नवलपरासी (ब.सु.प.) जिल्लामा एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा मिति २०७८ चैत्र १७ गतेको दिन नवलपरासी (ब.सु.प.) को श्री रामग्राम नगरपालिकाको सभाहल,परासीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यज्यूको अध्यक्षता एबं जिल्ला समन्वय समिति, नवलपरासी (ब.सु.प.) का प्रमुख शिवशंकर प्रसाद रायको प्रमुख आतिथ्यता , रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता र जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.सु.प.) का प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु तथा आर्थिक प्रशासन शाखाका प्रमुखहरु, भ्रष्टाचार बिरुद्ध संस्थाका पदाधिकारीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा आयोगको कार्यालय बुटवलका शा. अ. बाबुराम न्यौपानेले स्वागत मन्तव्य तथा कार्यालय प्रमुख योगेन्द्र प्रसाद पाण्डेबाट आयोगको कार्यालय बुटवलको उजुरी र फर्छ्यौटको विवरण, भ्रष्टाचारको प्रवृत्ति साथै आयोगका कार्यालयले भोगेका कठिनाईसहितको कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सेवा प्रवाह तथा विकास निर्माणका कामलाई प्रभावकारी वनाउने प्रयत्न गरिएको मन्तव्य राख्नुभयो । नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले भ्रष्टाचार नियन्त्रणका लागि सामुहिक प्रयास हुनुपर्ने कुरा ब्यक्त गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर प्रसाद रायले यस्ता कार्यक्रम अझ बढी हुनुपर्ने र कर्मचारी तथा जनप्रतिनिधिहरुले सपथ खाए अनुसार काम गर्नुपर्ने मन्तव्य राख्नुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह न्यायाधिवक्ता घनश्याम ओझाले भ्रष्टाचारका विविध विषय, आयोगको पृष्ठभूमि तथा कानुनी व्यवस्था र रणनीति साथै उजुरी, मुद्दा, सदाचारिता र नैतिकताको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रमका अध्यक्ष तथा आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले अन्तर्क्रियामा उठेका जिज्ञासाहरुको सम्बोधन गर्नुहुदै कर्मचारीले कानुनलाई धर्मग्रन्थको रुपमा स्वीकार गरी यसको पूर्ण परिपालनामा जोड दिदै भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका रहने भएकोले सवै एकजुट भई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न, सदाचारी भई आफ्नो कर्तब्य पालना गर्न र आयोगबाट माग भएको विवरण समयभित्र पठाउन अनुरोध गर्नुहुदै कार्यक्रमको समापन गर्नुभयो ।