नवनियुक्त माननीय प्रमुख आयुक्तज्यू र आयुक्तज्यूहरुको पदभार ग्रहण सम्पन्न ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।२१ गते ।
-------------------------------------

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईज्यू, माननीय आयुक्त श्री किशोर कुमार सिलवालज्यू र माननीय आयुक्त श्री जय बहादुर चन्दज्यूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पदभार ग्रहण गर्नुभयो। 

नवनियुक्त माननीय प्रमुख आयुक्त र माननीय आयुक्तज्यूहरूले पदभार ग्रहण गर्नु पूर्व वहाँहरूलाई आयोग परिसरमा आयोगका श्रीमान सचिव सुरेश अधिकारीज्यूको नेतृत्वमा कर्मचारीहरुबाट पुष्पगुच्छासहित स्वागत गरियो।

लगत्तै आयोगमा बहालवाला माननीय आयुक्त डा. सावित्री थापा गुरुङज्यूको समेत समुपस्थितिमा आयोजित एक समारोहकावीच नवनियुक्त माननीय प्रमुख आयुक्त र माननीय आयुक्तज्यूहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा निर्देशन सहितको आफ्नो मन्तब्य दिँदै नवनियुक्त माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईज्यूले आयोगको साँखलाई अझ उचाईमा पुर्याउन चुनौती पार गर्दै साझा जिम्मेवारी वहन गर्नुपर्ने कुरामा जोड दिनुभयो।उहाँले आयोगका सम्पूर्ण पदाधिकारी र कर्मचारीहरूले आफुलाई गरेको स्वागत प्रति धन्यवाद दिंदै मुलुक र जनताप्रति इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गर्ने बताउनुभयो । विगतमा आयोग तथा सार्वजनिक प्रशासनअन्तर्गत बिभिन्न निकायहरूमा कार्य गर्दाको अनुभवबाट नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा ब्यक्त गर्नुभयो।आम नेपाली जनता र नागरिक समाजको आयोग प्रतिको आकांक्षा, विश्वास र भरोसा उच्च रहेकोले आगामी दिनमा उक्त चाहना एवं भावना बमोजिम काम गर्ने चुनौती आयोगमा रहेको बताउनुभयो। 

सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना साकार पार्न आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने, आगामी दिनमा आयोगमा कार्यरत जनशक्तिको क्षमता विकास र उत्प्रेरणा अभिवृद्धि गर्ने तथा आयोगलाई नँया उचाईमा पुर्याउने विषयमा आफू सँधै क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दै यस अभियानमा सबै सरोकारवालाहरुको साथ सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभयो।

कार्यक्रमकै क्रममा  आयोगका आयुक्त माननीय डा. सावित्री थापा गुरुङज्यूले नवनियुक्त माननीय प्रमुख आयुक्तज्यू र माननीय आयुक्तज्यूहरूलाई आयोगमा स्वागत गर्दै आयोग पूर्ण समावेशी भएको र आगामी दिनमा आयोगआफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो। उहाँले नँया नेतृत्वलाई आगामी दिनमा सफलता मिलोस र आयोग अझै सशक्त बनोस भनि शुभकामना समेत व्यक्त गर्नुभयो।

नवनियुक्त माननीय आयुक्त श्री जय बहादुर चन्दज्यूले राज्यको लक्ष्य भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणमा team-spirit का साथ काम गर्नुपर्ने कुरामा जोड दिनुभयो। राज्यले संवैधानिक आयोगको पनि जिम्मेवार पदमा विश्वास गरी नियुक्त गर्दा आफु कृतज्ञ भएको कुरा व्यक्त गर्नुभयो। साथै उहाँले आयुक्तको रुपमा नियुक्ति हुँदा शुभकामना दिने शुभचिन्तक र शुभेक्षुक प्रति कृतज्ञता ब्यक्त गर्नुभयो। भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने पवित्र कार्यको सहयात्री हुन पाउँदा गौरवान्वित महशुस गरेको कुरा समेत बताउनुभयो।

नवनियुक्त माननीय आयुक्त श्री किशोर कुमार शिलवालज्यूले आयुक्तको रुपमा आफ्नो भूमिका समन्वयकारी रहने बताउनुभयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई Traditional Crime भन्दा फरक तरिकाले हेर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताउँदै प्राप्त संवैधानिक भूमिकामा प्रतिवद्ध रहेको कुरा  समेत बताउनुभयो। कार्यक्रममा बोल्दै नवनियुक्त माननीय आयुक्तज्यूले आफुले विगतमा न्याय सम्पादन क्षेत्रमा प्राप्त गरेको अनुभवलाई आयोगको काम कारवाहीमा सदुपयोग गर्दै आफुलाई तोकिएको महत्वपूर्ण जिम्मेवारी दृढताका साथ पूरा गर्ने बताउनुभयो।
उक्त कार्यक्रममा आयोगका श्रीमान् सचिव सुरेश अधिकारीज्यूले आयोगको संक्षिप्त परिचय सहित आयोगको कार्यक्षेत्र, संरचना, जनशक्ति, वर्तमान चुनौती र भविष्यको जिम्मेवारीको वारेमा प्रकाश पार्नुभयो। उँहाले भ्रष्टाचार नियन्त्रण र  सदाचारयुक्त समाज निर्माण साथै विकास व्यवस्थापन, भूमि व्यवस्थापन, प्राकृतिक श्रोत साधन व्यवस्थापन लगायतका क्षेत्रहरुमा थप कार्य अगाडी बढाउन आयोगको पूर्णताले आगामी दिनमा कार्यसम्पादन उच्च बनाउन सहयोग पुग्ने कुरा बताउनुभयो। आयोगको सुशासन स्थापना गर्ने उद्देश्यमा सरकारको पूर्ण साथ र समर्थन रहेको, सम्बन्धित मन्त्रालय र निकायहरुबाट पनि सहयोग रहेको र उत्साहित एवं उच्च मनोवलयुक्त जनशक्ति रहेको वहाँले व्यक्त गर्नुभयो।

आजै अपरान्ह आयोगमा आयोजित छुट्टै कार्यक्रममा आयुक्त पदबाट अवकास लिनुभएका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूलाई नवनियुक्त प्रमुख आयुक्त एवं आयुक्तज्यूहरुको समुपस्थितिमा वहाँले आयोगमा रहँदा पुर्‍याउनु भएको योगदानका लागि धन्यवादसहित हार्दिक विदाई गरियो।

 

नारायण प्रसाद रिसाल
प्रवक्ता

Download
  

Other Press Release