प्रतिवादी लाहानु थारुसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०९।१६ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
प्रतिवादी जिल्ला बर्दिया, भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरु अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुलाई भ्रष्टाचार निवारण ऐन,२०५९को दफा १७ बमोजिमको कसूरमा बिगो रु. २,७८,०८४।– कायम गरी ऐ.ऐनको दफा १७ ले व्यबस्था गरे बमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐनको दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद तथा जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असूल उपर हुन,
प्रतिवादी सुरुची ट्रेड एण्ड सप्लायर्स, मगरागढी बर्दियाका प्रोपाईटर पारस गौतमलाई भ्रष्टाचार निवारण ऐन,२०५९को दफा १७ बमोजिम कसूर गर्ने प्रतिबादीहरु लाहानु थारु, सोहन प्यारी थारु र राधेश्याम थारुको मतियार भई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको कसूर गरेको पुष्टि भएको हुँदा निज पारस गौतमलाई बिगो रु.२,७८,०८४।- कायम गरी ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक बाक्याशं र ऐ. ऐनको दफा १७ ले व्यबस्था गरे बमोजिम ऐ.ऐनको दफा ३ को उपदफा (१) र ऐ.ऐनको दफा ३ को उपदफा (१) देहाय (घ) बमोजिम कैद तथा जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम उक्त बिगो असूल हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।२१ को फैसलाबाट सफाई दिएको-:
समूहको खातामा जम्मा गरिएको रकम जम्मा गर्ने व्यक्तिलाई नै फिर्ता गरेको भन्ने आरोप दावी गरिएकोमा रकम दाखिला गर्ने व्यक्तिलाई कुन मितिमा कति रकम फिर्ता दिएको भन्ने आरोपपत्रमा उल्लेख गर्न नसकेको स्थितिमा समूहको रु.२.७८,०८४।- रकम हिनामिना गरी हानि नोक्सानी पुर्याएको मान्न मिल्ने ठोस आधार प्रमाण भएको देखिएन।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०९।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) भालुफाँटा सामुदायिक वनमा आ.व.२०७४/०७५ मा स्वीकृत बार्षिक कार्ययोजना अनुरुप गैर काष्ठ वन पैदावार बेत बिक्रिबाट रु.१२,००,५१०।-आम्दानी भएकोमा सो सँग सम्बन्धित खर्च रु.४,०५,४२६।- तथा पारस गौतम समेतलाई चेकबाट भुक्तानी दिएको रकम मध्ये पुन: समूहको खातामा जम्मा भएको रु.५,१७,०००।- समेत हेर्दा रु.२,७८,०८४।- रकम अपुग भएकोले सो हिनामिना भएको रकमलाई हिसाव मिलान गर्न आ.व.०७४/७५ को अडिट रिपोर्टमा समेत रु.९,२५,१३५।- मात्र उल्लेख गरी वास्तविक र यथार्थ आम्दानी रु.१२,००५१०।- उल्लेख गर्नुपर्नेमा सो नगरी रु.२,७८,०८४।- प्रतिवादीहरुले एक आपसमा मिलेमतो गरी सार्वजनिक सम्पत्तिको हानी नोक्सानी गरेको स्पष्ट देखिदा प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण भै बदर भागी रहेको।
ख) लेखा परीक्षण गर्दा आम्दानी नगदी रसिदमा रु.१२,००,५१०।– बाँध्नुपर्नेमा साधारणसभाबाट रु.९,२५,१३५।- मात्र आम्दानी बाँधिएको र सभाबाट समेत रु.९,२५,१३५।–मात्र आम्दानी देखाएकोले हामीले लेखा परीक्षण गर्दा रु.९,२५,१३५।- वेत बिक्रिबाट प्राप्त आय आम्दानी देखाईएको हो यसमा समूहको अध्यक्ष, सचिव र कोषाध्यक्षको कैफियत देखिन्छ भन्ने समेत व्यहोराको वादी नेपाल सरकारका साक्षीले अनुसन्धानको क्रममा वेहोरा लेखाएको र अदालतमा उपस्थित भई सो वेहोरा समर्थन गरी बकपत्र गरी दिए समेतबाट निजको भनाइलाई प्रमाणमा लिनुपर्नेमा सो नगरी प्रतिवादीहरुलाई आरोपित कसूरबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण देखिंदा बदर भागी रहेको।
ग) भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह बर्दियाको नाममा रहेको नेपाल बैंक लिमिटेड, राजापुर बर्दिया शाखाको खातामा रहेको रकम बिभिन्न व्यक्तिको नाममा भुक्तानी गरेको देखिएकोमा समूहको मिति २०७४/०८/०९ गतेको समूह भेलाबाट भुक्तानी गरिएको खर्चको अनुमोदन भई समूहबाट प्रकृयागत त्रुटि भएको महसुस गरी आगामी दिनमा सजग रहने प्रतिबद्धता जाहेर गरेको कागजबाट कोषको रकम भुक्तानी गर्दा अनिवार्य भेलाबाट निर्णय गरी भुक्तानी दिनु हुन निर्देशन दिई पहिलो पटकलाई सचेत गराएको भन्ने वेहोरा जिल्ला वन कार्यालय बर्दियाको पत्र मिसिल संलग्न रहेकोमा सो पत्र समेतबाट प्रतिवादीहरुको बदनियत रहेको भन्ने स्पष्ट देखिएकोमा मिसिल संलग्न सबूद प्रमाणहरुलाई न्यायिक विवेचना नगरी भएको फैसला त्रुटिपूर्ण देखिंदा बदर भागी रहेको।
घ) सुरुची ट्रेड एण्ड सप्लायर्स, मगरागढी बर्दियाका प्रोपाईटर पारस गौतमले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूह, बर्दियाको आ.व.२०७४/०७५ मा गैर काष्ठ वन पैदावार बेत ४०,०१७ के.जी. लिलाम सकार गरी सो वापत जम्मा गरिदिएको रु.१२,००,५१०।– रकम समूहको पदाधिकारीहरुलाई प्रलोभनमा पारेर चेक काट्न लगाई समूहको नेपाल बैक लिमिटेड, राजपुर शाखा, बर्दियाको खाताबाट रकम निकाली पुन: सबै रकम जम्मा नगरी रु.२,७८,०८४।– रकम हिनामिना गरेको मिसिल संलग्न कागजातहरुबाट प्रष्ट भएको र सो सामुदायीक वन उपभोक्ता समूहका पदाधिकारीहरुसँग मिलेमतो गरी आफूलाई समेत लाभ प्राप्त गर्ने नियतले भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहलाई गैरकानूनी हानि हानीनोक्सानी गरी मुख्य कसूरदारहरु प्रतिबादीहरु लाहानु थारु, सोहन प्यारी थारु र राधेश्याम थारुको मतियार भई कसूर गरेको पुष्टि भएकोमा निज प्रतिवादी पारस गौतम समेतलाई आरोपित कसूरबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
Tweet