नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झा उपर सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०५ गते ।
---------------------------------------------------
 
गोरखा जिल्ला, नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट ट्रस भवन मर्मतका लागि प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाने माध्यमिक विद्यालय सिरानचोक गोरखाको ट्रस भवन मर्मत गर्न र Science, Math, English Lab निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त रु. १६,१०,०००।– र १,५०,०००।– तथा साविक केराबारी गा.वि.स.बाट शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको रु. ७२,२९२।– रकम हिनामिना गरेको सम्बन्धमा देहायका व्यक्तिहरुले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
(क) प्रधानाध्यापक शिवकुमार साहले तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त ट्रस भवन मर्मतबापतको रु. १६,१०,०००।–(सोह्र लाख दस हजार) मध्ये रु. ५,००,०००।– (पाँच लाख) भवन मर्मत उपभोक्ता समितिलाई दिई बाँकी रु. ११,१०,०००।– (एघार लाख दस हजार) विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई Science, Math, English Lab निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकम रु. १,५०,०००।– (एक लाख पचास हजार) बाट Science, Math, English Lab निर्माणको कुनै कार्य नगरी, साथै साविक केराबारी गा.वि.स.बाट शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको रु. ७२,२९२।– (बहत्तर हजार दुई सय बयानब्बे) विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय तयार गरी, नक्कली बिल भरपाई पेश गरी आफूले गैरकानूनी लाभ लिने उद्देश्यले नेपाल सरकारको रु. १३,३२,२९२।- (तेह्र लाख बत्तीस हजार दुई सय बयानब्बे) हिनामिना गरी भ्रष्टाचारजन्य कसुर गरेको तथ्य पुष्टि हुन आएकोले निज शिवकुमार साहले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको समेत कसुर भएकोले निज शिवकुमार शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय हुनका साथै बिगो रु. १३,३२,२९२।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।
 
(ख) शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्राविधिक सव-इन्जिनियर बिकास झाले शिवकुमार साहसँग मिलेमतो गरी ट्रस भवन मर्मतको रकम फर-फारक गर्नका लागि झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी मर्मत शीर्षकको रु. ११,१०,०००।– हिनामिना दुरुपयोग गरी गराएको तथ्य पुष्टि हुन आएकोले निज बिकास झाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (२) बमोजिमको भ्रष्टाचारको कसुर भएकोले निज बिकास झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनका साथै बिगो रु. ११,१०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला धनुषा, सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/14
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, तत्कालीन निर्देशक सफल श्रेष्ठसमेत ६ जना र कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/11
जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईं, गणेश प्रसाद भट्टराईसमेत ९ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/10
गण्डकी प्रदेश अन्तर्गत भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखरा, कास्कीका लेखा अधिकृत (अधिकृत आठौँ तह) झलक शर्मा पौडेल उपर बिगो रू.६,२६,९३,१२९।८२ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/07/09