जिल्ला तनहुँ धरमपानी गाविस स्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नर बहादुर गुरूङसमेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०७।०१ गते ।
-------------------------------------------
जिल्ला तनहुँ धरमपानी गाविस स्थित ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्ण बहादुर गुरूङले विद्युतीकरणको लागि निकासा भएको रकमको कार्य नगरी संस्थाको रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजहरू ग्रामीण विकास समाज धरमपानीका अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्णबहादुर गुरूङले धरमपानी गाविस तथा जिल्ला विकास समितिको कार्यालय तनहुँबाट प्राप्त सरकारी अनुदान रकम रू.१९,४०,९२६।८९ ( उन्नाईस लाख चालीस हजार नौ सय छब्बीस रूपैयाँ उनानब्बे पैसा) ग्रामीण विद्युतीयकरण कार्यमा खर्च नगरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निजहरू अध्यक्ष नरबहादुर गुरूङ र कोषाध्यक्ष कृष्ण बहादुर गुरूङ उपर विगो रू. १९,४०,९२६।८९ (उन्नाईस लाख चालीस हजार नौसय छब्बीस रूपैयाँ उनानब्बे पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अनुसार विगोबमोजिम जरिवाना गरी विगो असुलउपर हुन मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet