जोशीपुर गाँउपालिकाको कार्यालयका ना.सु. सिद्धराज जोशीलाई घुस/रिसवत बापतको रकम रु.८५,०००/- (पचासी हजार) सहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जोशीपुर गाँउपालिकाको कार्यालयका ना.सु. सिद्धराज जोशीले जोशीपुर गाउँपालिकाको स्विकृत बार्षिक कार्यक्रम अनुसार जोशीपुर गाउँपालिकाको सिलाई कटाई, चुरा बनाउने तालिम सम्पन्न गरी भुक्तानी भएकोमा उल्लेखित तालिम प्राप्त गर्न तथा भुक्तानीको लागि सहजीकरण गरेबापत सेवाग्राहीसँग रकम माग गरेकोमा रकम दिन इन्कार गर्दा निज सिद्धराज जोशीले आगामी दिनहरुमा कामबाट बन्चित गराउनेसमेत पटक-पटक धम्काई घुस/रिसवत दिन बाध्य पारी रु.८५,०००।- (पचासी हजार) घुस/रिसवत लिएको तथ्य प्रमाणित हुन आएको हुँदा निज ना.सु. सिद्धराज जोशीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज सिद्धराज जोशीलाई बिगो रू.८५,०००।- (पचासी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
तारानाथ अधिकारी

 

Download