नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ गोरखाका प्रधानाध्यापक शिवकुमार साह र शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झा उपर सरकारी रकम अनियमितता गरेको सम्बन्धमा आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०५ गते ।
---------------------------------------------------
 
गोरखा जिल्ला, नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट ट्रस भवन मर्मतका लागि प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाने माध्यमिक विद्यालय सिरानचोक गोरखाको ट्रस भवन मर्मत गर्न र Science, Math, English Lab निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय हाल शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त रु. १६,१०,०००।– र १,५०,०००।– तथा साविक केराबारी गा.वि.स.बाट शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको रु. ७२,२९२।– रकम हिनामिना गरेको सम्बन्धमा देहायका व्यक्तिहरुले भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित हुन आएकोले देहाय बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
 
(क) प्रधानाध्यापक शिवकुमार साहले तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त ट्रस भवन मर्मतबापतको रु. १६,१०,०००।–(सोह्र लाख दस हजार) मध्ये रु. ५,००,०००।– (पाँच लाख) भवन मर्मत उपभोक्ता समितिलाई दिई बाँकी रु. ११,१०,०००।– (एघार लाख दस हजार) विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई Science, Math, English Lab निर्माणका लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकम रु. १,५०,०००।– (एक लाख पचास हजार) बाट Science, Math, English Lab निर्माणको कुनै कार्य नगरी, साथै साविक केराबारी गा.वि.स.बाट शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको रु. ७२,२९२।– (बहत्तर हजार दुई सय बयानब्बे) विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय तयार गरी, नक्कली बिल भरपाई पेश गरी आफूले गैरकानूनी लाभ लिने उद्देश्यले नेपाल सरकारको रु. १३,३२,२९२।- (तेह्र लाख बत्तीस हजार दुई सय बयानब्बे) हिनामिना गरी भ्रष्टाचारजन्य कसुर गरेको तथ्य पुष्टि हुन आएकोले निज शिवकुमार साहले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको समेत कसुर भएकोले निज शिवकुमार शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय हुनका साथै बिगो रु. १३,३२,२९२।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।
 
(ख) शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्राविधिक सव-इन्जिनियर बिकास झाले शिवकुमार साहसँग मिलेमतो गरी ट्रस भवन मर्मतको रकम फर-फारक गर्नका लागि झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी मर्मत शीर्षकको रु. ११,१०,०००।– हिनामिना दुरुपयोग गरी गराएको तथ्य पुष्टि हुन आएकोले निज बिकास झाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (२) बमोजिमको भ्रष्टाचारको कसुर भएकोले निज बिकास झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनका साथै बिगो रु. ११,१०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
 
 
प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22