साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक छविरमण अधिकारीसमेत १२ जना उपर बिगो रु. ४,६३,६८,२५४।७४ कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको सम्बन्धी आरोप-पत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०७७।११।२५ गते ।
----------------------------------------------------
 
 नागरिक लगानी कोषको समेत लगानी रहेको तत्कालीन रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. र सो फाइनान्ससमेत मर्ज भै बनेको तत्कालीन एपेक्स डेभलपमेण्ट बैंक लि. (हाल उक्त बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. मा मर्ज भएको) मा नागरिक लगानी कोषको तर्फबाट संचालकमा नियुक्त भै गएका नागरिक लगानी कोषका नवौं तहका कर्मचारी छविरमण अधिकारी संचालक पदमा बहाल रहँदा बैंकिङ्ग प्रकृयाविपरीत कर्जा प्रवाहमा संलग्न भएकोले निजउपर कारवाही हुन भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. का संचालकहरु छविरमण अधिकारी, बसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यले दरवारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जाहरुमा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरुसमेत नअपनाई अनियमित तबरले कर्जा प्रवाह गरी आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको रु. ४,६३,६८,२५४।७४ सम्पत्ति बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गरेको पुष्टि हुन आएको र निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुरुपको कसुर भएको हुँदा निज प्रतिवादीहरुलाई निजहरुले हिनामिना गरेको सार्वजनिक संस्थाको सम्पत्तिको बिगो रु. ४,६३,६८,२५४।७४ (चार करोड त्रीसठ्ठी लाख अठसठ्ठी हजार दुई सय चौवन रुपैयाँ चौहत्तर पैसा मात्र) कायम गरी उक्त बिगो ऐ.दफा १७ बमोजिम नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. लाई भराई सोही दफा १७ मा उल्लेख भएबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैदसमेत गरी पाउन मागदाबी लिइएको छ ।
साथै, Roshan Engineering Consultancy Pvt.Ltd. का इन्जिनियर कोमानन्द अधिकारीले धितोको मूल्यांकन गरी प्रतिवेदन दिंदा बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई नभएको कुरा देखाई गलत गरी प्रतिवेदन दिएको पुष्टि हुन आएको र निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय गरी पाउन तथा पन्चकन्या सप्लायर्स प्रा.लि.का संचालक नरेश दाहाल, साविक रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का प्रबन्धक विकास श्रेष्ठ, बरिष्ठ प्रबन्धक गोकर्ण कट्टेल र सहायक महाप्रबन्धक प्रदिप बहादुर कर्माचार्यले प्रतिवादीहरु वसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, छविरमण अधिकारी, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मत सल्लाहमा लागेर सार्वजनिक संस्थाको सम्पत्तिको बदनियत तथा लापरवाही गरी हिनामिना तथा हानिनोक्सानी गर्ने कार्यमा संलग्न भएको पुष्टि हुन आएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कुसर भएकोले प्रतिवादीहरु विकास श्रेष्ठ, गोकर्ण कट्टेल र प्रदिप बहादुर कर्मचार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम ऐ. दफा १७ अनुसार दाबी लिइएका कसुरदारलाई हुने सजायको आधा सजाय तथा नरेश दाहालले सार्वजनिक संस्थाबाट ऋण रकम लिई लाभसमेत लिएको देखिंदा निजलाई ऐ. दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम ऐ. दफा १७ अनुसार कसुर गर्ने प्रतिवादीसरह नै सजाय गरी पाउन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
 
प्रवक्ता
नारायण प्रसाद रिसाल

Download
  

Other Press Release

जिल्ला ओखलढुङ्गा, चम्पादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, इन्जिनियर, वडा अध्यक्षसमेत ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बराल, सव-इन्जिनियर उषा किरण रोकायासमेत ३ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
गल्याङ नगरपालिका, स्याङजाका सिनियर अ.हे.व. (अधिकृत छैटौं) दुर्गा प्रसाद भट्टराई उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/05/02
जिल्ला कपिलवस्तु, महाराजगञ्ज, नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अली उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/29
जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/26