प्रतिवादी गजेन्द्र सिंह भण्डारी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०८।२८ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी गजेन्द्र सिंह भण्डारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसूरमा निजलाई ऐ ऐनको दफा ३(१) बमोजिमको कसूरमा बिगो रू.८,०००।– कायम गरी ऐ ऐनको दफा ३(१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३(१) अनुसार बिगो बमोजिम जरिबानाको सजाय हुन, मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०१।१३ को फैसलाबाट सफाई दिएको-:
• गजेन्द्र सिंह भण्डारीले आरोपित कसूरमा इन्कार रही मौका र अदालत समक्ष बयान गरेको, घूस/रिसवतको रकम प्रतिवादीको सङ्गसाथबाट बरामद भएको नदेखिएको, उजुरकर्ता स्वयम्ले भन्सार छली भारतीय नम्बर प्लेटको मोटरसाईकलमा ल्याएको युरिया मल पक्राउ गरी सो छुटाउन घुस/रिसवत दिने बेहोराको संवाद गरेको अडियोको स्क्रिष्ट राइटिङबाट देखिएको, प्रतिवादीले उजुरकर्ताबाट रिसवत रकम लिएको देखिएन भनी वादीकै साक्षी गुलाबचन्द्र मौर्य समेतले अदालत समक्ष बकपत्र गरेको, अनुसन्धानमा कागज गर्ने वडाध्यक्ष पञ्चेश्वर कुर्मी समेतले उक्त रुपैयाँ कहाँबाट ल्याइयो, केही भन्न सक्तिनँ भनी बेहोरा खुलाएको समेतका आधार प्रमाणबाट निज प्रतिवादीले घूस रकम लिएको प्रमाणित भएन।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।२८ मा पुनरावेदन गरिएको छः-
देहाय:
(क) प्रहरी चौकी खडैचा बाँकेका इन्चार्ज गजेन्द्र सिंह भण्डारीले मोटरसाइकल सहित २ बोरी यूरिया मल नियन्त्रणमा लिई छोडी दिने प्रयोजनका लागि घुस/रिसवत रु.८,०००/- रकम लिईसकेको अवस्थामा पक्राउ परेको पुष्टि भएकोबाट उजुरी निवेदकले मिति २०८०/९/२५ गते प्रहरी चौकी परिसरमा मल र सवारी साधन छुटाउन चौकी ईन्चार्ज गजेन्द्र सिंह भण्डारीलाई घुस/रिसवत वापत रु.८,०००/- दिएको हो भन्ने समेत व्यहोराको अनुसन्धानको क्रममा बयान गरेको र मौकाको बयान समर्थित बकपत्र गरेको।
(ख) साक्षीहरुले समेत मिति २०८०/९/२५ गते प्रहरी चौकी खडैचाको ईन्चार्ज प्र.स.नि.गजेन्द्र सिंह भण्डारीले लगाउनु भएको कपडा कालो रङ्गको हुडीको गोजीबाट केही चीज प्रतिक्षालयको साईडमा पीपलको बोट मुनि फालेको, खानतलासी गर्दा रु.८०००।– बरामद भएको रकमको नोट नम्बरहरु उजुरी निवेदकले निवेदनमा उल्लेख गरेको नोट नम्बरसँग दुरुस्त मेल खान्छ भन्नेसमेत व्यहोराको कागज रही सोही व्यहोराको बकपत्र गरेको। प्रतिवादीले घुस/रिसवत रकम लिई बरामदस्थलतर्फ फालेको भन्ने बरामदी मुचुल्कामा उल्लेख भएको नदेखिएको भनी सफाइको आधार बनाइए पनि निज प्रतिवादीले अख्तियारको टोली देखेपछि फालेको भनी प्रत्यक्षदर्शी साक्षीले बकपत्र गरेको अवस्थामा प्रतिवादीले घुस/रिसवत रकम लिई बरामद स्थलतर्फ फालेको भन्ने व्यहोरा बरामदी मुचुल्कामा उल्लेख नभएकै आधारमा सफाई दिइएको त्रुटिपूर्ण रहेको।
(ग) निवेदकसँग घुस/रिसवत बार्गेनिङ गर्ने क्रममा रेकर्ड गरिएको श्रव्य दृष्य फोन वार्तालापमा प्रतिवादीले “ लाइन मिलाएर काम गरेको भए हुन्थ्यो; दश हजार हो म आठ हजार लिएर छोडी हाल्छु” भनी वार्तालाप भएको सुनिएको अबस्था रहेको।उक्त बार्तालापको श्रव्यदृष्य स्क्रिप्ट राइटिङमा प्रतिवादी गजेन्द्र सिंह भण्डारीले घुस रिसवत माग गरेको वार्तालाप पुष्टि हुने डरले सहीछाप गर्न इन्कारी गरेको।स्वर परीक्षण प्रतिवेदन (VSA) मा उक्त रेकर्डमा रहेको आवाज प्रतिवादीसँग “The speaker’s identification traits match with confidence level of more than ९९%.Match probability is more than ६४.१%”मेल खाएको भन्नेसमेत व्यहोराको स्वर परीक्षण प्रतिवेदन देखिएकोवाट निजले घुस/रिसवत लिएको पुष्टि भएको।
(घ) उजुरीकर्ताको बकपत्रमा प्रतिवादीकै हातमा रकम दिएको, उनले कता राखे थाहा भएन भनी लेखाएको।प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) बमोजिम प्रमाणग्राह्य हुँदाहुँदै पनि सफाइ दिएको त्रुटिपूर्ण रहेको।प्रतिवादीले उजुरकर्ताबाट रिसवत रकम लिएको देखिएन भनी वादीकै साक्षी समेतले अदालत समक्ष बकपत्र गरेकोमा उजुरीकर्ताले सबैको अगाडि घूस रकम दिएको हुनुपर्थ्यो भन्नेजसरी घूस रकम सार्वजनिक गरी दिनुपर्ने अर्थमा प्रतिवादीलाई सफाइको आधार बनाउनुले समाजमा भ्रष्टाचार मौलाउनेतर्फ अदालत सचेत नरहेको देखिएको। प्रत्यक्ष तथा परिस्थितिजन्य प्रमाणहरूले निज प्रतिवादीले घूस रकम लिएको पुष्टि भइरहेको अवस्थामा निज प्रतिवादीलाई आरोपपत्र मागदाबी बमोजिम सजाय हुनुपर्नेमा सफाइ दिने गरी भएको फैसला बदरभागी रहेको।
प्रवक्ता
नरहरि घिमिरे