प्रतिवादी भुपराज अधिकारी समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको
प्रेस विज्ञप्ति :- मिति २०८१।०८।०६ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालत, काठमाडौंमा दर्ता भएको गैर कानूनी लाभ वा हानि पुर्याउने बदनियतले काम गरी भ्रष्टाचार गरेको भन्ने प्रतिवादीहरू भुपराज अधिकारी समेत भएको मुद्दामा आ.व २०७५।०७६ मा प्राप्त विशेष अनुदान रकमबाट अदुवा खेति कार्यक्रम संचालन गर्न अदुवा बीउ गानोको दररेट निर्धारण समितिको रु.१५५/- प्रति किलोग्राममा अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा मनासिव कारण विना नै अस्वभाविक रुपमा रु.१०/- थप गरी प्रति किलोग्राम रु.१६५/-दररेट कायम गरी १,३०,००० किलोग्राम अदुवाको बीउको खरिद कार्य गरी नगरपालिकालाई रु.13,00,000/- थप व्ययभार पारी आपुर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि. तिनकुने, काठमाण्डौलाई गैर कानूनी लाभ र गल्याङ नगरपालिकालाई गैर कानूनी हानी पुर्याउने कार्य गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुरमा प्रतिवादी भुपराज अधिकारीलाई रु.13,00,000/- (अक्षरेपी तेह्र लाख) बिगो कायम गरी ऐ.ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो वमोजिम जरीवाना गरी विगो असूल उपर हुन,
प्रतिवादीहरू जिल्ला स्याङ्जा,गल्याङ नगरपालिकाका तत्कालीन नगर प्रमुख भुपराज अधिकारी, ऐ.का तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बालिविकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइराला समेतले प्राविधिक स्पेसिफिकेशन वमोजिम दुरुस्त नभएको, गुणस्तर परीक्षण नै नगरी गुणस्तरहिन अदुवाको बीउ गानो खरिद गरी पटक पटक गरी जम्मा रु.२,१४,५०,०००/- भुक्तानी दिएको, उक्त भुक्तानी दिएको रकम रु.२,१४,५०,०००/- मा अग्रीम आय कर कट्टी भएको रकम रु.३,७९,५०१/- घटाई हुन आउने रकम रु.२,१०,७०,४९९/ मा नगरप्रमुखलाई मात्र कायम गरिएको विगो रु.१३,००,०००/ घटाउँदा हुन आउने रकम रु.१,९७,७०,४९९/- (अक्षरेपी एक करोड सन्तानव्वे लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ मात्र) आपुर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि., तिनकुने, काठमाण्डौलाई गैर कानूनी लाभ र गल्याङ नगरपालिकालाई गैर कानूनी हानी पुर्याउने वदनियतसाथ भुक्तानि गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिमको कसुरमा रु.१,९७,७०,४९९/- (अक्षरेपी एक करोड सन्तानव्वे लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ मात्र) बिगो कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो वमोजिम जरीवाना हुन साथै ऐ.ऐनको दफा ८ को उपदफा (१) बमोजिम निज प्रतिवादीहरु भुपराज अधिकारी, ईश्वरी प्रसाद पाण्डे, अरविन्द मणि त्रिपाठी, राजेन्द्र रेग्मी र सन्तोष कोइरालाबाट विगो रु.१,९७,७०,४९९/- (अक्षरेपी एक करोड सन्तानव्वे लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ मात्र) असूल उपर हुन,
मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०80।११।२२ को फैसलाबाट सफाई दिएको-:
-
वादीले अदुवाको गुणस्तर (Seed standard) उल्लेख गर्न सकेको नदेखिएको,
-
वादीले अदुवाको निरीक्षण वा परीक्षण गरेको पनि नदेखिएको,
-
कपुरकोट-१ अदुवा नेपाल सरकारको सूचीकृत जातको अदुवा रहेको देखिएको तथा अदुवाको बीउको खरिद मूल्य स्वीकृत मूल्य भन्दा बढी रहेको दावी पनि गर्न नसकेको,
-
फलफूल तथा तरकारी बजार समितिबाट अदुवाको खायन मूल्यको तथ्याङ्कलाई सो मा बीउ अर्थात गायन मूल्यकोलागि रू.१०।-थप गरेको लाई अन्यथा भन्न सकिने नदेखिएको अबस्था हुँदा आरोपदावी पुष्टि हुन नसकेको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।०६ मा पुनरावेदन गरिएको छः-
देहाय:
-
प्रस्तुत मुद्दामा जिल्ला स्याङ्जा, गल्याङ नगरपालिकाको अदुवा वीउ गानो (Rhizome) खरिद सम्बन्धी सिलबन्दी बोलपत्र सम्वन्धी कागजातमा संलग्न गरिएको स्पेशिफिकेशनमा तथा अन्य व्यहोरा प्रष्ट रुपमा पढी सहिछाप गरि पेश गर्नुपर्ने भनि उल्लेख भएकोमा अदुवा बीउ गानो आपुर्ति गर्दा आपुर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि.ले उल्लेखित प्रमाण कागजातहरु पेश गरेको देखिदैन भने खरिदकर्ता गल्याङ नगरपलिकाले पनि उक्त स्पेशिफिकेशन अनुसारको अदुवा बीउ गानो आपुर्ति भएको हो होईन, रोग लागेको छ छैन< भन्ने स्पेशिफिकेशनमा उल्लेखित शर्तहरुको पालना नगरी अदुवा बीउ गानो परीक्षणनै नगरी आपूर्तिकर्तालाई वोलपत्रको शर्त विपरीत रकम भुक्तानी गरी प्रतिवादीहरुले गैरकानूनी लाभ वा हानि पुर्याउने बदनियतले भ्रष्टाचारजन्य कार्य गरेको प्रष्ट छ। अदुवाको बिउ खरिद भई कृषकहरुलाई वितरण भई सकेको अबस्थामा परीक्षण गर्ने भन्ने प्रश्नै आउँदैन। गुणस्तर परीक्षण गर्नुपर्ने दायित्व प्रतिवादिको नै हुनेमा बादी पक्षले अदुवाको गुणस्तर (Seed standard) उल्लेख गर्न सकेको नदेखिएको, वादीले अदुवाको निरीक्षण वा परीक्षण गरेको पनि नदेखिएको भनि मुद्दाको असान्दर्भिक तथ्यलाई आधार लिई प्रतिवादीहरुलाई सफाई दिने गरी विशेष अदालतबाट भएको फैसलामा गम्भिर त्रुटि रहेको।
-
विभिन्न मितिमा अदुवाको बीउ खरिद र स्टोर दाखिला गरि भुक्तानि दिएको, नगर प्रमुख भुपराज अधिकारीले कार्यक्षेत्र बाहिर गई भेरिएसन स्वीकृत गरी १०,००० किलोग्राम अदुवाको खदिरको निर्णय गरेको र गुणस्तर परीक्षण बिना नै खरिद सम्झौता विपरित भुक्तानी लिने/दिने यी प्रतिवादीहरुले बदनियतपूर्वक कार्य गरी गल्याङ नगरपालिकालाई हानि र आपुर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि. लाई गैरकानूनी लाभ पुर्याएको तथा सार्वजनिक कोषको समेत मितव्ययी प्रयोग नगरेको तथ्य मिसिल संलग्न प्रमाणहरुबाट देखिएकले सो विवेचना नगरी प्रतिवादीहरुलाई सफाई दिई भएको फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको।
-
अर्थ मन्त्रालयबाट प्राप्त रु. २,७४,८०,०००/- (अक्षरेपी दुई करोड चौहत्तर लाख असी हजार रुपैया मात्र) को विशेष अनुदान रकमबाट अदुवाको बीउ खरिद गर्ने निर्णय भएको देखिन्छ। कालिमाटी तरकारी तथा फलफुल विकास समितिको दरलाई आधार मानि प्रमुख प्रशासकीय अधिकृतबाट प्रति किलोग्राम रु. १५५/- राखी निर्णयको लागि नगर प्रमुख समक्ष सिफारिस गरेकोमा नगर प्रमुखले प्रति किलोग्राम रु.१०/- थप गरी प्रति किलोग्राम रु.१६५/- दररेट तोकी बोलपत्र आव्हान गर्ने निर्णय गरेको र मिति २०७५।१२।१८ मा Bidding Document को Delivery and Price schedule मा उल्लेखित परिमाण १,२०,००० किलोग्राम हुनु पर्ने भनि संशोधन गरिएकोमा उपयुक्त आधार कारण विना बोलपत्रमा संसोधन समेत गरेको देखिन्छ। बोलपत्र पेश गर्ने अवधि भित्र स्पुक ट्रेडर्स प्रा.लि.को एकमात्र बोलपत्र परेको, बोलपत्रको मुल्याङ्कन पश्चात प्रति के.जी. रु.१६५/- का दरले १,२०,००० के.जी. अदुवाको बीउ गानो खरिद गर्न नगर प्रमुखबाट मिति २०७५।१२।२६ मा बोलपत्र स्वीकृत भएकोमा प्रति किलोग्राम रु.१०।-थप गर्ने गरी वोलपत्र आव्हान गर्ने तथा Bidding Document को Delivery and Price schedule मा उल्लेखित परिमाण १,२०,००० किलोग्राम हुनु पर्ने भनि संशोधन गर्ने गरी गरेको कार्यमा बदनियत रहेको प्रष्ट छ। यसै गरी नगर प्रमुख भुपराज अधिकारीबाट भेरिएसन स्वीकृत भै मिति २०७६।०१।२६ मा स्पुक ट्रेडर्स प्रा.लि.ले १०,००० किलोग्राम अदुवाको बीउको भुक्तानिको लागि निवेदन दिएको, मिति २०७६।०३।१२ मा उक्त अदुवाको बीउ स्टोर दाखिला गरि स्पुक ट्रेडर्स प्रा.लि.लाई रु.१६,५०,०००/- रकम भुक्तानी भएको अबस्था समेतबाट यी प्रतिवादीहरुका वीच मिलेमतोमा सार्वजनिक खरिद ऐन नियमको विपरीत कार्य गरी गैरकानूनी लाभ वा हानि पुर्याउने कार्य गरेकोले भ्रष्टाचार जन्य कसूर भएको प्रष्ट भई रहेकोमा मिसिल संलग्न तथ्य प्रमाणहरुको न्यायोचित मूल्याङ्कन नगरी भएको फैसला त्रुटिपूर्ण रहेकोले बदरभागी रहेको।
-
नगर प्रमुखबाट विना आधार आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई प्रति किलोग्राम रू १५५/- सिफारिस भएकोमा प्रति किलोग्राम रु.१०/- थप गरी रू. १६५/- प्रति किलोग्राम दररेट तोकी बोलपत्र आव्हान गर्ने गरी भएको निर्णयबाट कुल १,३०,००० किलोग्राम अदुवाको वीउ खरिद गर्दा नेपाल सरकारको अनुदान प्राप्त भएको गल्याङ नगरपालिकाको रकममा रु. १३,००,०००/- थप व्ययभार पर्न गएको देखिदा निज प्रतिवादी नगर प्रमुख भुपराज अधिकारीले बदनियतपूर्वक दररेट निर्धारण समितिको सिफारीस बेवास्ता गरी आफु स्वयंले मात्र मनोमानी ढंगले मूल्य थप गरी नगरपालिकालाई हानि नोक्सानि र स्पुक ट्रेडर्स प्रा.लि.समेतलाई गैरकानूनी लाभ पुर्याउने कार्य गरेको प्रष्ट छ।
-
अदुवाको वीउ खरिद गर्ने क्रममा खायन अदुवा खरिद गर्न लागेको नभई गानो अदुवा नै खरिद गर्ने भनी खरिद प्रकृया अगाडि बढेको, गानो अदुवाको दररेट प्रतिकिलो रु.१५५।-कायम गरी दररेट समितिले दररेट कायम गरिरहेको अबस्थामा प्रतिवादीले खायन र गायन अदुवा भनी तथ्यको भ्रममा पारी अस्वभाविक दररेट कायम गरी रकम बढाई सम्झौता गरिएको कार्यलाई यी प्रतिवादीले वैधता दिन खोजेको प्रष्ट देखिन्छ। यसरी विभिन्न बहानामा सरकारी सम्पत्ति हानि नोक्सानी गर्ने बदनियतले अदुवाको वीउ खरिद गर्ने कार्य गरेको स्पष्ट हुँदाहुँदै मिसिल संलग्न तथ्यगत प्रमाणहरुलाई अनदेखा गरी नगर प्रमुख भुपराज अधिकारी समेतलाई आरोपित कसूरबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको ।
-
गल्याङ नगरपलिकाको अदुवा बीउ गानो (Rhizome) खरिद सम्वन्धी शिलबन्दी बोलपत्र आह्वानको मिति २०७५/११/२५ को सूचनामा स्वीकृत स्पेशिफिकेशन बमोजिमको अदुवा बीउ गानो खरिद गर्नुपर्ने र सो सूचनाको बुँदा नं. ८ मा बोलपत्र सम्वन्धी कागजातमा संलग्न गरिएको स्पेशिफिकेशन तथा अन्य व्यहोरा प्रष्ट रुपमा पढी सहिछाप गरि पेश गर्नुपर्ने भनि उल्लेख भएको र अदुवा बीउ गानो आपुर्ति गर्दा आपुर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि. ले उल्लिखित प्रमाण कागजातहरु पेश गरेको देखिदैन भने खरिदकर्ता गल्याङ नगरपलिकाले पनि उक्त स्पेशिफिकेशन अनुसारको अदुवा बीउ गानो आपुर्ति भएको हो होईन, रोग लागेको छ छैन भन्ने स्पेशिफिकेशनमा उल्लेखित शर्तहरु बमोजिमको परिक्षणनै नगरी निम्नानुसारको स्थिती र अवस्थामा आपूर्ति भएको अदुवा बीउ गानोलाई भुक्तानी दिएको देखिदा आपुर्तिकर्ता स्पुक ट्रेडर्स प्रा.लि. र खरिदकर्ता गल्याङ नगरपलिकाको अध्यक्ष एवं कर्मचारीहरुले बदनियतपूर्बक कार्य गरेको भन्ने निम्न विवरणहरुबाट समेत निर्विवाद रुपमा पुष्टि भईरहेको।
गुणस्तरहिन तथा स्पेशिफिकेशन अनुसार नभएको अदुवा बीउ गानो आपुर्ति गरी स्पुक ट्रेडर्स प्रा.लि. तथा सो प्रा.लि.का अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेले भुक्तानी लिई गल्याङ नगरपालिकालाई हानी पुर्याउने बदनियतले काम गरेको देखिन्छ भने गुणस्तरहिन तथा स्पेशिफिकेशन अनुसार नभएको अदुवा बीउ गानोको लागि भुक्तानी प्रकृयाको निर्णयमा संलग्न रहेका खरिदार सन्तोष कोइराला, लेखापाल राजेन्द्र रेग्मी, बालिविकास अधिकृत अरविन्द मणि त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे र नगर प्रमुख भुपराज अधिकारी समेतको मिलेमतो र संलग्नतामा गल्याङ नगरपालिकाबाट स्पुक ट्रेडर्स प्रा.लि. लाई भुक्तानि भएको रकम गैरकानूनी लाभ वा हानि पुर्याउने बदनियतले काम गरी भ्रष्टाचार गरेको स्पष्ट हुँदाहुदै मिसिल संलग्न तथ्य प्रमाणहरुको मूल्याङ्कन नगरी विशेष अदालतबाट भएको फैसला त्रुटिपूर्ण देखिंदा बदरभागी रहेको।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
प्रवक्ता
नरहरि घिमिरे
Tweet