प्रतिवादीहरु राम सुरत पाल, दिल बहादुर बोहरासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०६।१३ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटः-
प्रतिवादी साविक कृषि ज्ञान केन्द्र, हुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख राम सुरत पाल (गडरिया) लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कसूरमा बिगो रु.११,२६,५२८/८९ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा समेत ऐ. ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन,
प्रतिवादी साविक कृषि ज्ञान केन्द्र, हुम्लाका तत्कालीन सव-ईन्जिनियर दिल बहादुर बोहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिम कसूरमा बिगो रु. ११,२६,५२८/८९ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी उक्त बिगो असुल उपर हुन तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा समेत ऐ. ऐनको दफा १९ को उपदफा (२)  बमोजिम सजाय हुन,
प्रतिवादीहरु सृजनशील कृषि सहकारी संस्था लि., सर्केगाड, हुम्लाका तत्कालीन अध्यक्ष  प्रयाग लाल बुढा, सचिव नन्द बहादुर रोकाया, कोषाध्यक्ष रामशिला रोकाया र सदस्य प्रेम बहादुर बुढालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसूर भएको हुदाँ निज प्रतिवादीहरुलाई बिगो रु. ११,२६,५२८/८९ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा
विशेष अदालतको मिति २०८०/११/२४ को फैसलाबाट निम्न आधारमा सफाई दिएको:-
• विशेष अदालत ऐन,२०५९ को दफा ७ (क) बमोजिम बुझिएका साक्षीहरुले गरेको बकपत्र समेतबाट प्रतिवादीहरु उपरको आरोपदावी शंकारहित तवरले पुष्टि भएको नदेखिएको। 
• काम सम्पन्न भएको तीन वर्ष भन्दा बढी समयपछि स्थलगत नापजाँच गरेको देखिदा निर्माण हुँदाको अबस्थामा जस्तै निर्माण भएको संरचना नहुन पनि सक्ने हुदा विश्वासनीय एवम् भरपर्दो प्रमाणको अभावमा आरोपित व्यक्तिलाई कसूरदार ठहर गर्न नमिल्ने।
• स्थलगत मुचुल्कामा निर्मित संरचनाको उल्लेख गरिएको नापको परिमाणलाई समर्थन नहुने गरी स्थलगत मुचुल्कामा रहेका व्यक्तिले बकपत्र गरेको ।
• सम्वन्धित प्रतिवेदकहरुको बकपत्रबाट कुलोको मुहानदेखि नाप गरेको भन्ने नदेखिएको तथा स्थलगत नापजाँच गर्दा निर्माण भएको संरचनाको वास्तविक नाप उल्लेख गरेको भन्ने नदेखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०६।१३ मा पुनरावेदन गरिएको छः-
देहाय:
• साविक कृषि ज्ञान केन्द्र, हुम्लाको आ.व. २०७५/७६ को सहकारी नमूना गाउँ स्थापना तथा सन्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोला देखि बल्देकांध सिंचाई कुलो निर्माण र जग्गा घेरबारको काम समेत स्थलगत नापजाँच गर्दा हाल जिवीत रहेका १०४ वटा केराका बोटहरु, जग्गा घेरबारको लम्बाई लगभग ११४.७० मिटर, चौडाई ०.५४ मिटर, उचाई १.१५ मिटर रहेको तथा सिंचाई कुलोको लम्बाईमा पि.सि.सि. गरेको २११.३ मिटर, माटो कटिङ्ग मात्र गरेको १०० मिटर, ५९.४ मिटर माटो कटिङ्ग गरेको कुलो स्थानीय ब्यक्तिले घर निर्माण गरेकोले नदेखिएको, HDPE पाईप ११० एम.एम.को १० मिटर, HDPE पाईप ९० एम.एम.को १३ मिटर, १ वटा पि. सि. सि. गरेको डिष्ट्रिव्युसन च्याम्बर, ड्राई स्टोन वाल समेत स्थलमा भएको व्यहोरा ठिक साँचो हो भन्ने समेत व्यहोरा उल्लेख भएको प्राविधिक टोलीले सृजनशील कृषि सहकारी संस्था लि. का अध्यक्ष समेतको रोहवरमा उक्त योजनाको स्थलगत नापजाँच गरी तयार गरिएको स्थलगत मुचूल्काबाट देखिएको।
• साविक कृषि ज्ञान केन्द्र, हुम्लाको आ.व. २०७५/७६ को सहकारी नमूना गाउँ स्थापना तथा सन्चालन कार्यक्रम अन्तर्गतको उमान्दे खोला देखि बल्देकांध सिंचाई कुलो निर्माण र जग्गा घेरबारको कामसमेत स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदनबाट उक्त सिंचाई तथा फार्म घेरबार योजनाको मूल्यांकन गर्दा रु.११,२६,५२८/८९ बराबरको रकम कृषि ज्ञान केन्द्र, सिमकोट, हुम्लाबाट बढी रकम भुक्तानी भएको भन्ने समेत व्यहोराको स्थलगत नापजाँच तथा प्राविधिक प्रतिवेदन समेतबाट निज प्रतिवादीहरुले मिलेमतो गरी यथार्थ कार्य भन्दा बढी परिमाणको काम भएको भनी झुट्टा नापी किताब, मूल्यांकन, बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी बढी भुक्तानी लिए दिएको मिसिल संलग्न सबूद प्रमाणहरुवाट पुष्टि भईरहेकोमा मिसिल संलग्न तथ्य प्रमाणहरुको न्यायोचित मुल्याङ्कन नगरी सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको।
• प्रतिवेदकले मौकाको प्रतिवेदन वेहोरालाई समर्थन गरी अदालतमा उपस्थित भै बकपत्र गरी दिएको। बकपत्रको क्रममा प्रतिवेदक सुनिल कुमार चौधरीले मिति २०७९।०३।१३ को स्थलगत मुचुल्का र २०७९।०३।२० को स्थलगत प्रतिवेदन र मिति २०७९।०३।२१ को प्राविधिक प्रतिवेदन वेहोरा र सहिछाप मेरो हो हामीहरु त्यहाँ निरीक्षण गर्न जाँदा घेराबार, कूलो र केराघारी थियो।सम्झौता अनुसार काम भएको थियो थिएन भन्ने तत्काल निरीक्षणबाट नै एकिन हुने कुरो नभएकाले पछि सो कामको मूल्याङ्कन गरेपछि सम्झौता बमोजिम काम नभई बढी भुक्तानी भएको देखिएको हो भनी स्पष्ट खुलाई बकपत्र गरी दिएबाट प्रतिवादीहरुले भ्रष्टाचारजन्य कसूर गरेको पुष्टि भईरहेकोमा बुझिएका साक्षीहरुले गरेको बकपत्र समेतबाट प्रतिवादीहरु उपरको आरोपदावी शंकारहित तवरले पुष्टि भएको नदेखिएको भनी प्रमाण ऐन,२०३१ को दफा १८ को कानूनी व्यवस्था एवं मिसिल संलग्न तथ्य प्रमाणलाई अनदेखा गरी भएको फैसला त्रुटिपूर्ण भै बदरभागी रहेको।
(नोट: थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)                                                                


सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

 

Download Download
  

Other Press Release

प्रतिवादी भावना महत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/18
प्रतिवादीहरु टकदत्त प्याकुरेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी पद्म विनोद पोखरेल रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी नगरप्रमुख धर्मेन्द्र प्रसाद पटेलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाईसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01
प्रतिवादी शिवराज सेढाई र ओमशङ्कर प्रसाद रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
2024/10/01