उदयपुरमा भ्रष्‍टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न


मिति २०७६।०६।१३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको आयोजनामा  "भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन" सम्बन्धी १(एक) दिने अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा सम्पन्‍न भएको छ । जिल्ला समन्वय समिति उदयपुरका उप-प्रमुख श्री गंगा राईको स्वागत मन्तव्यसँगै स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुलाई लक्षित गरी सञ्‍चालित उक्त कार्यक्रमको अध्यक्षता आयोगको कार्यालय बर्दिवासका प्रमुख (सहसचिव) श्री नारायण प्रसाद सापकोटाज्यूले गर्नुभएको थियो भने उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति उदयपुरका प्रमुख श्री खड्गबहादुर परियार (दर्नाल), चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, प्रमुख जिल्ला अधिकारी श्री ध्रुव बहादुर खड्का, आयोगको कार्यालय बर्दिवासका उप-सचिव हरिप्रसाद घिमिरे, जिल्ला स्थित अन्य स्थानीय तहका प्रमुख तथा उप-प्रमुखहरु, वडाअध्यक्षहरु तथा अन्य सरोकारवालाहरु समेत गरी ८५ (पचासी) जना सहभागिहरुको उपस्थिती रहेको थियो ।
आयोगको प्रवर्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगको कार्यालय बर्दिवासका प्रमुखले कार्यपत्र प्रस्तुत गर्नुहुँदै सुशासनको पक्षमा एवम् भ्रष्‍टाचारको विरुद्धमा सवै सरोकारवालाहरुको सक्रिय तथा इमान्दार प्रतिवद्धता नै देशमा सुशासन स्थापनाको लागि आवश्यक रहेको कुरा बताउनुभयो । कार्यपत्र प्रस्तुती पश्‍चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ भ्रष्‍टाचारका गतिविधिहरु र आयोगको काम कारवाहीको बारेमा जिज्ञासा राख्‍नुभएको थियो भने प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारीले मन्तव्य राख्दै भ्रष्‍टाचार विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउनुभएको थियो । अन्तमा कार्यक्रमका अध्यक्ष तथा आयोगको कार्यालय बर्दिवासका कार्यालय प्रमुख (सह-सचिव) श्री नारायण प्रसाद सापकोटाले मन्तव्यका क्रममा आयोगको कार्यक्षेत्र भित्रका अनियमितता र भ्रष्‍टाचारजन्य गतिविधिमा संलग्न आयोगभित्र वा बाहिर जहाँसुकै तथा जुनसुकै ओहोदामा रहेका पदाधिकारी तथा कर्मचारीलाई कानुनी कारवाहीमा ल्याउने कुरामा आयोग कटिवद्ध रहेको कुरा बताउनुभयो । मन्तव्यकै क्रममा उहाँले प्रवर्धनात्मक, निरोधात्मक र दण्डात्मक गरी तीन खम्बे रणनीतिमा जोड दिँदै त्यसको कार्यान्वयनमा आयोग लागेको बताउँदै अख्तियारले भ्रष्‍टाचारलाई सानो ठूलो भन्दापनि त्यसले पार्ने असर र प्रभावलाई हेरेर कसैलाई उन्मुक्ति नदिने गरी कार्य गरिरहेको बताउनुभयो ।