विशेष अदालतबाट भएका फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको विषयमा मिति २०७९/०७/२२ गते जारी गरिएको प्रेस विज्ञप्तिका सम्बन्धमा थप स्पष्ट पारिएको।


प्रेस विज्ञप्तिः २०७९/०७/२४ गते

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा नेपालको संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लगायत प्रचलित अन्य कानूनबमोजिम अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा संलग्न व्यक्ति उपर कानूनबमोजिम अधिकारप्राप्त अदालतमा मुद्दा दायर गर्दै आएको छ। 

यसरी मुद्दा दायर भई बिशेष अदालतबाट प्राप्त फैसला उपर चित्त नबुझेमा बिशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम आयोगले सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गर्दै आएको सर्वविदितै छ । यसै सन्दर्भमा चालू आर्थिक बर्षमा हालसम्म सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरुको बारेमा पुनरावेदन गर्दा लिइएका आधारहरुको सम्बन्धमा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको कार्यलाई सो विपरित सार्वजनिक निकायहरुबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट भएको सम्प्रेषणतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। अदालतको निर्णयको सम्मान गर्दै आयोग न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको, सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न नसकिने र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति सदाझैँ अविचलित रहने हुँदा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रुपमा बुझिदिनुहुन सम्बन्धित सबैमा आयोग हार्दिक आग्रह गर्दछ। 

प्रवक्ता
श्याम प्रसाद भण्डारी

Download Download
  

Other Press Release