नवनियुक्त माननीय आयुक्तहरुको शपथ ग्रहण तथा पदभार ग्रहण सम्पन्न
नवनियुक्त माननीय आयुक्तहरुको शपथ ग्रहण तथा पदभार ग्रहण सम्पन्न आज मिति २०७८/०३/१० गते विहीबारको दिन नेपालको संविधानको धारा 238 (2) बमोजिम नियुक्त हुनुभएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त माननीय आयुक्त डा. हरी पौडेल र माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुबिधासम्बन्धी ऐन बमोजिम माननीय प्रमुख आयुक्त प्रेमकुमार राईसमक्ष आयोगको कार्यालय, टंगाल, काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
शपथ ग्रहण लगत्तै आयोजित समारोहमा नवनियुक्त माननीय आयुक्तहरुलाई आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राई, माननीय आयुक्त किशोर कुमार सिलवाल, माननीय आयुक्त जय बहादुर चन्द, सचिव श्री तोयम राया र महाशाखा प्रमुखहरुबाट पुष्पगुच्छासहित स्वागत गरियो।
उक्त शपथग्रहण तथा स्वागत समारोहमा आफ्नो मन्तव्य राख्दै आयोगका माननीय प्रमुख आयुक्तले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरोकारवाला सम्बद्ध निकाय र व्यक्तिहरूको सहयोग अपरिहार्य रहने कुरा व्यक्त गर्नुभयो। भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहका लागि आयोगले निरन्तर कार्य गरिरहेको बताउँदै वहाँले आयोगको बिद्यमान प्रक्रिया, कार्यबिधि र तौरतरिकामा समयानुकुल सुधार गर्दै लगिएको बताउनुभयो । वँहाले माननीय आयुक्तहरूको नियुक्तिसँगै आयोगले पूर्णता पाएको हुँदा अब आयोगले भ्रष्टाचार बिरुद्ध अझै प्रभावकारी रुपमा कार्य गर्ने कुरा बताउँदै नवनियुक्त माननीय आयुक्तहरुलाई सफल कार्यकालको शुभेच्छा समेत व्यक्त गर्नुभयो।
समारोहमा बोल्दै नवनियुक्त माननीय आयुक्त डा. हरी पौडेलले निजामती सेवामा आर्जन गरेको अनुभवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तको रूपमा नतिजामुखी कार्यसम्पादन गर्न सहयोग पुग्ने कुरा बताउनुभयो। कार्यक्रममा वँहाले भ्रष्टाचार निवारण, सार्वजनिक सेवा प्रवाहमा सुधार तथा सुशासन स्थापनामा आफ्नो तर्फवाट महत्तम योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।आफ्नो थप विचार राख्ने क्रममा वँहाले समूह भावना र सामूहिक प्रयत्नवाट मात्रै सर्वसाधारण नेपालीले देख्न र महसुस गर्न सक्ने गरी आयोगले काम गर्न सक्ने हुँदा देशमा सुशासन कायम गर्न सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यसै गरी समारोहमा आफ्नो भनाई राख्दै नवनियुक्त माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले सुशासन कायम गर्नको लागि उजुरीमा आधारित अनुसन्धान मात्र नभई अबको दिनमा आयोगले आफ्नै सक्रियतामा जनताले महसुस गर्न सक्ने गरी भ्रष्टाचार नियन्त्रणको काम गर्नुपर्ने कुरा बताउनु भयो । वहाँले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोगको नेतृत्वमा सरोकारवाला व्यक्ति र सम्बद्ध निकायसँग समन्वय र सहकार्य गरी अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै आयोगमा आफूहरुलाई सबैबाट सहयोग हुने अपेक्षा समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा सचिव श्री तोयम रायाले नवनियुक्त माननीय आयुक्तहरुलाई स्वागत गर्दै आम नागरिकको आयोगप्रति ठुलो भरोसा रहेकोले नवनियुक्त माननीय आयुक्तहरुको अहम भूमिकाले अब भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने जनअपेक्षा साकार गर्न योगदान पुर्याउने बताउनुभयो। कार्यक्रममा बोल्दै वँहाले नवनियुक्त माननीय आयुक्तहरुलाई आयोगमा कार्यरत सम्पूर्ण कर्मचारीको तर्फवाट आयोगको उद्देश्य प्राप्ति गर्न जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
शपथग्रहण तथा स्वागत समारोह पश्चात नवियुक्त माननीय आयुक्तहरुले आजै पदभार समेत ग्रहण गर्नुभयो।