जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वली उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०६।२२ गते।
------------------------------------------
जिल्ला काठमाडौं, नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरी, काठमाडौंका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वलीले छुट जग्गा दर्ता सिफारिस सहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउनको लागि अनावश्यक सास्ती दु:ख हैरानी दिई घुस (रिसवत) माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज नापी अधिकृत डिल्ली बहादुर वलीलाई घुस (रिसवत) रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीमा कार्यरत नापी अधिकृत डिल्ली बहादुर वलीले छुट जग्गा दर्ताको सिफारिस सहितको मिसिल फाइल तथा आवश्यक कागजात भूमि प्रशासन कार्यालय मनमैजु काठमाडौंमा पठाई दिने तथा छुट जग्गा दर्ताको काममा सहजीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीसँग घुस (रिसवत) रू. १०,००,०००/- (दश लाख रूपैयाँ) माग गरी लिएको पुष्टि भएको देखिएबाट निज डिल्ली बहादुर वलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.१०,००,०००/- (दश लाख रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet