प्रतिवादी जितेन्द्र कुमार चौधरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०९।१६ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी जितेन्द्र कुमार चौधरीलाई भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले बिगो रु.३,९९,४४,३४२।- कायम गरी साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ र दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक बाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निज जितेन्द्र कुमार चौधरीले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्ति तथा लगानी एवं घर निर्माण लागत लगायतका खर्चहरु साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १६ग.¸ दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको बिगो बराबरको एकाघर संगोलका श्रीमती र छोरा एव आफ्नै नाममा राखेको सम्पत्तिबाट असूल उपर/जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानून बमोजिम यी आरोपी जितेन्द्र कुमार चौधरीबाट असूल उपर गरी जफत हुन, मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।०९।२९ को फैसलाबाट आंशिक सफाई दिएको-: 
• अनुसन्धानका क्रममा घर मर्मत खर्च रु.२,००,०००।– भएको भनी प्रतिवादीले भनेता पनि अदालतमा ईन्कार रही वयान गरेको र प्राविधिक जाँचका आधारमा पनि उक्त घर मर्मत भएको भनि निश्चित नगरेको।
• प्रतिवादीले खातामा जम्मा गरे गराएका स्रोत पुष्टि हुन नआएका रकम रु.१,४४,०२,६६०।- मध्ये रु.३९,०२,६६०।–मा मात्र प्रतिवादीले अन्यथा खुलाउन नसकेकोले व्ययमा गणना गर्न मिल्ने।
• प्रतिवादीको सर्लाही जिल्लाको विक्री गरेको जग्गाको आयमा वादी पक्षले आय रु.१,७५,५८२।–कायम गरेकोमा मालपोत कार्यालयको रेकर्ड अनुसार उक्त जग्गा विक्रीको रकम रु.१,९८,६००।–भएकोले उक्त सम्पूर्ण रकम नै आयमा गणना हुने।
• प्रतिवादीले बुझेको भनिएको बिभिन्न भत्ता शिर्षकमा जम्मा रु.१४,१७,६३२।–आयमा गणना गरिएको।
• प्रतिवादीको विराटनगर स्थित घर बहाल बापत रकम रु.१,८०,०००।– आयमा गणना गरिएको।
• प्रतिवादीले आफ्नो पत्नी किरण चौधरीको नाउको जनकपुर स्थित जग्गाको वहाल बापत रु.२,४०,०००।– आयमा गणना गरिएको।
• प्रतिवादीको श्रीमती किरण चौधरीको पारिश्रमिक आय रु ५,६१,०००।– आयमा गणना गरिएको।
• सुन विक्री आयतर्फ रु.९,४४,१६०।– आयमा गणना गरिएको।
• प्रतिवादीको कि.नं. ४१० र ३०० को कृषि आयतर्फ रु.९,३२,०००।– लाई आयमा गणना गरिएको।
• प्रतिवादी किरण चौधरीको बैंक खातामा जम्मा भएको रु.३५,००,०००।– रकमका सम्वन्धमा लगाउमा रहेको गैरकानूनी कमिशनको रकम सम्वन्धी मुद्दामा निर्णय भईसकेको र यस मुद्दामा आयमा समेत गणना नगरिएको हुँदा व्यय पनि कायम गर्न मिलेन।
• मिसिल संलग्न कागजातबाट प्रतिवादीको श्रोत पुष्टि भएको आय र व्ययको हिसाब गणना गर्दा जाँच अवधिमा प्रतिवादीको आयतर्फ जम्मा रु.१,०८,७१,८००।–देखिएको र व्ययतर्फ रु.३,५३,६५,५६५।– देखिएको। तसर्थ प्रतिवादी जितेन्द्र कुमार चौधरीले आय भन्दा जम्मा रु.२,४४,९३,७६५।– गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०९।१४ मा पुनरावेदन गरिएको छः-
देहाय:
क. आय तर्फ: जिल्ला सर्लाही धनगढा स्थित कि.नं. ४१० क्षेत्रफल ०-८-०-० भएको जग्गा खरिद गर्दाका वखत खरिद तथा लगानी रकम रु. ४०,०००।–मा रु.४¸६३४।–(११.५९%) बराबरको भागको स्रोत खुल्न नआएको हुँदा विक्री रकम रु.१,९८,६००।– बाट ११.५९% ले हुने रकम रु.२३,०१८।- घटाउँदा हुने रकम रु.१,७५,५८२।– रकम नै जग्गा विक्रीबाट प्राप्त बैध आय हुनु पर्ने हुन्छ तर अदालतबाट उक्त जग्गा विक्रीको सम्पूर्ण रकम रु.१,९८,६००।– आयमा गणना हुने भन्ने फैसला, “आधारभूत सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अवस्थामा त्यसबाट बढेबढाएको सम्पत्ति समेत स्वत: गैरकानूनी हुने भई दफा ४७ बमोजिम जफत हुने स्थिति रहेको। बढेबढाएको सम्पत्तिलाई आयको मान्यता दिँदा परिणामत: त्यसले आधारभूत सम्पत्तिकै स्रोत पुष्टि हुनजाने अवस्था सिर्जना हुन आउँछ जुन कानूनसम्मत हुन नसक्ने” (नेपाल सरकार विरुद्ध युवराज शर्मा भएको मुद्दामा ने.का.प. २०६९, अंक ५, नि.नं. ८८८६) भन्ने प्रतिपादित सिद्धान्त विपरित भएको फैसला बदरभागी रहेको।
ख. प्रतिवादीले अनुसन्धानको वयानको क्रममा नखुलाएको तर अदालत समक्ष पेश गरेको भनिएको भत्ता रकम रु.१४,१७,६३२।– विश्वासलायक नरहेको। प्रतिवादीको जीवन अवधि भरको परिश्रमिक वचत आय रु.२८,७१,५१८।– जसको झण्डै आधा रकम भत्ता भनी पेश गरेकोमा सत्यता नरहेको। स्रोत पुष्टि नभएको विगोको रुपमा रहने सम्पत्ति तथा सोबाट बढेबढाएको सम्पत्ति समेत स्वत: गैरकानूनी भई जफतसम्म हुने देखिएको।
ग. प्रतिवादीले अनुसन्धानको वयानमा श्रीमती किरण चौधरीको नाममा विराटनगर स्थित घर बहालमा रहेको भनिएकोमा घर बहाल सम्झौता र कर तिरेको रसिद पेश गर्न नसकेको। प्रतिवादीले पछि सजायबाट बच्ने उद्देश्यले तयार गरिएको सम्झौता र विराटनगर महानगरपालिकाको पत्रलाई आधार लिई घर बहाल रकम रु.१,८०,०००।– थप गरिएको कानून सम्मत मिल्ने नदेखिएको।
घ. प्रतिवादीको श्रीमती किरण चौधरीको नाममा रहेको जनकपुरको जग्गा ग्यारेज प्रयोजनको लागि बहाल दिएको भनी पेश गरेको सम्झौता पत्र र जनकपुर महानगरपालिको रसिदबाट देखिएको भनी रु.२,४०,०००।– रकम सजायबाट बच्ने उद्देश्यले पछि तयार गरिएका Created evidence  हुन् तसर्थ उक्त रकमलाई आयमा समावेश गर्न मिल्ने नदेखिएको।
ङ. प्रतिवादी किरण चौधरीले अनुसन्धानको वयानमा आफू गृहिणी मात्र रहेको र अन्य कुनै पनि पेशा व्यवसाय नरहेको भनी उल्लेख गरेको।आफनो हात काप्ने समस्याले गर्दा लेख्न नसक्ने हुँदा मैले भनेको कुरा श्रीमान्ले लेखिदिने भनी वयान गरेकी।प्रतिवादी जितेन्द्र कुमार चौधरीले समेत श्रीमती गृहिणी मात्र रहेको भनी अनुसन्धानको वयानमा उल्लेख गरेको। आयोगले गणना नगरेको तर प्रतिवादीले अदालत समक्ष जिकिर लिएका श्रीमती स्कूलको वार्डेन भई तलव बुझेको भनी आयमा थप गरिएको परिश्रमिक आय रु.५,६१,०००।- कसुरबाट उन्मुक्ती पाउने अभिप्रायले बैध आयमा बृद्धि गर्नका लागि मात्र स्कुलको वार्डेन भई काम गरेको भनी अदालतमा उल्लेख गरेको देखिएको। स्कुल वार्डेन भई काम गरेको तलब भत्ता बुझेको भरपाई साथै परिश्रमिक कर तिरेको भरपाई समेत प्रतिवादीले अदालतमा पेश गर्न सकेको अवस्था नरहेको हुँदा उक्त रकम रु.५,६१,०००।- आयमा कायम गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
च. प्रतिवादी जितेन्द्र कुमार चौधरीले विवाहमा ससुराली पक्षबाट दिएको र पछि खरिद गरेको सुन बिक्री गरी प्राप्त आय भनी रु.९,४४,१६०।–आयमा गणना हुनु पर्ने भनी गरेको जिकिर भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २०(१) को कानुनी व्यवस्था बमोजिम प्रतिवादीले नै आर्जन गरेको सम्पत्तिको स्रोत प्रमाणित गर्नुपर्नेमा सुन खरिद गरेका विल भरपाई साथै कुन स्रोतबाट के कति परिमाणमा खरिद गरेको भनी स-प्रमाण स्पष्टसँग खुलाउन नसकेको, प्रतिवादीले आफ्नो जिकिर पुष्टि हुने वस्तुनिष्ठ प्रमाण पेश नगरेको अवस्थामा प्रतिवादीको जिकिर मनासिबै देखिएको भनी  रु.९,४४,१६०।–आयमा कायम गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
छ. प्रतिवादीले कृषि आयमा रु.९,३२,१०८।– थप हुनु पर्ने जिकिर लिएको रकमका सम्वन्धमा प्रतिवादीले कृषि आय के कहाँको के कति क्षेत्रफल भएको जग्गामा के कुन प्रकारको बालीनाली को कसबाट लगाई के कति आम्दानी गरेको भन्ने कुनै बस्तुनिष्ठ प्रमाण पेश गर्न नसकेको। प्रतिवादी राष्ट्रसेवक कर्मचारी भई विभिन्न जिल्लामा कामकाज गर्दै आएका, निजको श्रीमती गृहिणी भई बसेको र छोरा छोरी समेत उक्त अवधिमा कृषि कार्य गरी स्वआर्जन गर्न सक्ने उमेरको देखिदैन। प्रतिवादी २०५१ साल देखि नै आफ्नोआफ्नो कमाई गरी अलग बसेको भन्ने निजकै वयानबाट पुष्टि भएकोले २०५१।०५२ देखि २०५६ सालसम्मको १-१२-११ क्षेत्रफलको जग्गाको कृषि कार्य गरी स्वआर्जन भनी जिकिर लिइएको रकम रु.९,३२,१०८।–को दावीलाई २०७७ सालमा बसबरिया गाउँपालिकाको पत्रले समर्थन गरेको भन्ने आधार लिई वैध आयमा गणना गरी भएको फैसला त्रुटीपूर्ण रहेको।
ज. ब्यय तर्फ: प्रतिवादी अदालतमा ईन्कार रही वयान गरेको र प्राविधिक जाँचका आधारमा पनि उक्त घर मर्मत भएको भनी निश्चित नगरेको आधार लिई रकम रु.२,००,०००।– ब्यय कायम नगरिएको उक्त रकमका सम्वन्धमा किरण चौधरीको नाममा जिल्ला मोरङ विराटनगर  स्थित जग्गा खरिद गर्दा घर सहित खरिद गरेको देखिएकोमा निजको श्रीमान जितेन्द्र कुमार चौधरीले बयानको सवाल जवाफमा सो खरिद भएको घर मर्मत गर्दा रु.२,००,०००।– लागेको भनी खुलाएकोले निजको आफ्नै वयानले उक्त व्यहोरा खण्डित भएको हुँदा प्रस्तुत फैसला त्रुटिपूर्ण रहेको।
झ. प्रतिवादीहरुको खातामा जम्मा गरे/गराएको स्रोत पुष्टि हुन नआएका रकम रु.१,४४,०२,६६०।- मध्ये रु.३९,०२,६६०।– प्रतिवादी जितेन्द्र कुमार चौधरीको खातामा जम्मा भएको बाँकी रकम निजको श्रीमती प्रतिवादी किरण चौधरीको खातामा जम्मा भएको देखिएको।प्रतिवादी किरण चौधरीको कुमारी बैंक लि.को खातामा रु.४०,००,०००।– र रु.३०,००,०००।-जम्मा गरेको सम्बन्धमा प्रतिवादी जितेन्द्र कुमार चौधरीले बयानको सवाल जवाफमा श्रीमतीको कुमारी बैंक लि. खातामा जम्मा गर्ने क्रममा आफूले भौचर लेखी ससुराले दस्तखत गरी जम्मा गरेको हो। सो रकमको स्रोत मैले खुलाउन नसकेकोले ससुराका नामबाट जम्मा गरेको हो भनी भौचरमा भएका दस्तखत सनाखत समेत गरी लेखाएको देखिएको।
ञ. सम्मानित अदालतको फैसलामा किरण चौधरीको नाममा खरीद भएको  विराटनगर स्थित जग्गा रु.८६,००,०००।–मा खरीद गरेको देखिएको।उक्त रकमको जग्गा रु.७०,००,०००।– ऋणमा लगानी गरी खरीद नगरी नहुने कारण खुलाउन नसकेको।यसबाट आफ्नो ससुराबाट आफैंले भौचर भरी पत्नीको नाउमा जम्मा गरेको उक्त रकम वास्तविक ऋण भएको नदेखिई श्रोत पुर्‍याउने उद्देश्यले उक्त कार्य गरेको देखिन आएकोले आयमा गणना गर्न मिलेन भनी स्वयम् अदालत समेत सहमत भएको। अदालतबाट प्रतिवादी किरण चौधरीको खातामा जम्मा भएको स्रोत पुष्टि हुन नसकेको रकमलाई कुनै हिसाबै नगरी “गैरकानूनी कमिशनको रकम सम्वन्धी मुद्दामा निर्णय भईसकेको र यस मुद्दामा आयमा समेत गणना नगरिएको हुँदा व्यय पनि कायम गर्न मिलेन” भन्ने आधार ग्रहण गरी भएको फैसलामा त्रुटीपूर्ण भई बदरभागी रहेको।
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Notice of appeal Notice of appeal APPEAL CHARGE APPEAL CHARGE
  

Other Press Release

प्रतिवादी जितेन्द्र कुमार चौधरीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/31
प्रतिवादी जितेन्द्र कुमार चौधरी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/31
प्रतिवादी भविलाल रामजालीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/31
प्रतिवादी लाहानु थारुसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/31
प्रतिवादी ओमनारायण झासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/29
प्रतिवादी साकिर अहमदसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/27