हुम्लामा भ्रष्टाचार सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
मिति २०७८ साल चैत्र १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जय बहादुर चन्दको अध्यक्षतामा हुम्लाको सिमकोटमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । हुम्ला जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतको प्रमुख आतिथ्यमा सञ्चालित अन्तरक्रिया कार्मक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीय तहका प्रमुख एवम् उप प्रमुख, आयोगका सहसचिव राजेन्द्र कुमार के.सी., आयोगको सुर्खेत कार्यालयका कार्यालय प्रमुख भोला दाहाल, प्रमुख जिल्ला अधिकारी सीता परियार, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, उद्योग वाणिज्य महासंघ, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रह्यो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा आयोगका सहसचिव राजेन्द्र कुमार के.सी.ले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो भने आयोगको सुर्खेत कार्यालयका कार्यालय प्रमुख सहसचिव भोला दाहालले कार्यालयको तर्फबाट प्रस्तुतिकरण गर्नुभयो। अध्यक्षको आसनबाट मन्तव्य दिँदै आयोगका माननीय आयुक्त चन्दले खुला अन्तर्कियाबाट प्राप्त सुझावहरुलाई आयोगले सहर्ष स्वीकार गर्दै त्यसलाई आयोगको सम्पत्तिको रुपमा संरक्षण गर्ने बचनबद्धता व्यक्त गर्नुभयो। पारदर्शीता र भ्रष्टाचार भन्ने विषय एक अर्काका परिपूरक हुन् । विकास आयोजना र सरकारी सेवा प्रवाहमा पारदर्शीता नभएमा नागरिकले आवाज उठाउनुपर्ने बताउँदै नागरिक अवैधानिक राजदूत रहेको र प्रत्येक नेपालीका घर घरमा भएको विश्वास व्यक्त समेत वहाँले बताउनुभयो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रावत र प्रमुख जिल्ला अधिकारी सीता परियारले मन्तव्य व्यक्त गर्नुभयो। हुम्ला जिल्लाका खार्पुनाथ, स्थानीय तहका अध्यक्ष, विभिन्न कार्यालयका कार्यालय प्रमुख, पत्रकार महासंघका अध्यक्ष, संचारकर्मी लगायतले जिज्ञासा र आयोगका लागि सुझाव प्रस्तुत गर्नु भयो। कार्यक्रम सञ्चालन आयोगका सुर्खेत कार्यालयका शाखा अधिकृत विश्वमंगल शर्माले गर्नुभएको थियो।