सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैतिसौँ बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) पेश गरेको सम्बन्धमा।


प्रेस विज्ञप्ति:- मिति २०८२।०६।०५ गते ।
.......................................................
• नेपालको संविधानको धारा २९४ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईले आज मिति २०८२ साल असोज ५ गते राष्ट्रपतिको कार्यालय, शितल निवास, महाराजगञ्जमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आयोगको पैतिसौँ बार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) पेस गर्नुभयो।
• उक्त समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो संवैधानिक जिम्मेवारी अनुसार मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणमा पुर्‍याएको योगदानको लागि धन्यवाद व्यक्त गर्नुभयो। साथै, उहाँले लोकतन्त्रको जग जवाफदेहिता सहितको शासन हो भन्दै आयोगले शासनमा जवाफदेहिता अभिबृद्धि गर्न, कुनै दबाव र प्रभाव बिना स्वतन्त्र रुपमा आम नागरिकको अपेक्षा र शासकीय आवश्यकता अनुसार थप प्रभावकारी रुपमा अनुसन्धान र अभियोजन गर्न आवश्यक रहेको बताउनु भयो।
• यसै गरी सम्माननीय राष्ट्रपतिज्यूले देश विकासको लागि सुशासनको अपरिहार्य आवश्यकता रहने र स्थापित स्वतन्त्र संवैधानिक निकायले निर्दिष्ट जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सकेमा जनबिश्वास र लोकतन्त्र प्रतिको भरोसा अभिबृद्धि हुने कुरा स्मरण गराउँदै आगामी समयमा आयोगको सक्षमता र सवलता थप सुदृढ हुँदै जाने विश्वाससमेत व्यक्त गर्नुभयो र आयोगले यस प्रतिवेदनमार्फत दिएका सुझाव कार्यान्वयनको लागि आफ्नो तर्फबाट नेपाल सरकार र संघीय संसदलाई ध्यानाकर्षण गराउने बताउनु भयो।
• आयोगको पैतीसौँ बार्षिक प्रतिवेदन पेश गर्नुहुँदै आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईले आर्थिक वर्ष २०८१/८२ मा आयोगले सम्पादन गरेका प्रमुख काम कारबाहीहरुको संक्षिप्त रुपमा विवरण प्रस्तुत गर्दै आयोगले आफ्नो संवैधानिक दायित्वलाई थप प्रभावकारिताका साथ निर्वाह गर्नको लागि यस आर्थिक वर्षमा आयोगको पाँचौ रणनीतिक योजना (आ.व. २०८१/८२-२०८५/८६) तर्जुमा गरी विभिन्न रणनीति, कार्यनीति र क्रियाकलापहरू निर्धारण गरेको व्यहोरा उल्लेख गर्नु भयो। साथै, नेपालको संविधानले व्यवस्था गरे बमोजिम आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान र अभियोजन गर्ने कार्य गर्दै आएको तथा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनका लागि निरोधात्मक र प्रबर्धनात्मक कार्यहरू समेत सम्पादन गर्दै आएको बताउनु भयो।
• साथै, उहाँले आयोगले केन्द्रीय कार्यालय टङ्गाल, काठमाडौं एवं इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत, कञ्‍चनपुर र नेपालगञ्जस्थित मातहत कार्यालयहरूबाट कार्यसम्पादन गर्दै आइरहेको तथा हाल आयोगमा कुल ९९० कर्मचारीको दरबन्दी  रहेको उल्लेख गर्दै आयोगबाट ३३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई अनुसन्धानसम्बन्धी अधिकार समेत प्रत्यायोजन गरिएको कुरा बताउनुभयो।
• यसैगरी, माननीय प्रमुख आयुक्तले यस आर्थिक वर्षमा आयोगमा विभिन्न माध्यमबाट दर्ता भएका, फर्छ्यौट भएका र फर्छ्यौट हुन बाँकी रहेका उजुरीको संख्यात्मक विवरण प्रस्तुत गर्नुका साथै आयोगले विशेष अदालतमा दायर गरेका तथा सर्वोच्च अदालतमा पुनरावेदन गरेका र पुनरावलोकनको निवेदन दिएका मुद्दाको संक्षिप्त विवरण समेत सो अवसरमा प्रस्तुत गर्नु भयो। 
• सोही अवसरमा उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्धनको लागि आयोगलाई प्राप्त संवैधानिक जिम्मेवारी प्रभावकारिताका साथ निर्वाह गर्न र राज्यको नीति निर्भिकता, निष्पक्षता र तटस्थताका साथ कार्यान्वयन गर्न आयोग प्रतिवद्ध रहेको उल्लेख गर्नु भयो। 
• साथै, उहाँले मुलुकमा सुशासनको लागि भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारका तीनै तह एवं निकायहरू, गैरसरकारी र निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय एवं आम नागरिकबाट प्राप्त साथ, सहयोग र ऐक्यवद्धताका लागि आयोग परिवारको तर्फबाट धन्यबाद दिँदै आगामी दिनमा समेत सबैको सहयोग र सहकार्यको निरन्तरताको आयोगले अपेक्षा गरेको छ भन्नु भयो।
• सोही क्रममा उहाँले आगामी दिनमा आयोगलाई अझ बढी सक्रिय, सक्षम र कर्तव्यनिष्ठताका साथ अगाडि बढ्न मार्ग निर्देशन र सुझावको समेत अपेक्षा गर्दै आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रमका लागि समय उपलब्ध गराई दिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूसमक्ष हार्दिक कृतज्ञता ज्ञापन गर्नु भयो।
• आयोगको पैतीसौँ बार्षिक प्रतिवेदन पेश गर्ने समारोहमा आयोगका प्रमुख आयुक्त माननीय प्रेम कुमार राई, आयुक्तहरु माननीय  किशोर कुमार सिलवाल, माननीय जय बहादुर चन्द, माननीय डा. हरि पौडेल, माननीय डा. सुमित्रा श्रेष्ठ अमात्य, आयोगका सचिव, महाशाखा प्रमुख र कर्मचारीहरुका साथै राष्ट्रपतिको कार्यालयका सचिव तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो। क्रमश...
 
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)

 

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

 

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
  

Other Press Release