प्रतिवादी प्रमोद नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।१०।१८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
प्रतिवादी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखामा कार्यरत प्राविधिक उपसचिव प्रमोद नेपालले प्याराग्लाइडिङ्ग सञ्चालन गर्न अनुमतिपत्र (लाईसेन्स) दिने कार्यमा घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको हुँदा बिगो रू.६,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम कैद सजाय हुन साथै निजले बि.बि.एयरवेज प्रा.लि.को इजाजत नविकरण सम्बन्धित कार्य सम्पादन गरी सोही कार्य सम्पादन गरेवापत प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग रु.१६,५०,०००।- सापटी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसूर गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५ को उपदफा (१) अनुसार कैद सजाय गरी बरामद भई आएको उक्त रकम सोही ऐनको दफा ५(१) बमोजिम जफत हुन,
प्रतिवादी बि.बि.एयरवेज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले बि.बि.एयरवेज प्रा.लि.को इजाजत नविकरण सम्बन्धि कार्य सम्पादन गरेका प्रमोद नेपाललाई रु.१६,५०,०००।- सापटी दिई निज प्रमोद नेपाललाई लाभ पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५ को उपदफा (१) बमोजिमको कसूरमा ऐ.ऐनको दफा २२ बमोजिम मतियारको भूमिका निर्वाह गरेको हुँदा निज हरिभक्त श्रेष्ठउपर सोही ऐनको दफा ५ को उपदफा (१) ले हुने सजायमा भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।१९ को फैसलाबाट आंशिक सफाई दिएको-:
क) प्रतिवादी प्रमोद नेपालले चलाएको कारको चालक सिटको पछाडी सिटमाथि रहेको सेतो रङ्गको फाइबरको झोलाबाट बरामद भएको रु.१६,५०,०००।- प्रतिवादी प्रमोद नेपालले बि.बि. एयरवेज प्रा.लि.को उडान अनुमतिको कार्य प्रभावित पार्ने हेतुले सापटी लिएको भन्ने नदेखिएको।
ख) प्रतिवादी हरिभक्त श्रेष्ठले अनुसन्धानको क्रममा अख्तियार दुरुपयोग आयोग समक्ष बयान गर्दा बरामद भएको रु.१६,५०,०००।- व्यक्तिगत सम्बन्धको आधारमा नितान्त मानवीय सहयोग स्वरुप सापटीको रुपमा दिएको हुँ, घुस/रिसवत बापत होइन भनी आरोपित कसूरमा इन्कार रहेको देखिएको ।
ग) निज प्रतिवादी प्रमोद नेपालको साक्षीले प्रतिवादीको बयानलार्इ समर्थित हुनेगरी बकपत्र गरेको देखिएको।
घ) प्रतिवादी प्रमोद नेपालको साथबाट बरामद भएको रु.१६,५०,०००।- को हकमा घुस रिसवत बापत लिएको भनी पुष्टि गर्ने Audio/Video रेकर्ड रहेको नदेखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१०।१८ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) प्रतिवादी प्रमोद नेपालले आफू कार्यरत मन्त्रालय मातहतको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नियमन हुने वि.वि. एयरवेज प्रा.लि.मा Consultant को रुपमा कार्यरत रहेका हरिभक्त श्रेष्ठ तथा उक्त अवधिमा निजको जिम्मेवारी संकृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायुसेवा र्इजाजत नवीकरणको लागि आवश्यक पर्ने documents तयार गर्न सहयोग गर्ने र सो सम्बन्धी सम्बन्धित निकायहरुमा समन्वय गर्ने जिम्मेवारीमा रहेको र निज हरिभक्त श्रेष्ठ प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेको देखिएको, बि.बि. एयरवेजको इजाजत नवीकरणको लागि पेश भएको निवेदन नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उठेको टिप्पणी र आदेश पत्रमा प्रतिवादी प्रमोद नेपालले राय व्यहोरा लेखि हस्ताक्षर गरी सहसचिव समक्ष पेश गरी सोही मन्त्रालयका सचिवबाट स्वीकृत भएको व्यहोरा र मिसिल संलग्न प्रमाण कागजातहरुबाट आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नुपर्ने कामसँग सम्बन्धित व्यक्तिसँग सापटी लिएको देखिंदा देखिंदै न्यायोचित रुपमा विवेचना नगरी भएको फैसला त्रुटिपूर्ण भएकोले सो हदसम्म बदरभागी रहेको।
ख) प्रतिवादीहरुले भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानूनद्वारा वर्जित गरेको सापटी लिने/दिने कार्य गरेको निजहरुको काम व्यवहारबाट प्रमाणित भइरहेको, निजहरुले रु.१६,५०,०००।-रकम लेनदेन गरेको व्यहोरामा अन्यथा दावी नलिएको, आपसमा व्यक्तिगत सम्बन्ध रहेको बताएता पनि उक्त कुराको प्रमाण पेश गर्न नसकेको अवस्थामा निजहरु आफ्नो कार्य सम्पादनको सिलसिलामा परस्पर सम्बन्धित व्यक्ति रहे भएको कुरा मिसिल संलग्न बि.बि. एयरवेजको पत्र र नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिसिल संलग्न टिप्पणी र आदेश समेतबाट देखिएको व्यहोरा समेतलार्इ अनदेखागरी इन्कारी बयान तथा प्रतिवादीका साक्षीहरुको अदालत समक्ष गरेको बकपत्रलार्इ प्रमुख आधारमानी भएको फैसला सो हदसम्म त्रुटिपूर्ण भएकोले सो हद सम्म बदरभागी रहेको।
ग) प्रतिवादीहरुले बदनियतपूर्वक आफू बहाल रहेको पद अनुसार सम्पादन गर्नुपर्ने कामको स्पष्ट सम्बन्ध रहे भएको व्यक्ति हो भन्ने जान्दा जान्दै, निज प्रमोद नेपाल नागरिक उड्डयन क्षेत्रको नियामक निकायको तालुक मन्त्रालयको कर्मचारी रहे भएको र हरिभक्त श्रेष्ठ सोही मन्त्रालय मातहतमा रहेको नियामक निकायबाट नियमन हुने बि.बि. एयरवेजमा कार्यरत रहेको कर्मचारी रहे भएको देखिएबाट सापटी लिने कार्य भ्रष्टाचारजन्य कसूर भएको मिसिल संलग्न तथ्य र प्रमाणहरुबाट देखिंदा देखिंदै प्रतिवादीहरुका साक्षीहरु जो यस घटनाका प्रत्यक्षदर्शी साक्षी समेत होर्इनन् निजहरुको बकपत्रको आधारमा प्रस्तुत मुद्दाको मिसिल संलग्न महत्वपूर्ण तथ्य प्रमाण समेतलार्इ अनदेखा गरी भएको फैसला सम्मानित सर्वोच्च अदालतबाट नेपाल सरकार बिरुद्ध रमेशकुमार तामाङ भएको भ्रष्टाचार (घुस/रिसवत)(मुद्दा नं.०७३-CR-११८२) मुद्दामा भएको फैसलाको प्रकरण नं.२१ समेतको विपरीत हुने गरी भएको फैसला प्रमाण विवेचनाको रोहमा त्रुटिपूर्ण भएकोले सो हदसम्म बदरभागी रहेको।
प्रवक्ता
नरहरि घिमिरे
Notice of appeal
Notice of appeal
APPEAL CHARGE
APPEAL CHARGE
Tweet