जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादवसमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८०।०२।१७ गते ।
----------------------------------------------------
जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग रु. ५०,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट रु. ५०,०००।– (पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला रुपन्देही, शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र सोही गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष भिम बहादुर यादवले दानव नदीको बोहरवा घाटबाट उत्खनन गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप गरी दिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरी प्रतिवादी बिनोद भरलाई रु.५०,०००।- घुस/रिसवत लिन लगाई उक्त रकम लिएको पुष्टि हुन आएको हुँदा निजहरु अनन्तपाणि मरासिनी र भिम बहादुर यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा विगो रु.५०,०००।- (पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) वमोजिम जरिवाना सजायसमेत हुन र प्रतिवादी बिनोद भरले मुख्य कसुरदारहरु अनन्तपाणि मरासिनी र भिम बहादुर यादवले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिमको कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ वमोजिमको कसुर गरेकोले प्रतिवादी बिनोद भरलाई विगो रु.५०,०००।- (पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) वमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) वमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ वमोजिमको प्रतिवन्धात्मक वाक्यांशवमोजिम मुख्य कसुरदारहरु सरह नै सजाय हुन मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको।
प्रवक्ता
भोला दाहाल
Tweet