कालिकोटमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न
मिति २०७८ साल चैत्र १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त जय बहादुर चन्दको अध्यक्षतामा कालिकोटको मान्मामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कालिकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यमा सञ्चालित अन्तरक्रिया कार्मक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीय तहका प्रमुख एवम् उप प्रमुख, आयोगका सहसचिव राजेन्द्र कुमार के.सी., आयोगको सुर्खेत कार्यालयका कार्यालय प्रमुख भोला दाहाल, प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु, उद्योग वाणिज्य महासंघ, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रह्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा आयोगका सहसचिव राजेन्द्र कुमार के.सी.ले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो भने आयोगको सुर्खेत कार्यालयका कार्यालय प्रमुख भोला दाहालले कार्यालयको प्रस्तुतिकरण गर्नुभयो। अध्यक्षको आसनबाट मन्तव्य दिँदै आयोगका माननीय आयुक्त चन्दले आयोगले राज्यका निकायबाट भए गरेका अनियमित काम कारबाहीहरुको बारेमा सचेत नागरिकले जुनसुकै माध्यमबाट उजुरी दिनसक्ने अवस्था रहेको बताउँदै कोभिडको समयमा पनि करीब २३ हजार उजुरी प्राप्त गरी अनुसन्धान भइरहेको जानकारी गराउनु भयो। कर्णाली राज मार्गको हाल सम्म पनि स्तरोन्नति नभएको स्मरण गराउँदै माननीय आयुक्त चन्दले आयोग कालिकोटबासीको सुझाव प्राप्त गर्न र सुसूचित गराउन आएको भन्दै व्यक्तिगत जीवन शैली र सामाजिक विकृति विसङ्गतिमा पनि आवश्यक सुधार ल्यएमा भ्रष्टाचार न्यूनिकरणमा सहयोग पुग्ने तथा जनताले तिरेको करको पूर्ण सदुपयोग गर्दै विकासका अत्यावश्यक पूर्वाधारहरु तयार गर्न स्थानीय तहका प्रतिनिधिहरुलाई आग्रह समेत गर्नुभयो । राज्यका निकायबाट भए गरेका अनियमितताहरु सम्बन्धमा सूचना दिएमा तुरुन्त छानविनको प्रक्रिया अगाडि बढाउने भन्दै आयुक्त चन्दले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा कालीकोटवासी जनप्रतिनिधि, नागरिक एवम् सम्पूर्ण सरोकारवालाहरुको महत्वपूर्ण जिम्मेवारी तथा कर्तव्य समेत रहेको बताउनुभयो र भ्रष्टाचारको विरुद्धमा आयोग र जनता एउटै कित्तामा उभिएर लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।