अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।
प्रेस विज्ञप्ति :- मिति २०८२।१०।२८ गते।
------------------------------------------
“सुशासन र समृद्धि नागरिकको अधिकारः भ्रष्टाचार नियन्त्रणमा बनौं सबै जिम्मेवार” भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको मूल समारोह सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सम्माननीय राष्ट्रपतिले अख्तियार दुरुपयोग राज्यको वैधानिकता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यमाथिको गम्भिर चुनौती भएको बताउनु भयो। साथै, उहाँले सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा शासन प्रणालीप्रति निराशा बढ्ने, कानुनप्रति आस्था कमजोर बन्ने र लोकतन्त्रको आधारभूत मूल्य नै प्रभावित हुने कुरा औंल्याउनु भयो। यसैगरी, उहाँले भ्रष्टाचार विरुद्धको लडाईं कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिवद्धताबाट मात्र सफल हुने बताउनु भयो।
साथै, सम्माननीय राष्ट्रपतिज्यूले सत्ता, शक्ति र धनको अनावश्यक मोहले भ्रष्टाचार बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै सदाचार, पारदर्शिता, निष्पक्षता र निर्भीकतालाई व्यवहारमा उतार्नुपर्ने बताउनु भयो। नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारमार्फत अनुशासन र सुशासन प्रणाली सुदृढ बनाउनुपर्ने उहाँको भनाई रहेको थियो। साथै, उहाँले आगामी दिनमा समेत आयोगले आफ्नो संवैधानिक जिम्मेवारी निष्पक्षता र निर्भीकताका साथ निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो।
कार्यक्रमका विशिष्ट अतिथि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले सुशासन प्रबर्धन र भ्रष्टाचार नियन्त्रणका लागि आयोगको भूमिका महत्वपूर्ण रहेको कुरा स्मरण गर्दै पछिल्लो समय आयोगले देखाएको सक्रियता र निर्भीकताको लागि आयोगको नेतृत्वको प्रशंसा गर्नु भयो। साथै, उहाँले भ्रष्टाचार नियन्त्रण गर्ने प्राथमिक जिम्मेवारी सरकारको नै हो भन्ने बताउँदै प्रत्येक निकायको कार्यालय प्रमुखले आफ्नो संस्थाभित्रको भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी लिनुपर्ने कुरामा जोड दिनु भयो।
यसैगरी, उहाँले सुशासन प्रबर्धन र भ्रष्टाचार नियन्त्रणका लागि जेन्जी युवाहरूले गरेको आन्दोलनको जगमा स्थापित बर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति गराउने कुरामा जोड दिएको कुरा उल्लेख गर्दै भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनका लागि दोस्रो राष्ट्रिय रणनीतिक कार्ययोजना निर्माण गर्ने कार्य तथा आगामी निर्वाचनपछि गठन हुने सरकारलाई मार्गदर्शन हुने गरी सुशासन मार्गचित्र तयारी गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी गराउनु भयो।
सोही क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले जेन्जी युवाले किन भ्रष्टाचार नियन्त्रणका लागि सडकमा आन्दोलन गर्नु पर्यो भन्ने कुरा हामीहरूले मनन गर्नु पर्ने बताउनु भयो। यसैगरी, उहाँले वर्तमान सरकारले राज्यकोषबाट खर्च गर्ने कुरामा मितव्ययिता अपनाएको, नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने निकायहरूको सेवा प्रवाहलाई शीघ्र, सरल र सहज बनाउनको लागि संवेदनशीलताका साथ लागिपरेको र भ्रष्टाचार नियन्त्रणका लागि स्थापित संस्थाहरूको व्यवसायीकरणका लागि प्रयास गरेको जानकारी गराउनु भयो।
आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईले कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै आयोगले आफ्नो संवैधानिक दायित्वलाई थप प्रभावकारिताका साथ निर्वाह गर्नको लागि संस्थागत रणनीति योजना तर्जुमा गरी भ्रष्टाचारजन्य कसुरको अनुसन्धान गरी दोषीलाई विशेष अदालतमा मुद्दा दायर गर्ने उपचारात्मक कार्यका अतिरिक्त विभिन्न निरोधात्मक, प्रबर्धनात्मक र संस्थागत सुदृढीकरणका कार्यहरू गर्दै आएको कुरा बताउनु भयो।
मन्तव्यको क्रममा उहाँले आयोगमा परेका उजुरीहरूमध्ये सार्वजनिक खरिद वा निर्माण, बजेट विनियोजन र अनुदान वितरणमा अनियमितता, गैरकानुनी लाभ हानि, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी, सेवा प्रवाहमा घुस/रिसवतको लेनदेन, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र, राजस्व चुहावट र गैरकानुनी रुपमा सम्पत्ति आर्जनसम्बन्धी उजुरीहरू बढी रहने गरेको कुरा औंल्याउनु भयो।
यसैगरी, उहाँले भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा आयोगको भूमिका अग्रणी रहेको भएपनि आयोग एक्लैको प्रयासले मात्र भ्रष्टाचार नियन्त्रण हुन नसक्ने भएकोले यसका लागि राज्यका सबै संयन्त्र, निजी क्षेत्र, नागरिक समाज र सञ्चारजगत् लगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयास अपरिहार्य रहेको विचार व्यक्त गर्नु भयो।
साथै, सो अवसरमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन, नीतिगत निर्णयको कानुनी परिभाषा, महत्वपूर्ण देशहरूसँग पारस्परिक कानुनी सहायता सम्झौता, भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयन सम्बन्धी कार्ययोजनाको निर्माण र कार्यान्वयन, भ्रष्टाचार नियन्त्रणका लागि सघन रूपमा निरोधात्मक र प्रबर्धनात्मक कार्यहरूको सञ्चालन, आयोगले दिएका सुझावहरूको प्रभावकारी कार्यान्वयन जस्ता विषयहरूमा सम्बन्धित पक्षको ध्यानकर्षण गराउनु भयो।
त्यसै क्रममा उहाँले सुशासन प्रबर्धन र भ्रष्टाचार नियन्त्रणको लागि आयोगले गरेका सुधारात्मक प्रयासहरूको बारेमा जानकारी गराउँदै भ्रष्टाचारको बदलिंदो स्वरुप र शैलीलाई संवोधन गर्न भ्रष्टाचारजन्य कसुरको अनुसन्धानमा आधुनिक उपकरणको प्रयोग, अनुसन्धानका नवीनतम प्रविधिहरूको अवलम्बन र दक्ष जनशक्तिको विकासका लागि थप प्रयास गर्न आवश्यक रहेको कुरा औंल्याउनु भयो।
मन्तव्यकै क्रममा उहाँले सार्वजनिक पद धारण गरेका पदाधिकारीहरूलाई कानुनले दिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्न, कुनै भ्रष्टाचार जन्य गतिविधि नगर्न र देश र जनतालाई शिरमा राखेर काम गर्न आह्वान गर्नुका साथै संविधान र प्रचलित कानुनले तोकेको जिम्मेवारी आयोगले इमान्दारिताका साथ निष्पक्षता, तटस्थता, निर्भिकता र पेशागत विशिष्टताका आधारमा अझ प्रभावकारी रूपमा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३५ वर्ष झल्किने गरी तयार गरिएको श्रव्य-दृष्य सामग्रीको प्रस्तुतिबाट शुभारम्भ गरिएको स्थापना दिवसको मूल समारोहको कार्यक्रममा सम्माननीय राष्ट्रपतिले आयोगको स्मारिका-२०८२ को लोकार्पण गर्नु भयो। यसका साथै सम्माननीय उपराष्ट्रपतिले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनमा उल्लेखनीय योगदान पुर्याउने पाँच जना सञ्चारकर्मी र लेखकलाई पुरस्कृत गर्नु भयो भने सम्माननीय प्रधानमन्त्रीले आयोगका एक जना कर्मचारीलाई उत्कृष्ट अख्तियार सेवा पुरस्कार र तीन जना कर्मचारीलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गर्नु भयो।
उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति, सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानन्यायाधीश, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय मन्त्रीहरू, राष्ट्रिय सभाका माननीय उपाध्यक्ष लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet
Other Press Release
|
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।
2026/02/11 |
|
रक्तदान कार्यक्रम सम्पन्न।
2026/02/08 |