मिर्चौया नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादवसहित ५ जना उपर राजस्व छली गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७७।०३।०५ गते ।
-------------------------------------------------
सिरहा जिल्ला फूलबारी गा.वि.स. वडा नं. ७ख. को कि.नं. १९३,१९४,२०९,२१०,३०४९ र ३०५० का बाटो भएको जग्गाहरु बिक्री गर्दा बाटो नभएको भन्ने सिफारिस गरी राजस्व छली गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा देहायका व्यक्तिहरुले देहायबमोजिम भ्रष्टाचारजन्य कार्य गरेको प्रमाणित हुन आएकोले देहायबमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
क. घरबाटो सिफारिस गर्ने मिर्चौया नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामकुमार यादवले हस्ताक्षर गरेको पत्रले साविक फूलवरिया गा.वि.स. वडा नं. ७(ख) कि.नं. १९४ ज.वि. (०-०-१३), कि.नं. २०९ ज.वि. (०-०-१६), कि.नं. ३०४९ ज.वि. (०-०-८) विगाह जग्गाहरुमा घरबाटो केही नभएको भनी तथा ऐ. को कि.नं. २१० ज.वि. (०-०-१५), कि.नं. १९३ ज.वि. (०-१-३), कि.नं. ३०५० ज.वि. (०-०-८) क्षेत्रफल विगाह जग्गाहरुमा बाटो नभएको भनी मालपोत कार्यालय सिरहालाई गलत सिफारिस गरेको पुष्टी भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर गरेको देखिएकोले र उक्त गलत व्यहोराको सिफारिसबाट नेपाल सरकारलाई प्राप्त हुने रकममा मालपोत कार्यालय सिरहाको पारित लिखतबाट रजिष्ट्रेशन दस्तुर रु. ४०,७७७।– (चालीस हजार सात सय सतहत्तर) हानिनोक्सानी पुग्न गएकोले निज राम कुमार यादवको उक्त कार्य ऐ. ऐनको दफा ८ को उपदफा (३) बमोजिमको समेत कसुर भएको स-प्रमाण पुष्टि भएको देखिंदा निजलाई भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ९ तथा बिगो रु. ४०,७७७।– कायम गरी सोही ऐनको दफा ८ उपदफा (३) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
ख. जग्गा खरिदकर्ता सुरेश कुमार महतोले मिर्चौया नगरकार्यपालिकाको कार्यालय वडा नं. ७ को पत्रबाट कि.नं. १९३,२१०,३०५०,१९४,२०९,३०४९ का जग्गा घरबाटो भएकोलाई उक्त कित्ता जग्गाहरुमा घरबाटो नभएको भनी वडाध्यक्ष रामकुमार यादवसँगको मिलेमतोमा गलत सिफारिस गराई उक्त कि.नं. का जग्गाहरु आफूले खरिद गर्ने क्रममा रजिष्ट्रेशन दस्तुर रु. ४०,७७७।– कम राजस्व दाखिला गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको देखिइएकोले निज सुरेश कुमार महतोको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर हुनका साथै दफा ९ को कसुरको मतियार हुने कसुर भए गरेको स-प्रमाण पुष्टि भएको हुँदा रु.४०,७७७/- (चालिस हजार सात सय सत्हत्तर) बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम दफा ९ बमोजिमसमेत सजाय हुन र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याएको रु.४०,७७७/- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम असूल उपर गरी जफत हुन पाउनसमेत मागदाबी लिइएको छ ।
ग. जग्गा विक्रीकर्ता रामेश्वर साह, दिप नारायण साह र सत्य नारायण प्रसाद साहले मिर्चैया नगरपालिकाको कार्यालय वडा नं. ७ को घरबाटो सिफारिस पत्रमा कित्ता नं. १९४, २०९, ३०४९ को घर बाटो नभएको भनी रामेश्वर साहले र कित्ता नं. १९३, २१०, ३०५० को घर बाटो नभएको दिप नारायण साह र सत्य नारायण प्रसाद साहले वडाध्यक्ष रामकुमार यादवसँगको मिलेमतोमा गलत सिफारिस गराई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ को कसुरको मतियार हुने कसुर प्रमाणित हुन आएकोले निज रामेश्वर साह, दिप नारायण साह र सत्य नारायण प्रसाद साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet