प्रतिवादी विनोद कुमार यादव रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०८।०७ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौँमा दर्ता भएको गलत प्रतिवेदन दिई भ्रष्टाचार गरेको भन्ने प्रतिवादी विनोद कुमार यादव भएको मुद्दामा :
प्रतिवादी विनोद कुमार यादवले विभिन्न मानिसहरुको विभिन्न मितिमा पी.सी.आर. परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई वा नभए नगरेको कुरा देखाई पि.सि.आर. प्रतिवेदन सम्बन्धित मानिसहरुलाई दिएको पुष्टि भई निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको देखिँदा निज प्रतिवादी बिनोद कुमार यादबलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन, मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०8०।११।०६ को फैसलाबाट सफाई दिएको-:
-
प्रतिवादी उपर दाबी लिइएको कसुर हुनको लागि कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिएको अवस्था हुनुपर्नेमा प्रतिवादीले कुनै घटना वा कार्यको सम्वन्धमा अध्ययन वा जाँचबुझ गरेको देखिन नआएको,
-
प्रतिवादी विनोद कुमार यादवले जुन कानुनले निषेध गरेको कार्य गरेको भन्ने आरोप दाबी छ, सो कानुनले निषेध गरेको कार्य निजले गरेको भन्ने देखिन नआएको ।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।०६ मा पुनरावेदन गरिएको छः-
देहाय:
-
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) मा सरकारी निकाय वा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्ने कर्तव्य भएको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले त्यस्तो अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिँदा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई वा नभए नगरेका कुरा देखाई प्रतिवेदन दिएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार सजाय र जरिवाना हुने व्यवस्था भएको । प्रस्तुत मुद्दामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका विरामीहरुको साथै धौलागिरी हिमाल पोलिक्लिनिक प्रा.लि.बाट विभिन्न व्यक्तिहरुको पि.सि.आर. परीक्षणको लागि प्रतिवादीले स्वाब लिई परीक्षण नै नगरी आफूखुशी गलत प्रतिवेदन दिएको भन्ने अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरुको भनाइ र बकपत्रबाट देखिएको र निज प्रतिवादीले आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाब संकलन गरी रिपोर्ट पोजेटिभ आएमा नेगेटिभ बनाइदिने भनी रकम लिई आफ्नै खल्तीमा राखेको भिडियो समेतबाट पुष्टि भईरहेको अवस्थामा वदनियतपूर्क गलत प्रतिवेदन दिएको भन्ने मिसिल संलग्न कागज प्रमाणलाई अन्देखा गरी ऐनको गलत व्याख्या गरी निज प्रतिवादीलाई अभियोग मागदावीबाट नै सफाई दिने गरी भएको फैसला त्रुर्टिपूर्ण भई बदरभागी रहेको ।
-
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले वितरण गरेको रिपोर्ट होईन भनी खुलाईदिएका रिपोर्टमा शहीद गंगालाल हृदय केन्द्रको लेटर प्याड प्रयोग भएको भन्ने देखिरहेको र सो रिपोर्टमा रहेको सही आफ्नो हो भनी प्रतिवादीले सनाखत गरिदिएको लगायतका आधार प्रमाणहरुबाट विभिन्न मानिसहरुको विभिन्न मितिमा पी.सी.आर. परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारी पी.सी.आर. प्रतिवेदन सम्बन्धित मानिसहरुलाई दिएको स-प्रमाण पुष्टि भएको भन्ने प्रष्ट रुपमा देखिरहेको, साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) अनुसार सरकारी निकाय वा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिनुपर्ने कर्तव्य भएको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिले त्यस्तो अध्ययन वा जाँचबुझ गरी प्रतिवेदन दिँदा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई वा नभए नगरेका कुरा देखाई प्रतिवेदन दिएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार सजाय र जरिवाना हुने भन्ने व्यवस्था भएको अवस्थामा कसुरको गाम्भीर्यता झन् वढिरहेको भन्ने प्रष्ट देखिरहेकोमा प्रतिवादीले कानूनले निषेध गरेको कार्य गरेको भन्ने देखिन नआएको भनी सफाई दिने गरी भएको फैसला त्रुर्टिपूर्ण भई वदरभागी रहेको ।
-
विभिन्न मानिसहरुको विभिन्न मितिमा पी.सी.आर. परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारी सर्वसाधारणको स्वास्थ्य उपर लापरबाही गरी बदनियतसाथ विभिन्न मानिसहरुको विभिन्न मितिमा पी.सी.आर. परीक्षण नै नगरी आफुखुशी गलत प्रतिवेदन तयार पारी बदनियतपूर्वक भए गरेको कुरा लुकाईछिपाई वा नभए नगरेको कुरा देखाई पी.सी.आर. प्रतिवेदन सम्बन्धित मानिसहरुलाई दिएको अवस्थामा आपराधिक कार्य (Actus Reus) भए गरेको अवस्थामा प्रतिवादी विनोद कुमार यादव उपरको वादी दाबीको तथ्यमा आपराधिक कार्य र आपराधिक मनसमेतका दुवै तत्त्व स्वतन्त्र रुपमा समावेश भएको देखिंदा सो कुरा अन्देखा गरी प्रतिवादीलाई आरोपदावीवाट नै सफाई दिने गरी भएको फैसला त्रुर्टिपूर्ण भई वदरभागी रहेको ।
प्रवक्ता
नरहरि घिमिरे
Tweet