प्रतिवादी अमरप्रसाद भट्टसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०८।०७ गते।
---------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौँमा दर्ता भएको झुटा सरूवा पत्रको आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादी अमरप्रसाद भट्टसमेत भएको मुद्दामा :

प्रतिबादीहरु अमरप्रसाद भट्ट, मनकाकुमारी अवस्थी, नरबहादुर कुँवर, जयराज जोशीको हकमाः भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही दफामा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम बिगो रु. ७४,९२०। कायम गरी कैद र बिगो बमोजिमको जरिबाना हुन तथा सोही ऐनको दफा १७ बमोजिम हानी नोक्सानी भएको बिगो रु.७४,९२०। निज प्रतिवादीबाट असुल उपर हुन,

प्रतिबादी हरिनाथको हकमा: भष्ट्राचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही दफाले उल्लेख भए बमोजिम सोहि ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१)को खण्ड (ग) बमोजिम बिगो रू ७४,९२०।- कायम गरी सजाय हुन,

प्रतिबादी मञ्जुकुमारी सिंहको हकमा संजय ठाकुरको मृत्यु भएको हुँदा मुलुकी फौजदारी कार्यबिधी संहिता, २०७४ को दफा १३३(२) र दफा १५८(२) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (क) र भष्ट्राचार निवारण ऐन, २०५९ को दफा ४६ बमोजिम बिगो भराउन,

मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०8०।११।१७ को फैसलाबाट सफाई दिएको-: 

  • प्रतिबादी मनकाकुमारी अवस्थिले काम काज गरी पारिश्रमिक बापत बुझेको तलब भत्तालाई सार्वजनिक सम्पत्तिको हानि नोक्सानी भएको भन्न नमिल्ने,

  • प्रतिबादी अमरप्रसाद भट्टले बदनियत राख्नु पर्ने कारण अभियोजन पक्षले उल्लेख नगरेको,

  • प्रतिबादी नरबादुर कुँवरले तालुक कार्यालयबाट प्राप्त निर्देशन पालनसम्म गरेको कार्य अन्य प्रमाणको अभावमा भष्ट्राचार जन्य कसुर नभएको,

  • प्रतिबादी जयराज जोशीले सरूवा भई आएका शिक्षक मनकुमारीलाई शिक्षण सेवा गरे बापतको पारिश्रमिक भुक्तानी गर्ने कार्य भष्ट्राचारको कसूर मान्न नमिल्ने,

  • शिक्षक मनकाकुमारी अवस्थीलाई हरिनाथले सरूवा तथा पदस्थापना भएको बिद्यालयमा संगै लिई जानु नै भष्ट्राचारजन्य कसुर मान्न नमिल्ने।

विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।०७ मा पुनरावेदन गरिएको छः-

देहाय:

  • प्रतिबादी मध्येका मनकाकुमारी अवस्थीले मिति २०७२ पौष ९ गते देखि २०७३।०१।०८ गतेसम्म ४ महिनाको मासिक तलब भत्ता. रु. १७,७३०।- र महंगी भत्ता रु. १,०००।- का दरले हुन आउने रु. ७४,९२०।- श्री बलैराज निम्नमाध्यमिक विद्यालयबाट बुझीलिइ भर्पाई लिएको/गरिदिएको भन्ने बलैराज आधारभुत बिद्यालय सुनखोलाको पत्र र प्रतिबादीले तलव बुझेको कुरा प्रतिबादी मनकाकुमारी अवस्थीले अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दा समेत स्वीकार गरेको।

  • प्रतिबादी मध्येका मनाकादेवी अवस्थी हुनैनाथ प्राथमिक बिद्यालयमा शिक्षक पदको लागी कुनै नियुक्त नलिएको कुरा हुनैनाथ प्रा.बि. सल्सेनाको पत्रबाट देखिन्छ । प्रतिवादीले मौकामा अनुसन्धान अधिकारी समक्ष बयान गर्दा समेत हुनैनाथ प्रा.बि. सल्सेनामा प्रकृयागत रूपमा नियुक्त लिएको भन्न नसकेको र नियुक्त पत्र आउदैछ दिन्छौ भनेर बि.नि. सर हरिनाथले सोझै बलैराज नि.मा.बि.मा लिएर जानु भएको हो भन्ने समेत व्यहोराको बयान गरेको । जिल्ला शिक्षा कार्यालय, बैतडीको पत्रबाट समेत हरिनाथबाट पेश गरेको सक्कलै प्रतिबेदनमा बिद्यालयमा सोधपुछ र खोज गर्दा कुनै पनि कागजात नभएको भन्ने समेत व्यहोराको प्रतिबेदन दिएको भन्ने समेत व्यहोराको प्रत्र पठाएको । प्रतिबादी हरिनाथलाई जिल्ला शिक्षा कार्यालय बैतडीले उक्त बिषयमा बुझ्न खटाई पठाएकोमा निजले दिएको प्रतिबेदन अनुसार उक्त बिद्यालयमा काम काज गरेको कुनै पनि प्रमाण नभेटिएको र निजको रजिष्ट्ररमा हाजिर समेत नभएको साथै निजको बिद्यालयमा ब्यक्तिगत फायल समेत नभएको प्रतिबेदन दिएको भन्ने समेत व्यहोराको जिल्ला शिक्षा कार्यालय ,बैतडीको पत्रबाट समेत उल्लेख भई आएको । यस्तै जिल्ला शिक्षा कार्यलाय बैतडीको दर्ता चलानी कितावमा समेत हुनैनाथ प्रा.बि.ले मनकाकुमारी अवस्थीको नियुक्ति अभिलेखीकरण गर्न गराउने सम्बन्धी पत्र दर्ता नभएको भन्ने उक्त दर्ता कितावबाट देखिएको। यसरी उल्लेखित प्रमाण कागजबाट मनकाकुमारी अवस्थीले हुनैनाथ प्रा.बि.मा कुनै शिक्षक पदमा नियुक्त नलिएको, उक्त बिद्यालयमा काम समेत नगरेको र उक्त बिद्यालयबाट सरूवा भएको सरूवा पत्र समेत नलिएको भन्ने पुष्टि हुँदा हुँदै सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको ।

  • मनकाकुमारी अवस्थीले नेपाली नागरिकताको प्रमाणपत्रमा मनकाकुमारी अवस्थी उल्लेख भएको हाल कञ्चनपुर जिल्ला अन्तर्गत श्रीराम आधारभूत विद्यालयमा कार्यरत मेनकाकुमारी अवस्थीले हुनैनाथ प्राथमिक विद्यालय सल्सेनाबाट शिक्षक पदको कुनै नियुक्ति पत्र नलिएको, जिल्ला शिक्षा कार्यालयबाट अवैध रुपमा दिइएको शिक्षक नियुक्तिको अभिलेख जनाइएको पत्र र उक्त विद्यालयबाट बलैराज नि.मा.वि., सुनखोलामा सरुवा भएको झुठो पत्र लिएर बलैराज नि.मा.वि., सुनखोलामा गई हाजिर भइ नियुक्ति नै नभएको अवस्थामा पनि उक्त झुठा सरुवापत्रको आधारमा झुठो रुपमा शिक्षक कायम भई सेवा सुबिधा लिएकोमा निज प्रतिबादी मनकाकुमारी अवस्थीले समेत मौकामा बयान गर्दा त्यतिबेला म बेरोजगार थिँए, नियुक्ति पत्र छैन, मैले हुनैनाथ विद्यालयमा कुनै काम गरेको छैन भन्ने समेत व्यहोराको बयान गरेको । पिपलकोट स्रोतकेन्द्रका स्रोतव्यक्ति हरिनाथले मनकाकुमारीको शुरु नियुक्ति भएको थिएन, तत्कालीन जि.शि.अ.अमरप्रसाद भट्टको मौखिक निर्देश, आदेश अनुसार मनकाकुमारीलाई बलैराज नि.मा.वि.मा हाजिर गराएको हो भन्ने समेत व्यहोराको बयान गरेको । यसरी प्रतिबादीले कसूर गरेको स्वीकार गरी बयान गरेको अवस्थामा आरोपमाग दावी बमोजिम सजाय गर्नु पर्नेमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको ।

  • प्रतिबादीहरू मध्येका अमरप्रसाद भट्टले नियुक्ति पत्र नै नभएको गैर शिक्षक व्यक्ति मनकाकुमारी अवस्थीलाई हुनैनाथ प्रा.बि. सल्सेनाको व्यवस्थापन समितिबाट नियुक्ति भएको भनी विना कुनै कागजात नियुक्तिको अभिलेखीकरण गर्न प्राविधिक सहायकलाई टिप्पणी उठाउन लगाई आफूले स्वीकृत गरी लगत्तै उक्त विद्यालयबाट बलैराज निम्न माध्यमिक विद्यालय सुनखोलामा सरुवा गरी उक्त सरुवालाई शिक्षा समितिको बैठकबाट सरुवा समर्थनको निर्णय गराई तलब लगायतका सुविधाहरु निकासा दिईएको । यी प्रतिबादीले मौकामा अनुसन्धान अधिकारी समक्ष बयान गर्दा “नियुक्ति नै नभइ अभिलेख जनाइएको हो भने त्रुटीपूर्ण हो, यो त्रुटी मैले जानेर बुझेर गरेको होइन” भन्ने समेत स्वीकारोक्तिपूर्ण बयान गरेको । अदालतमा बयान गर्दा समेत हुनैनाथ प्रा.बि. सल्सेनाका प्र.अ.ले शिक्षक मनका कुमारी अबस्थी नियुक्तको लागी अभिलेखिकरणको फाईल र पहिलो चौमासिकको तलब माग फारम जि.शि.का बैतडीमा पेश भएको हो भन्ने समेत व्यहोराको बयान गरेपनि मनकाकुमारी अवस्थीले बलैराज निम्न माध्यमिक बिद्यालयबाट तलब भत्ता लिएको देखिदा निजको भनाई नै खण्डित भएको ।

  • जिल्ला शिक्षा कार्यालयका तत्कालीन स्रोतव्यक्ति हरिनाथले हुनैनाथ प्राथमिक विद्यालय सल्सेनामा शिक्षक पद रिक्त नरहेको, सो विद्यालयले मनकाकुमारी अवस्थीलाई शिक्षक पदमा नियुक्ति नगरेको, निज मनकाकुमारी अवस्थीसँग नियुक्ति पत्र नभएको जानकारी भएर पनि उक्त विद्यालयबाट बलैराज नि.मा.वि., सुनखोलामा सरुवा भएको झुठो पत्र लिएर निज मनकाकुमारीलाई साथै लगी बलैराज नि.मा.वि., सुनखोलामा गइ हाजिर गराउने कार्य गरी जिल्ला शिक्षा अधिकारीको अनियमित कार्यमा मतियार भई निजले सहयोग गरेको । प्रतिबादी हरीनाथले मौकामा बयान गर्दा मनका कुमारी अवस्थीको मेरो कार्याकालमा मेरो क्षेत्रमा शुरू नियुक्त भएको छैन तत्कालिन जिल्ला शिक्षा अधिकारीको मौखिक निर्देशनमा मेरो कार्यक्षेत्रको बिद्यालयमा पुराईदिएको हुँ भन्ने समेत व्यहोराको बयान मिलान हुने गरी बयान गरेको । अदालतमा बयान गर्दा समेत जिल्ला शिक्षा कार्यालय बैतडीको पत्र अनुसार कामकाज गर्न लगाएको र जिल्ला शिक्षा कार्यालयबाट तलब निकास दिएपछि कामकाजको आधारमा भुक्तानी दिएको हो भन्ने समेत व्यहोराको बयान गरेतापनि निजले झुटा रमाना पत्रको आधारमा हाजिर गराएको र नियुक्त नभएको शिक्षकलाई समेत तलब भत्ता खुवाएको भन्ने स्वीकार गरेको । यस्तै बलैराज नि.मा. वि. बैतडीका व्यवस्थापन समितिका अध्यक्ष जयराज जोशीले मनकाकुमारी अवस्थीलाई अन्य विद्यालयबाट आफ्नो विद्यालयमा सरुवा भई आउन कुनै पनि निर्णय नगरेको र सहमति पत्र नदिएको साथै हुनैनाथ प्रा.वि., सल्सेनाको रमाना पत्र नभएको जानकारी हुँदा हुँदै पनि विना रमाना पत्र आफ्नो विद्यालयमा हाजिर गराई शिक्षक पदमा कायम गरी कानुन विपरित प्रधानाध्यापक र निजको संयुक्त दस्तखतबाट रु.७४,९२०।पारिश्रमिक भुक्तानी दिई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार कार्यमा संलग्न भएको देखिदा देखिदै सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रही बदरभागी रहेको ।

  • हुनैनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक मानसिंह कार्कीले आफ्नो विद्यालयमा मनकाकुमारीको नियुक्ति नभएकोले कामकाज नगरेको, हाजिरी रेकर्ड लगायतका कुनै पनि प्रकारको अभिलेख तथा निजको व्यक्तिगत विवरण विद्यालयमा नभएको, रमाना पत्र नदिइएको” भन्ने समेत कागज गरेको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा समिति बैतडीका तत्कालीन अध्यक्ष खेमराज विष्ट र प्रमुख जिल्ला अधिकारी तथा जिल्ला शिक्षा समितिका तत्कालीन सदस्य लिलाधर अधिकारीले समितिको बैठकमा सदस्य सचिवले जिल्ला शिक्षा अधिकारीलाई झुक्याएर सरुवा समर्थन सम्बन्धी निर्णय गराउन पेश गरेको भन्ने समेत ब्यहोराको कागज गरेका र अदालतमा उपस्थित भई बकपत्र गर्दा समेत प्रतिबादी अमरभट्टले गलत गरेको हो सजाय हुनु पर्छ भन्ने समेत व्यहोराको बकपत्र गरेको । यसरी प्रतिबादीहरूले मौकामा आरोपित कसूर गरेकोमा स्वीकार गरेको बयानलाई मौकामा कागज गरिदिने व्यक्तिहरूले गरेको कागजबाट समर्थन भएको र मौकाका कागज गर्ने ब्यक्ति अदालतमा उपस्थित भई मौकाको ब्यहोरा समर्थन हुने गरी गरेको बकपत्रलाई प्रमाण ऐन २०३१ को दफा १८ बमोजिम प्रमाणमा ग्रहण गरी फैसला गर्नु पर्नेमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण भई बदरभागी रहेको छ ।

प्रवक्ता
नरहरि घिमिरे

Download Download
  

Other Press Release

प्रतिवादी राजेन्द्र बस्नेतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/23
प्रतिवादी इच्छा कुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/22
प्रतिवादी अजय रजक रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/22
प्रतिवादी गजेन्द्र सिंह भण्डारी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/13
प्रतिवादी हरिचन्द्र भुसालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/13