साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालक छविरमण अधिकारीसमेत १० जना उपर बिगो रु. ५,८७,३२,९१२।२६ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।२५ गते ।
----------------------------------------------------
  नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. र सो फाइनान्ससमेत मर्ज भै बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक लि. (हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. मा मर्ज भएको) मा नागरिक लगानी कोषको तर्फबाट संचालकमा नियुक्त भै गएका नागरिक लगानी कोषका नवौं तहका कर्मचारी छविरमण अधिकारी संचालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रकृयाविपरीत कर्जा प्रवाहमा संलग्न भएकोले निजउपर कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालकहरु छविरमण अधिकारी, बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित तबरले कर्जा प्रवाह गरी आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको रु. ५,८७,३२,९१२।२६ सम्पत्ति बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गरेको पुष्टि हुन आएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुरुपको कसुर भएको हुँदा निज प्रतिवादीहरुलाई निजहरुले हिनामिना गरेको सार्वजनिक संस्थाको सम्पत्तिको बिगो रु.५,८७,३२,९१२।२६ (पाँच करोड सतासी लाख बत्तीस हजार नौ सय बाह्र रुपैयाँ छब्बीस पैसा मात्र) कायम गरी उक्त बिगो ऐ.दफा १७ बमोजिम नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. लाई भराई सोही दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैदसमेत गरी पाउन मागदाबी लिइएको छ ।
साथै, Structural Design & Research Center Consultancy Pvt.Ltd. का संचालक/इन्जिनियर सुरेन्द्र चापागाईले धितोको मूल्यांकन गरी प्रतिवेदन दिंदा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा देखाई गलत गरी प्रतिवेदन दिएको पुष्टि हुन आएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय गरी पाउन तथा बादशाह फुडल्याण्ड प्रा.लि.का संचालक ऋषिस्वर थपलिया र साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइननान्स लि. का सहायक महाप्रबन्धक प्रदिप बहादुर कर्माचार्यले प्रतिवादीहरु छविरमण अधिकारी, बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मत सल्लाहमा लागि सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कुसर भएकोले प्रतिवादी प्रदिप बहादुर कर्माचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम ऐ. दफा १७ अनुसार दाबी लिइएका कसुरदारलाई हुने सजायको आधा सजाय तथा ऋषिस्वर थपलियाले सार्वजनिक संस्थाबाट ऋण रकम लिई लाभसमेत लिएको देखिंदा निजलाई ऐ. दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम ऐ. दफा १७ अनुसार कसुर गर्ने प्रतिवादीसरह नै सजाय गरी पाउन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नारायण प्रसाद रिसाल
 
 

Download
  

Other Press Release

जिल्ला रौतहट, राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसमेत ४ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/03
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झा उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
2026/07/02
जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदीसमेत २ जना र शिरिस कन्स्ट्रक्सन, मध्यपुरठिमी भक्तपुर उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/07/01
जिल्ला बझाङ, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासमेत ९ जना उपर गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/29
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका वडा नं. ५ स्थायी वतन भएका विकास कुमार चापागाई उपर घुस/रिसवत तथा सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिकूल बकपत्र गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/24
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसमेत १६ जना तथा Muehlbauer ID Services GmbH र Veridos GmbH कम्पनी उपर गैरकानुनी लाभ वा हानि पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2026/06/22