रुपन्देही जिल्ला अदालतमा कार्यरत नायव सुव्वा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्माउपर आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०३ गते ।
---------------------------------------------------

रुपन्देही जिल्ला अदालतमा कार्यरत नायव सुव्वा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्मासमेतले धरौटी रकम फिर्ता दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज आन्तरिक राजस्व कार्यालय, भैरहवा दरबन्दी भई रुपन्देही जिल्ला अदालतमा लेखा सम्बन्धी कामकाज गर्न खटिएका लेखापाल विनोद शर्मा र रुपन्देही जिल्ला अदालतमा कार्यरत ना.सु. बुद्धि प्रकाश न्यौपानेले सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु. २,०००/- (दुई हजार) लिइसकेको अवस्थामा उक्त रकम सहित दुवैजनालाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा रुपन्देही जिल्ला अदालतका नायब सुब्वा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्माले रुपन्देही जिल्ला अदालतमा किर्ते मुद्दाको अनुसन्धानको क्रममा धरौटीमा राखेको रकम फिर्ता लिन गएका सेवाग्राहीलाई निजहरुले बिभिन्न बहाना बनाई आलटाल गरी दु:ख हैरानी दिएको र काम छिटो गरिदिने भनी रु. २,०००।– (दुई हजार) घुस/रिसवत लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) कसुर भएकोले बिगो रु. २,०००।– कायम गरी नायव सुब्बा बुद्धि प्रकाश न्यौपाने र लेखापाल विनोद शर्मालाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

 

Download