प्रतिवादीहरु कृपादेवी पटेल, राजेश्वर प्रसाद चौरसियासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८१।०५।२८ गते ।
-------------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:-
• प्रतिवादी कृपादेवी पटेलले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिंदा निज उपर दस्तुरको बहानामा राष्ट्रसेवकलाई घुस रिसवत वापत दिएको रकम रु. ४¸००¸०००।- र नक्कली तथा गलत कागजातहरुबाट विद्यालयमा कार्यरत रही तलव भत्ता वुझिलिइ नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको रकम रु. १¸८५¸३६०।- समेत गरी विगो रु. ५¸८५¸३६०।- (पाँच लाख पचासी हजार तीन सय साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (३) र दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुसरिसवत दिएको रकम ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी गरेको बिगो रकम ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन;
• प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ द्वारा परिभाषित कसुर समेत गरेको देखिँदा निज उपर कृपादेवी पटेलबाट दस्तुरको बहानामा गैरकानूनी लाभ घुस रिसवत लिएको रकम रु. ४¸००¸०००।- र आफैंले नक्कली तथा गलत कागजातहरुका आधारमा विद्यालयमा कामकाजमा लगाएका तथा सिफारिस गरेका अरविन्द गिरीलाई तलव भत्ता वापत भुक्तानी दिलाई आफ्नो पदको दुरुपयोग गरी नेपाल सरकारलाई हानि नोक्सानी पुर्याएको रकम रु. १¸८५¸३६०।- समेत गरी विगो रु. ५¸८५¸३६०।-  (पाँच लाख पचासी हजार तीन सय साठी) कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ३ को उपदफा (१) र दफा १७ मा उल्लेख भए बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी घुस/रिसवत लिएको रकम ऐ. को दफा ३ को उपदफा (१) बमोजिम असूल गरी जफत हुन र नेपाल सरकारलाई हानि नोक्सानी पुगेको विगो रकम ऐ. ऐनको दफा १७ बमोजिम असूल उपर हुन; र
• प्रतिवादी रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवले भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा १७ बमोजिमको कसुरमा मतियार हुने कार्य कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरु रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख बमोजिम रु. १¸८५¸३६०।- (एक लाख पचासी हजार तीन सय साठी) विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको ।
विशेष अदालतको मिति २०८०/०९/२२ को फैसलाबाट निम्न आधारहरू लिई उक्त आरोपमा आंशिक कसूर ठहर भएकोः-
• प्रतिवादी कृपादेवी पटेलको अनुसन्धान अधिकारी समक्षको बयानमा रु.४,००,०००।- दिएको तथ्य उल्लेख भएको देखिए पनि निजले यस अदालतमा बयान गर्दा प्रतिवादी राजेश्वर प्रसाद चौरसियालाई कुनै रकम दिएको भन्ने तथ्य ईन्कारी गरी बयान गरेकोले अन्य कुनै तथ्यगत् आधारमा पनि यो दाबी पुष्टि हुन नआएको हुँदा घुस रिसवत् लेनदेन भएको तथ्य पुष्टि हुन आएन। 
• प्रतिवादी महेश यादव भन्ने महेश प्रसाद यादवका हकमा निज उपर कर्मचारीसँगको मिलेमतोमा गलत तथा नक्कली कागजातहरूका आधारमा विभिन्न व्यक्तिहरूलाई शिक्षकको रूपमा तलव भत्तासमेत भुक्तानी दिलाउन शिक्षा अधिकृत (विद्यालय निरीक्षक) प्रतिवादी राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको भन्ने आरोप रहेकोमा यस मुद्दामा प्रसँग उठाईएको दुवै विद्यालयसँग निज सम्वन्धित भएको देखिंदैन। प्रतिवादी कृपादेवी पटेल स्वयंको अनुसन्धान अधिकारी तथा यस अदालत समक्षको बयानबाट पनि निजको संलग्नता खुल्दैन। 
• प्रतिवादी रामविलास प्रसाद पटेलका हकमा प्रतिवादी कृपादेवी पटेल नक्कली कार्यरत रहेको वा काज सरुवा भएको दुवै विद्यालयमा निजको कुनै प्रकारको संलग्नता देखिंदैन प्रतिवादी कृपादेवी पटेल स्वयंको अनुसन्धान अधिकारी तथा यस अदालत समक्षको 'बयानबाट पनि निजको संलग्नता खुल्दैन। 
 
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०५।२७ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) प्रतिवादी कृपादेवी पटेलले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा जगरनाथपुर गाउँपालिकाका शिक्षा प्रमुख (विद्यालय निरीक्षक) राजेश्वर प्रसाद चौरसियाले दस्तुरवापत रु. ४¸००¸०००।-  लिएर निजले श्री दिव्य कन्या मा.वि. विरन्चिवर्वाबाट श्री ने.रा.प्रा.वि. दशौता जानकीटोलामा काजको पत्र दिई हाजिर गराएको हो भनी वयान गरेको देखिएबाट प्रमाण ऐन, २०३१ को दफा ९ बमोजिम प्रतिवादी कृपादेवी पटेलले अनुसन्धानको बयानमा व्यक्त गरेको कुरालाई प्रमाणमा लिई आरोपदावी बमोजिम प्रतिवादीहरु राजेश्वर प्रसाद चौरासिया र कृपादेवी पटेलले घुस/रिसवत लिएको/दिएको रकम रु.४,००,०००।-(चार लाख) कायम गरी सजाय गर्नु पर्नेमा अनुसन्धान अधिकारी समक्ष गरेको बयानलाई अदालतले प्रमाणमा नलिई गरेको फैसला सो हदसम्म त्रुटीपुर्ण रहेको।
ख) अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित भएको अवस्थामा प्रतिवादीहरु कृपादेवी पटेल र राजेश्वर प्रसाद चौरसियाले घुस/रिसवत नलिए/नदिएको कुराको प्रमाण पुर्‍याउने भार निजहरुमा निहित हुनेमा निजहरुले घुस/रिसवत नलिएको/नदिएको कुनै प्रमाण पेश गर्न नसकेको देखिंदा आरोपपत्र मागदावीमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।  
ग) प्रतिवादी राजेश्वर प्रसाद चौरसियाले अनुसन्धान अघिकारी समक्ष बयान गर्दा कृपादेवी पटेल लगायतका व्यक्ति र कागजातहरु समेत लिइ आउने र आफुलाई सहयोग वापत रकम उपलव्ध गराउने व्यक्ति श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सेढ्वा विर्ता पर्साका भु.पु.प्रधानाध्यापक महेश यादव र श्री राम प्राथमिक विद्यालय पिपरडाढीका प्रधानाध्यापक रामबेलास प्रसाद पटेल हुन् भनी खुलाईदिएको देखिएकोले विभिन्न व्यक्तिहरु लिइ गइ राजेश्वर प्रसाद चौरसियाबाट नक्कली तथा गलत कागजातहरु उपलव्ध गराउनमा सघाउ पुर्याउने कार्य गरी सोही नक्कली तथा गलत कागजातहरुका आधारमा आफु अनुकुलका व्यक्तिहरुले समेत तलव भत्ता भुक्तानी प्राप्त गर्ने गरी निकासा पठाउन तलव भत्ता निकासा सिफारिस गरी गराई प्रतिवादीहरु रामवेलास प्रसाद पटेल र महेश प्रसाद यादवले राजेश्वर प्रसाद चौरसियाको सहयोगी मतियारको भूमिकामा निर्वाह गरेको पुष्टी भै रहेको अवस्थामा प्रमाण ऐन २०३१ को दफा ९ तथा अभियोग लागेको व्यक्तिले सो अभियोगबाट उन्मुक्ति पाउन वा सजायमा कमी वा छूट पाउने जिकीर लिएमा सो कुराको प्रमाण पुर्‍याउने भार पनि निज उपर नै हुन्छ  भनी सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको मुल्याङ्कन नै नगरी सफाई दिने गरी भएको फैसला त्रुटीपुर्ण रहेको।
(नोटः थप जानकारीको लागि डाउनलोडमा थिच्नुहोला)
 
प्रवक्ता
नरहरि घिमिरे

Download Download