नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल उपर नपाएको ओहदा पाएँ भन्ने एवं झुट्टा बिबरण दिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।



प्रेस विज्ञप्ति:- मिति २०८१।०८।२४ गते।
------------------------------------------

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नागरिकतामा पटक-पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको, नेपाल बीमा प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा सम्वत् २०८० साल साउन १६ गतेवाट ६६ औं वर्षमा प्रवेश गर्दासमेत पदमा वहाल नै रही पछिल्लो ९(नौ) महिना देखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानून वमोजिम कारवाही हुन भन्नेसमेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवालको जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी मिति २०३२।११।२४ गतेको नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको, जिल्ला प्रशासन कार्यालय काठमाडौवाट नेपाली नागरिकताको प्रतिलिपि प्राप्त गर्दा मिति २०६६।०१।१७ गते जारी नागरिकतामा जन्म मिति २०१६।०७।२२ उल्लेख भएको, त्रिभुवन विश्वविद्यालयवाट जारी Diploma तहको ट्रान्सक्रिप्टमा जन्म मिति २०१५।०४।१५ उल्लेख भएको, स्वंयले भरेको नोकरी तथा वैयक्तिक विवरण(सिटरोल) मा समेत ट्रान्सक्रिप्टको नै जन्म मिति २०१५।०४।१५ उल्लेख गरी विवरण भरी निजामती सेवामा मिति २०४३।०४।०१ गते रा.प. तृतीय श्रेणीको पदमा नियुक्ति लिएको, सोही जन्म मितिको आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी, मिति २०७३।०४।१५ गते अनिवार्य अवकाश प्राप्त गरेको देखिएकोवाट निज प्रतिवादीले मिति २०१५।०४।१५ लाई नै जन्म मिति कायम/स्वीकार गरे/गराएको, निजामती सेवामा नै वहाल रहेको अवस्थामा निज प्रतिवादीले कूटनीतिक राहदानी, विशेष राहदानी प्राप्त गर्न निज स्वंयले भरेको PASSPORT APPLICATION FORM मा आफ्नो उमेरको झुट्टा विवरण दिई जन्म मिति २०१८।०७।२४ (०९ Nov.१९६१) कायम गरेको देखिएकोले निज प्रतिवादीले आफ्नो वास्तविक जन्ममिति भन्दा करिव ३ वर्ष उमेर घटाएर उक्त राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी, प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरेको। बीमा समितिको अध्यक्ष नियुक्ति गर्ने सम्वन्धमा अर्थ मन्त्रालयले साविकको बिमा समितिको अध्यक्षको पदमा निजलाई नियुक्तिको प्रस्ताव नेपाल सरकार, मन्त्रिपरिषदमा पेश गर्दा नै उल्लेख भएको अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ को दफा ५ को प्रतिवन्धात्मक वाक्यांशसमेत वमोजिम नियुक्ति दिने गरी भएको प्रस्ताव नै नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७७।१०।१९ गते स्वीकृत भई सोही मापदण्ड उल्लेख गरी अर्थ मन्त्रालयले निजलाई बिमा समितिको अध्यक्ष पदको नियुक्ति पत्र दिएको, उक्त मापदण्डको दफा ५ को प्रतिवन्धात्मक बाक्यांशमा “पदावधि समाप्त हुनु अगावै नियुक्त वा मनोनयन भएका पदाधिकारी तथा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा स्वतः अवकाश हुनेछ” भनि स्पष्ट कानूनी व्यवस्था रहेको देखिएकोमा सो कानूनी व्यवस्थालाई स्वीकार गरी निजले मिति २०७७।१०।२२ स्वःघोषणा तथा शपथ ग्रहण गरी पद स्वीकार गरेवाट निज सूर्य प्रसाद सिलवाल Ipso facto (स्थापित तथ्यका आधारमा) मिति २०८०।०४।१५ मा अवकाश भई नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदा नपाउनेमा जानी जानी सो ओहदामा बहाल रहेको, नेपाल बिमा प्राधिकरणको नपाए/नभएको अध्यक्षको ओहोदा, अधिकार, हैसियत पाएँ भनी हालसम्म पनि कार्य गरी नै रहेको देखिँदा निज प्रतिवादीको उक्त कार्यहरु प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ मा परिभाषित एवं निषेधित कसूर गरे भएको पुष्टि भएको, यसैगरी निजले मिति २०७७।१०।२० गते बिमा प्राधिकरणको अध्यक्षमा राष्ट्रसेवकको रुपमा नियुक्ति पाउन आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी हुँदा हुँदै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय समेतमा आफ्नो जन्म मिति २०१६।०७।२२ को जन्म मिति हो भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेश गरेको, उमेर ढाँटी/झुट्टा विवरणको वैयक्तिक विवरण पेश गरी, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा हालसम्म पनि बहाल रहिनै रहेको, निजले आफ्नो जन्म मिति २०१५।०४।१५ गते हो भन्ने कुराको प्रष्ट थाहा जानकारी आँफूलार्इ हुँदा हुँदै आफ्नो उमेर ढाँटी मिति २०१८।०७।२४ गतेको जन्म मिति कायम गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा करिव ३ वर्ष उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेश गरी राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न झुट्टा विवरण पेश गरी सोही झुट्टा विवरणका आधारमा प्राप्त गरी गराई राष्ट्रसेवकको रुपमा उक्त राहदानीहरु प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्त गरिनै रहेको माथि उल्लिखित सवूद प्रमाणबाट पुष्टी भइरहेको देखिदा निज प्रतिवादीको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित एवं निषेधित कसूर समेत गरे भएको देखियो। यसर्थ; नेपाल बिमा प्राधिकरणको अध्यक्षको रुपमा कार्यरत निज प्रतिवादी सूर्य प्रसाद सिलवालले झुट्टा विवरण दिई कुटनीतिक तथा विशेष राहदानीको सुविधा लाभ लिएको, नेपाल बिमा प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा हाल पनि बहाल रहेको, अध्यक्षको हैसियतले प्रयोग गर्न नपाउने अधिकार प्रयोग गरेको, झुट्टा विवरण/व्यहोराको आधारमा उल्लेखित हैसियतहरुमा लिन नपाउने लाभ, सुविधा लिएको पुष्टि भएकोवाट निज सूर्य प्रसाद सिलवालको उक्त कार्यहरु भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्य भएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन, नेपाल बिमा प्राधिकरणको अध्यक्ष सूर्य प्रसाद सिलवालले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद-२ (भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लिखित मागदावी बमोजिमको कसूर गरेको हुँदा निज प्रतिवादी सूर्य प्रसाद सिलवाललार्इ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन र निज प्रतिवादी सूर्य प्रसाद सिलवालले मिति २०८०।०४।१५ गते देखि हाल सम्म लिएको लाभ सुविधा रकम रु.३६,६२,१५४।१६(छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. र कसूरजन्य सम्पत्ति तथा साधन(रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम जफत/असुल उपर हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ। 

प्रवक्ता
नरहरि घिमिरे

Notification of charge sheet Notification of charge sheet
  

Other Press Release

जिल्ला इलाम, चुलाचुली गाउँपालिकामा कार्यरत लेखा अधिकृत (आठौ) मिलन कुमार भट्टराई र इन्जिनियर (छैठौ) डिल्ली राज खड्का उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/11
नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष कौशल कुमार धोवीसमेत ४ जना उपर गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/10
नापी कार्यालय चावहिल २ र ३ नं. नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोप जङ खत्री उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/07
आठबीसकोट नगरपालिका रूकुम पश्चिमका नगर प्रमुख रवी के.सी., पशु अस्पताल तथा पशु सेवा कार्यालय रूकुम पश्चिमका तत्कालीन निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी र ज्ञानु कुमार शर्मासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/06
जिल्ला सप्तरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दाससमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/05
गढवा गाउँपालिका, दाङका तत्कालीन अध्यक्ष सहजराम अहिरसमेत ५ जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रा.लि., बुटवल, रूपन्देही उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/04
सव-डिभिजन वन कार्यालय, बन्दीपुर, सिरहाका कार्यालय प्रमुख (अधिकृत आठौ प्राविधिक) राम केवल राय उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03
जिल्ला सुर्खेत, मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्षहरू खीम बहादुर सावद, पदम सिं सावद, हर्क बहादुर बुढासमेत ११ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/08/03