गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीउपर बिगो रु. ८,००,०००।– कायम गरी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।१०।१४ गते ।
---------------------------------------------------
गुठी संस्थान त्रिपुरेश्वर, काठमाडौंका प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीले जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नको लागि घुस/रिसवत लिएको तथा फिर्तासमेत गरेको भन्ने सूचना एवं प्रमाणको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निजहरु नारायण चौधरी र जयप्रसाद रेग्मीलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा गुठी संस्थानका प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीको प्रत्यक्ष योजना र मिलेमतोमा गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. ८,००,०००।– (आठ लाख) घुस/रिसवत लिएको र उक्त रकम निजहरुले सेवाग्राही स्वयंलाई एवं निजको बैंक खातामा जम्मा गरी फिर्तासमेत गरेको स-प्रमाण पुष्टि हुन आएको देखिएकोले निजहरु प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले घुस/रिसवत लिएको रकम बिगो रु. ८,००,०००।– (आठ लाख) कायम गरी निजहरु नारायण चौधरी र जयप्रसाद रेग्मीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम जरिवाना र कैद सजाय हुनका साथै प्रशासक नारायण चौधरी नेपाल सरकारका राजपत्राङ्कित बिशिष्ट श्रेणी सरहका सार्वजनिक संस्थानका प्रमुख रहेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायसमेत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download