प्रतिवादी अजय रजक रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०९।०७ गते।
---------------------------------------------
अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्रतिवादी अजय कुमार साफी भन्ने अजय रजकलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.७०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिएकोमा, विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०8१।०३।२८ को फैसलाबाट सफाई दिएको-:
क) प्रतिवादीले अदालतमा उपस्थित भई बयान गर्दा ईन्कारी बयान गरेको र उक्त ईन्कारी बयानलाई निजका साक्षीबाट समर्थित गराएको।
ख) प्रतिवादीले रिसवत रकम स्वेच्छाले लिएको वा लिन मञ्जुर गरेको तथ्य वस्तुनिष्ठ प्रमाणद्वारा पुष्टि भएको नदेखिँदा बादी दावी पुग्न सक्ने देखिएन ।
ग) प्रतिबादीको सङ्ग साथबाट नगद तथा चेक बरामद नभई खाली ठाउँमा फोहोर फालेको स्थानमा फालिएको अवस्थामा बरामद भएको देखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०९।०७ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) आ.ब.२०७९।०८० मा जिल्ला सिरहा, नवराजपुर गाउँपालिका वडा नं.१, गेरूवाहा स्थित श्री जनता आधारभुत विद्यालयको अधुरो ४ कोठे पक्की भवन निर्माण कार्य भई सम्पुर्ण काम सम्पन्न गरी उक्त योजनाको प्राविधिक मूल्यांकन बमोजिम समितिको बैँक खातामा रकम भुक्तानी भएकोमा सब-इन्जिनियर अजय कुमार साफीले रिलीज पेपर दिए बापत रू ५५,०००।– को चेक र नगद रू.१५,०००।– लिएकोमा निजलाई नियन्त्रणमा लिन खोज्दा उक्त चेक र रकम फाली फरार भएको हुँदा उक्त घुस बापतको चेक र रकम फालिएको अवस्थामा रितपूर्बक बरामद गरी पेश गरेको प्रतिबेदनबाट पुष्टि भएको। उल्लेखित प्रमाणबाट प्रतिबादीले घुस रिसवत लिएको पुष्टि हुँदा हुँदै सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको।
ख) बरामदी मुचुल्कामा समेत सामाजिक बिकास ईकाई कार्यालय, राजबिराज, सप्तरीका सव ईन्जिनियर अजय कुमार साफीले खाता फुकुवा पत्र दिएबापत निर्माण उपभोक्ता समितिको नामको रू ५५,००००।– को चेक र रू १५,०००।–फालिएको अवस्थामा बरामद भएको ठिक साचो हो भन्ने समेत ब्यहोराको राजबिराज नगरपालिकाका वडा नं. ४ को वडा सदस्यको रोहवरमा लिईएको खानतलासी बरामद मुचुल्का हेर्दा निवेदकले निवेदनमा उल्लेखित नोटको नम्बर र बरामद भएको नम्बर मिलेको भिडेकोबाट समेत प्रतिबादीको अदालतमा उपस्थित भई ईन्कार गरी गरेको बयान खण्डित हुने देखिएको।
ग) उजुरीकर्ताले आयोगको कार्यालय, इटहरीमा पेश गरेको सि.डि.\डि.भि.डि. रेकर्डको स्क्रिप्ट राईटिङ हेर्दा प्रतिबादी र निवेदक बिच घुस रकमको बार्गेनिङ गरेको स्पष्ट देखिएको। उक्त वार्तालापमा “हम आवै छे (म आउदै छु) १५ हजार छे, ५५ हजारको चेक छे (पन्ध्र हजारको नगद छ र ५५ हजारको चेक छ) जवाफमा सब इन्जिनियर अजय रजकले ह हेते (ल हुन्छ) समेत व्यहोराको संवाद गरेको। उक्त संवादलाई प्रतिबादीले अदालतमा बयान गर्दा समेत अन्यथा भन्न नसकेको। कुराकानी संलग्न भिडियो अनुसार निवेदकले “चेक लेवकी सुनु कहै छिए (चेक लिनुहुन्छ की सुन्नु) जवाफमा अजय रजकले अफिसमे आवु(अफिसमा आउनु), निवेदकले अफिसमे याव लिय अफिसमे आबैछिए (अफिसमा आउनु ल हुन्छ म अफिसमा आउदैछु भन्ने समेत व्यहोराको संवाद गरिएको सुनिएको स्क्रिप्ट राईटिङ कागजबाट देखिएको। आयोगको कार्यालय, इटहरीले खिचेको भिडियोहरूमा कुनै छेडखानी/सम्पादन गरिएको वा नगरिएको भन्ने बिषयमा परीक्षण गर्न आयोगको डिजिटल फरेन्सिक शाखामा पठाएकोमा “ Questioned Evidence (A,B and CExamination Report :Extraction File Data integrity intact” भन्ने समेत व्यहोरा उल्लेख भई आएको देखिदा प्रतिबादीले घुस रकम माग गरेको देखिएको।
घ) प्रतिबादी अजयकुमार साफी भन्ने अजय रजक मौकामा फरार रही अदालतमा उपस्थित भई बयान गर्दा निवेदकसंग घुस रिसवत माग गरेकोमा ईन्कार गरी बयान गरेपनि श्री जनता आधारभुत बिद्यालयको अधुरो भवन निर्माणको फिल्ड निरीक्षण गरी नापजाँच गरी भए/गरेको कामको बिल उठाउने जिम्मेवारी रहेको कुरामा स्वीकार गरी बयान गरेको। उजुरीकर्ताले बिना आधार र कारण उक्त रकम माग गरेको भनी आयोगमा निबेदन दिएको भनी भन्न सकिने अवस्था समेत नदेखिएको। उजुरकर्ताले मौकाका दिएको प्रतिवेदन र मुचुल्काको व्यहोरालाई सम्मानित अदालतमा उपस्थित भई उक्त प्रतिबेदन र मुचुल्का सनाखत गरेको अवस्थामा उक्त बकपत्रलाई प्रमाणमा लिई फैसला गर्नुपर्नेमा सफाई दिने गरी भएको फैसला प्रमाण ऐन २०३१ को दफा १८ को प्रतिकुल रही बदरभागी रहेको।
ङ) सम्मानित अदालतबाट विशेष अदालत ऐन २०५९ को दफा ७(क) बमोजिम बुझिएका साक्षीले मिति २०८०।०४।०७ गतेको घटनास्थल मुचुल्का, २०८०।०६।०१ को घटनाविवरण कागज र मिति २०८०।०४।०४ गतेको बरामदी मुचुल्का समेतको व्यहोरा सनाखत गर्दै स्वास्थ्य कार्यालयको परिसर भित्र चेक र पैसा बरामद भएको हो। अजयले नै फाली फरार भएको व्यहोराको बकपत्र गरेको। मौकामा दिएको उजुरी र गरिदिएको कागजलाई अदालतमा उपस्थित भई मौकाको भनाई पुष्टि हुने गरी गरिदिएको बकपत्रलाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम प्रमाणमा ग्रहण गरी प्रतिबादीलाई आरोपदावी बमोजिम सजाय गर्नु पर्नेमा केवल प्रतिबादीले अदालतमा गरेको ईन्कारी बयानलाई मात्र आधार लिई प्रतिबादीलाई सफाई दिने गरी भएको उक्त फैसला त्रुटिपूर्ण रहेको।
प्रवक्ता
नरहरि घिमिरे
Notice of appeal
Notice of appeal
APPEAL CHARGE
APPEAL CHARGE
Tweet