परशुराम नगरपालिका जोगबुढा, डडेल्धुरामा असिस्टेन्ट सव-इन्जिनियरको पदमा कार्यरत नरबहादुर बोहरासमेत ५ जनाउपर बिगो रु. १,७३,१९०।६१ कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।०९।०९ गते ।
---------------------------------------------------

डडेल्धुरा जिल्ला अन्तर्गत बेलडाडी कृषि सडकको निर्माण कार्यमा बढी रकम भुक्तानी लिएको भन्ने उजुरी सम्बन्धमा  अनुसन्धान हुँदा परशुराम नगरपालिका जोगबुढा, डडेल्धुरामा असिस्टेन्ट सव-इन्जिनियरको पदमा कार्यरत नरबहादुर बोहराले नेपाल सरकारलाई हानि पुर्‍याउने बदनियतले इस्टिमेट, मूल्याङ्कन सिट र कार्यसम्पन्न प्रतिवेदनसमेतका गलत प्रतिवेदन तयार गरी आफू वा अरु कुनै व्यक्तिलाई गैरकानूनी लाभ पुर्‍याउने र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने बदनियतले आधार बिना अस्वाभाविक किसिमबाट बढी रकम तथा लगत देखाउने, मनासिव कारण बिना सर्त तथा मापदण्डविपरीत निर्माण कार्य गर्ने गराउने गरेको र सोबाट बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) र सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको प्रमाणित हुन आएकोले बिगो रु. १,७३,१९०।६१ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम बिगो रकम असुलउपर हुन समेत मागदाबी लिइएको छ ।

परशुराम नगरपालिकाको कार्यालयमा इन्जिनियरको पदमा कार्यरत नरेन्द्रबहादुर भाटले असिस्टेन्ट सव-इन्जिनियरको पदमा कार्यरत नरबहादुर बोहराले तयार पारेको इस्टिमेट, मूल्याङ्कन सिट र बदनियतसाथ कार्यसम्पन्न प्रतिवेदनसमेतका गलत प्रतिवेदनलाई ठीक छ भनी चेकजाँच गरी स्वीकृतिको लागि पेश गरी, वडा कार्यालयको रकम भुक्तानीको लागि सिफारिस पत्रमा योजना सम्पन्न भई अनुगमनसमेत भइसकेको भनी अन्तिम भुक्तानीको लागि सिफारिस गरी सोबाट बढी रकम भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) तथा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कसुर गरेको प्रमाणित हुन आएकोले निजलाई बिगो रु. १,७३,१९०।६१  कायम गरी भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो रकम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम असुलउपर हुन समेत मागदाबी लिइएको छ ।  

साथै बेलडाडी कृषि सडक बीच टोल निर्माण उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर बोहरा, कोषाध्यक्ष मथुरी देवी बोहरा र सचिव तेजबहादुर बोहराले परशुराम नगरपालिका जोगबुढा डडेल्धुराका असिस्टेन्ट सव-इन्जिनियर नरबहादुर बोहरा र इन्जिनियर नरेन्द्र बहादुर भाटसमेतको मिलेमतोमा बदनियतपूर्वक सत्यतथ्यलाई लुकाई नभएको नगरेको कामलाई गरेको भनी झुठ्ठा नापी किताब एवं कार्यसम्पन्न प्रतिवेदन बनाई उक्त काममा सार्वजनिक खरिद ऐन/नियमावली विपरीत डोजर प्रयोग गरी, झुठ्ठा डोरहाजिरी फाराम पेश गरी नेपाल सरकारसमक्ष गरेको कबुलियत तथा सम्झौता बमोजिमको सर्त पालना नगरी नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्‍याई आफूहरुलाई व्यक्तिगतरुपमा गैरकानूनी लाभ पुर्‍याउनका लागि निर्माणस्थलमा भए गरेको कार्य भन्दा बढी तथा साइटमा नगरे नगराएको कामको परिमाणको नापी गराई झुठ्ठा बिल भरपाई तयार गरी/गराई पेश गरी बढी रकम भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेकोले निजहरुलाई बिगो रु. १,७३,१९०।६१  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) मा उल्लेख भए बमोजिम सजाय र बिगोसमेत असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/05
जिल्ला काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्कीसमेत ३ जना उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/02
नापी कार्यालय कलंकी, काठमाडौंका सर्भेक्षक सुबिन्द्र श्रेष्ठ उपर बिगो रू.४,७४,४६,८१३/४९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/10/01
खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसमेत ८ जना उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/30
जिल्ला लमजुङ, राइनास नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसमेत १० जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/29
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसमेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/09/28
जिल्ला रौतहट, माधव नारायण नगरपालिकामा सामाजिक परिचालक (सहायक स्तर पाचौँ) पदमा कार्यरत कृष्ण नन्दन प्रसाद यादव उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/09/24