डोल्पा जिल्लामा भ्रष्टाचार सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
मिति २०७८ साल चैत्र १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जय बहादुर चन्दको अध्यक्षतामा डोल्पा जिल्लाको सदरमुकाम दुनैमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । डोल्पा जिल्ला समन्वय समितिका उप प्रमुख तथा कार्यबाहक प्रमुख नर बहादुर वुढाको प्रमुख आतिथ्यमा सञ्चालित अन्तरक्रिया कार्मक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीय तहका प्रमुख एवम् उप प्रमुख, आयोगका सहसचिव राजेन्द्र कुमार के.सी., आयोगको सुर्खेत कार्यालयका कार्यालय प्रमुख भोला दाहाल, प्रमुख जिल्ला अधिकारी बेदनिधि तिवारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, उद्योग वाणिज्य महासंघ, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रह्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा आयोगका सहसचिव राजेन्द्र कुमार के.सी.ले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो भने आयोगको सुर्खेत कार्यालयका कार्यालय प्रमुख सहसचिव भोला दाहालले कार्यालयको तर्फबाट प्रस्तुतिकरण गर्नुभयो । अध्यक्षको आसनबाट मन्तव्य दिँदै आयोगका माननीय आयुक्त चन्दले खुला अन्तर्कियाबाट प्राप्त सुझावहरुलाई आयोगले सहर्ष स्वीकार गर्दै त्यसलाई आयोगको सम्पत्तिको रुपमा संरक्षण गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । पारदर्शीता र भ्रष्टाचार भन्ने विषय एक अर्काका परिपूरक हुन् । वँहाले विकास आयोजना र सरकारी सेवा प्रवाहमा पारदर्शीता ल्याउनुपर्ने विश्वास व्यक्त गर्नुभयो । “हाल हाम्रो गाँउ समाजमा मानवता हराउँदै गएको छ जसका कारण भ्रष्टाचारजन्य गतिविधिहरु बढिरहेकाले अब हामीले मानवता जगाउनुपर्ने बेला आएको छ” भन्ने कुरा समेत माननीय आयुक्तज्यूवाट व्यक्त भयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि नर बहादुर वुढा र प्रमुख जिल्ला अधिकारी बेदनिधि तिवारीले मन्तव्य व्यक्त गर्नुभयो । डोल्पा जिल्लाका ठूली भेरी नगरपालिकाका प्रमुख गणेश शाही, ठूलीभेरी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष अर्ण बहादुर न्यौपाने, विभिन्न कार्यालयका कार्यालय प्रमुख, पत्रकार, संचारकर्मी लगायतले जिज्ञासा र आयोगका लागि सुझाव प्रस्तुत गर्नु भयो । कार्यक्रम सञ्चालन आयोगका सुर्खेत कार्यालयका शाखा अधिकृत अनन्त कुमार गौतमले गर्नुभएको थियो ।