प्रतिवादी रण बहादुर कटवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०८।२६ गते।
---------------------------------------------
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी रण बहादुर कटवाललाई नक्कली बिल बनाई सरकारी रकम हानिनोक्सानी गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूरमा रु.४,९८,९९५।- बिगो कायम गरी ऐ. ऐनको दफा १७ ले निर्देश गरेअनुसार ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय र विगो बमोजिम जरिवाना गरी ऐ.ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन, साथै निजले सवारी चालकको रुपमा आफ्नै श्रीमतीको नामबाट काल्पनिक कागजात तयार गरी रकम भुक्तानी लिने एवं श्रीमतीलाई कम्प्यूटर अपरेटर पदमा नक्कली करार सम्झौता बनाई रु.१,१२,०००।- रकम भुक्तानी लिने भरमग्दुर प्रयत्न गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको सरकारी सम्पत्ति हानिनोक्सानी गर्ने गराउने उद्योगको कसूर गरेको पुष्टी हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भए अनुसारको सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।११।२७ को फैसलाबाट आंशिक सफाई दिएको-: 
(क) प्रतिवादी रण बहादुर कटवालले कम्प्यूटर अपरेटर पदमा आफैले काल्पनिक/नक्कली करार सम्झौता, पारिश्रमिक भुक्तानीको निवेदन लगायतको कार्यहरु अपराधका लागि तयारी जन्य सम्म मात्र देखिएको।
(ख) पूर्ण अपराधको निकटस्थ देखिने गरेको नदेखिएकाले सरकारी सम्पत्ति हानिनोक्सानी गर्ने गराउने उद्योगको कसुर हुने हदसम्मको कार्य गरेको पुष्टि हुन नसकेको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०८।२६ मा पुनरावेदन गरिएको छः-
देहाय:
(क) प्रस्तुत मुद्दामा फैसला गर्दा समेत प्रतिबादी रणबहादुर कटुवालले कम्प्यूटर अपरेटरको लागि काल्पनिक/नक्कली करार सम्झौता तयार गरेको तथ्यमा अदालत सहमत नै देखिएको। तर प्रतिवादी उक्त कार्य उद्योगको तयारी सम्मको मात्र कार्य भनी सफाई दिएकोमा कुनै अपराधको सम्बन्धमा  तयारी के हो उद्योग के हो भन्ने सम्बन्धमा कर्ताले मनसाय बनाई सो अनुसारको तयारी पनि गरेको अवस्थामा कुनै कारणले इच्छित परिणाम प्राप्त हुन नसकेको अवस्थालाई अपराधको उद्योग भनिन्छ। उद्योग तयारी पछिको चरण हो, जसमा कसुरदारले बनाएको योजना पुरा गर्नको लागि भौतिक र मानसिक रुपमा अन्तिम प्रयास गरेको हुन्छ। कुनै विशेष कारणबस उसले सोचेको पूर्ण परीणामको अवस्थामा पुगेको हुदैन। यो कार्य तयारी भन्दा ठूलो हुन्छ तर वास्तवमा कसुर पुरा भएको हुदैन कसुर पुरा गर्न आवश्यक पर्ने सबै गुणहरु त्यसमा समावेश भएका हुन्छन। “उद्योग ठहर्नको लागि” अभियुक्तले तयारी गरेर मात्र पुग्दैन तयारी भन्दा अघि उसले पूर्ण अपराध घटाउन प्रयासहरु गरेको हुन्छ भनी सर्वोच्च अदालतले ने.का.प.२०७६ अंक ९ निर्णय नं. १०३५३ मा व्याख्या गरेको देखिएको। 
(ख) प्रतिवादीको उक्त कार्य तयारी सम्मको भनी सार्वजनिक सम्पत्ति हिनामिना उद्योगको चरणमा नै प्रवेश नगरेको भन्ने निर्णयाधार र उक्त कसुरसँग सम्बन्धित प्रमाण हेर्दा उक्त फैसला मिलेको देखिदैन। नेपाल सरकारले विभिन्न निकायमा विनियोजित रकम खर्च गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली २०७७ को नियम ७ को उपनियम (२) अनुसार कार्यालय प्रमुख वा लेखा शाखा प्रमुख वा निजले तोकेको लेखा समूहको कर्मचारीले संचालन गर्नु पर्ने अवस्था रहेको। यी प्रतिवादी उच्च अदालत दिपायलको लेखा उत्तरदायी अधिकारी भई प्रतिवादी रजिष्ट्रारको रुपमा कार्यरत रहेको। प्रतिवादी रण बहादुर कटवालले आफ्नो श्रीमतीको नाममा रहेको वाणिज्य बैंकमा जम्मा गरी दिनु भनी मिति २०७६।१२।२६ मा निजकै श्रीमती परी कार्कीको नामबाट दिएको पारीश्रमिक भुक्तानी लागि परेको निवेदन, निजले लेखा शाखालाई आवश्यक कारवाही गर्नु भनी तोक लगाएको देखिएको। उक्त कार्यको बारेमा प्रतिवादी रण बहादुर कटवालले अनुसन्धानमा वयान गर्दा उच्च अदालत दिपायलबाट भएको फैसला तयार गर्नको लागि करारमा कम्प्यूटरमा राख्‍नु परेको भनी निजले आफ्नो वचाउको लागि अनुसन्धानमा वयान गरेको। प्रतिवादीले अदालतमा फैसला तयार गर्नका लागि वास्तविक कर्मचारीको आवश्यक परेको भए अदालतबाट सूचना प्रकाशित गर्न सकिनेमा सो गरेको देखिदैन। साथै उक्त कार्य सम्पन्न गर्नको लागि कुनै न कुनै कर्मचारी आवश्यक पर्नेमा आफ्नो श्रीमतीको वास्तविक खाता नम्बरसमेत उल्लेख गरेको तर खर्च लेख्‍ने कर्मचारी लेखा अधिकृतले करारमा काम गर्ने भनिएका कर्मचारीको हाजिर नभएका कारण मात्रै भुक्तानीका लागि गोश्वरा भौचर र भुक्तानी आदेश तयार गर्न नमानेकाले प्रतिवादीको श्रीमतीको बैंक खातामा भुक्तानी दिन पाएको देखिदैन। निजले गरेको कार्यलाई तयारी मात्रै भनी गरेको फैसला त्रुटिपूर्ण  रहेको। 
(ग) प्रतिवादीलाई सार्वजनिक सम्पत्ति हिनामिना गर्ने कार्यको निकटस्थ कार्य नदेखिएको भनी सम्पत्ति हानि नोक्सानी गर्ने गराउने उद्योगको कसुर नहुने भनी गरेको फैसला त्रुटिपूर्ण रहेको। कुनै पनि अपराधको निकटस्थ पुगेको हो वा होइन भन्ने तथ्य उक्त अपराध कस्तो प्रकृतिको हो, त्यो अपराधिक कार्य कसरी पुरा हुन सक्दछ त्यसको आधारमा हेर्नु पर्दछ। प्रतिवादी रण बहादुर कटवालले आफैले श्रीमतीको नाम उल्लेख गरी उच्च अदालतमा निवेदन दिएको र निवेदनमा आवश्यक कारवाही गर्नु भनी तोक आदेश समेत लगाई लेखा शाखामा पुगेको, अदालतमा कार्यरत लेखा गर्ने कर्मचारी वा लेखा हेर्ने अधिकारी लेखा प्रमुखले भुक्तानी प्रक्रियाको लागि गोश्वरा भौचर र भुक्तानी आदेश मात्र वनाउन बाँकी रहेको अवस्था देखिएको। प्रतिवादी रण बहादुर कटवालले आफ्नै श्रीमतीको नाममा रहेको वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्ने उद्देश्यले खाता नं. र आफ्नै श्रीमतीको नाममा हलुका सवारी चालकको रुपमा पारिश्रमिक लिन खोजी तोक लगाएको अवस्थामा पुगी सकेको कार्यलाई अपराधको निकटस्थ नपुगेको भनी तथ्य भन्दा बाहिर गई आत्मगत आधारमा गरेको फैसला त्रुटिपूर्ण रहेको।
 
प्रवक्ता
नरहरि घिमिरे

Notice of appeal Notice of appeal APPEAL CHARGE APPEAL CHARGE
  

Other Press Release

प्रतिवादी रण बहादुर कटवाल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/11
प्रतिवादी रमेश कुमार बस्नेतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/10
प्रतिवादी ईश्वरचन्द्र मरहट्ठा, रामकुमार श्रेष्ठसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/05
प्रतिवादी राजकुमार गोइतसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/03
प्रतिवादी ओमकार प्रसाद न्यौपानेसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/12/03