(लुम्बिनी प्रदेश) तत्कालीन प्रदेश नं. ५ बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकसमेत ४ जना एवं संस्था उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७९।०१।०६ गते ।
----------------------------------------------------
प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ बुटवल, रूपन्देही (हाल लुम्बिनी प्रदेश) को कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत आ.ब. २०७५/०७६ मा किसानहरुलाई कृषि यन्त्र आपूर्ति गर्न स्वीकृति प्राप्त आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार प्रा.लि. भरतपुरले किसानलाई इन्डियन कम्पनीको यन्त्र उपकरण उपलव्ध गराउने भनी फारम भराई सोही अनुसार रकम लिएको र मिनी टिलर तथा अन्य यन्त्र उपकरण सबै चाइनिज कम्पनीको वितरण गरी अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, साविक ५ नं. प्रदेशबाट सञ्चालन गरिएको कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाई/दोहोरो बिलको भुक्तानी लिने/दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पुर्‍याएको हुँदा उक्त कार्यमा संलग्न राष्ट्रसेवक कर्मचारी तथा आपूर्तिकर्ताको हकमा देहायबमोजिमको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।   

तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन नगरी/नगराई भुक्तानी दिने सम्बन्धी टिप्पणी सदर गरी/गराई ७ वटा मिनि टिलरको रु.६,२२,५००।- बराबरको झुट्ठा बिल भरपाई बनाई दोहोरो भुक्तानी गरी प्रदेश सरकारलाई गैरकानूनी हानी पुर्‍याई भष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर गरेको एवं निजहरुले सम्झौतापत्रमा उल्लेख भएबमोजिम वितरण गर्नुपर्ने यन्त्र उपकरण खरिद नगरी कम गुणस्तरको KK-IC-300D मोडेलको १७ वटा र KK-IC-200P मोडेलको १२ वटा मिनि टिलर खरिद गरी प्रदेश सरकारलाई रु. ३७,१५,०००।- हानी पुर्‍याई सोही ऐनको दफा ८ को उपदफा (१) को देहाय खण्ड (ञ) बमोजिमको कसुर गरेको देखिँदा निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१)  बमोजिम बिगो रु. ४३,३७,५००।- कायम गरी तीन महिना देखि 3 वर्षसम्म कैद र बिगोबमोजिमको जरिवाना गरी सोही ऐनको दफा ८  को उपदफा (१) बमोजिम गैरकानूनी हानी पुर्‍याएको बिगो रकम निजहरुबाट असुलउपर गर्न समेत मागदाबी लिइएको छ ।

साथै, आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीले गलत/झुट्ठा बिल भरपाई बनाई ७ वटा मिनिटिलरको रु.६,२२,५००।-बढी भुक्तानी लिएको र सम्झौतापत्रमा उल्लेख भए बमोजिम वितरण गर्नुपर्ने यन्त्र उपकरण नदिई कम गुणस्तरको KK-IC-300D मोडेल १७ वटा र KK-IC-200P मोडेलको १२ वटा मिनि टिलर दिई रु.३७,१५,०००।- भुक्तानी लिई प्रदेश सरकारलाई गैरकानुनी हानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको देखिँदा निजलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम बिगो रु.४३,३७,५००।-  कायम गरी दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना हुन र ऐ.ऐनको दफा ८ को उपदफा (४) बमोजिम गैरकानूनी रुपमा हानी पुर्‍याएको रकमसमेत सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम निज प्रतिवादी आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीबाट बिगो जफत गर्ने समेतको मागदाबी लिइएको छ । 

प्रवक्ता
   श्याम प्रसाद भण्डारी

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22