भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।२३ गते ।
-------------------------------------------

आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१९ ‘भ्रष्टाचार बिरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य’ भन्ने मूलनाराका साथ मनाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सभाहलमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रूपमा माननीय उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्वोधन गर्नुभएको थियो भने उक्त कार्यक्रमको अध्यक्षता आयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेले गर्नुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि माननीय उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आयोगको आगामी ५ वर्षे संस्थागत रणनीति २०७६/७७–२०८०/८१ समेत विमोचन गर्नुभयो । उक्त अवसरमा उहाँले आयोगको कामको प्रशंसा गर्दै भ्रष्टाचार नियन्त्रण तथा रोकथाम र सचेतना अभिवृद्धिमा आयोगले उल्लेख्य कार्य गरेको महसुस सरकारलाई भएको बताउनुभयो । मन्तव्यकै क्रममा उहाँले कुनै पनि तह वा पदका राजनीतिक व्यक्तित्वहरु भ्रष्टाचारजन्य कार्यमा संलग्न भएमा राजनीतिक नेतृत्वले कुनै पनि किसिमको संरक्षण नगर्ने भन्दै राजनीतिको संरक्षणमा हुने गरेको भनिएको भ्रष्टाचारले कुनै पनि छुट नपाउने सरकारको स्पष्ट धारणा रहेको जानकारी गराउनुभयो । साथै उहाँले व्यक्ति, घर, परिबार र समाजबाटै असल संस्कारको विकास गर्न सके मात्र सुशासनयुक्त समाज निर्माण हुने कुरामा जोड दिनुभयो । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय महासन्धि २००३ प्रति नेपाल सरकारले प्रतिवद्धता जनाई महासन्धि कार्यन्वयनका लागि नीतिगत तथा संस्थागत व्यवस्थापन गर्दै आएको बताउँदै सुशासन प्रवर्द्धनमा सरकारी, गैरसरकारी, नीतिगत क्षेत्र र नागरिक समाजको समन्वयात्मक पहलबाट मात्रै भ्रष्टाचार नियन्त्रण भई यस्ता दिवसहरु मनाउनुको औचित्य सार्थक हुने बताउनुभयो । 

कार्यक्रमका अध्यक्ष माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरेले प्रत्येक वर्ष डिसेम्बर ९ का दिन मनाइने यस दिवसलाई भ्रष्टाचार बिरुद्धको ऊर्जा नवीकरण गर्ने दिनको संज्ञा दिँदै आयोगको २९ वर्षको इतिहासमा अघिल्लो वर्षलाई मुद्दा दायर र अदालतको फैसलामा आयोगले पाएको सफलताको आधारमा सफलतम वर्षका रूपमा हेरिएको जानकारी दिनुभयो । सोही कार्यक्रममा उहाँले आयोगबाट सञ्चालित ‘स्टिङ अपरेशन’ र -यापिड टाक्स फोर्स’ को प्रारम्भिक परिणामबाट मुलुकको प्रशासनको आन्तरिक अवस्था सन्तोषजनक नरहेको बताउनु भयो । साथै उहाँले आयोगले भ्रष्टाचारलाई साना ठूला नभनी मूल्यको आधारमा जुनसुकै तह वा स्तरको भ्रष्टाचारलाई कानूनी दायरामा ल्याइने बताउनुभयो । स्थानीय तहमा भएको वा हुनसक्ने अनियमिताका सम्बन्धमा आयोगले हालै ६१ बुँदे सुझाव दिएको व्यहोरा स्मरण गर्दै यसमा सबै पक्षको सक्रिय एवं समन्वयात्मक सहयोग रहनुपर्ने बताउनुभयो । 

सोही कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले भ्रष्टाचारमुक्त समृद्ध राष्ट्र निर्माणमा प्रतिवद्धता जनाउनुभयो । उहाँले सुशासन, विकास र सभ्य समाज निर्माणमा सहयोग गर्नेलाई पुरस्कृत र भ्रष्टाचार तथा अनियमितता गर्ने दन्डित हुने प्रणाली स्थापित गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । 

उक्त कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचार अनुभूति सूचकांकमा नेपालको स्थान अन्य देशहरुको भन्दा कमजोर रहेको तथ्य स्मरण गराउँदै प्रतिबद्धतालाई व्यवहारमा उतार्न सके मात्र मुलुकमा सुशासन स्थापना हुन सक्ने बताउनुभयो । 

सोही अवसरमा स्वागत मन्तव्य राख्ने क्रममा आयोगका सचिव महेश्वर न्यौपानेले नेपाल संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र र भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय पक्ष राष्ट्रसमेत भएकोले नेपालको दिगो विकास लक्ष्यको परिमाणात्मक लक्ष्यहरु मध्ये भ्रष्टाचार नियन्त्रण पनि एक रहेकाले राज्यका सम्पूर्ण अवयवहरुको भ्रष्टाचार नियन्त्रणमा सक्रिय सहभागिता हुनुपर्ने बताउनुभयो । मुलुकमा खस्कँदो प्रशासनिक संस्कारलाई सुदृढ गरी जनतामा प्रभावकारी सार्वजनिक सेवा प्रभाव गर्न नसक्दा राज्यको सार्थकतामा नै प्रश्न उठ्न सक्ने बताउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापनामा सम्पूर्ण सरोकारवाला पक्षहरू एकजुट हुनुपर्ने बताउनुभयो । 

कार्यक्रममा लोक सेवा आयोगका माननीय अध्यक्ष, माननीय प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष, राष्ट्रिय मधेसी आयोगका माननीय अध्यक्ष, माननीय महान्यायाधिवक्ता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्तहरु, संघीय संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्टार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, चिकित्सा शिक्षा आयोगका अध्यक्ष, नेपाल सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, सार्वजनिक, संघसंस्था तथा प्रतिष्ठानका प्रमुखहरु र भ्रष्टाचार बिरुद्ध क्रियाशील संघ संस्थाका प्रमुखहरु, विभिन्न सञ्चार माध्यमका प्रमुखहरु तथा राष्ट्रसेवक कर्मचारीहरुलगायतको उपस्थिति थियो ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release