वि.सं २०८३ मंसिर ८ गते मंगलबार, नेपाल संवत ११४७ कछलाथ्व पुन्हि - १५ हटलाइन १०७ टोल फ्री १६६०-०१-२२२३३ ujuri@ciaa.gov.np ने EN

प्रेस विज्ञप्ति

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहालउपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।

· मुद्दा दायर

प्रेस विज्ञप्ति :- मिति २०८२।१२।२५ गते।
------------------------------------------

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालले बिभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस/रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निज लेखा अधिकृत ढुण्डी राज दाहाललाई रू.१,२०,८५०।- सहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने बदनियत राखी योजनबद्ध रुपमा बिभिन्न कम्पनी/फर्महरुका प्रतिनिधिसँग मोलमोलाई गरी घुस/रिसवत लिनेदिने सर्तमा भुक्तानीको प्रक्रियामा सहजीकरण गरी अगाडि बढाई सेवाग्राहीसँग घुस/रिसवत रु.९३,८५०/- (त्रियानब्बे हजार आठ सय पचास रुपैयाँ) लिएको स्थापित भएकोले निज प्रतिवादी ढुण्डी राज दाहालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रु.९३,८५०/- (त्रियानब्बे हजार आठ सय पचास मात्र) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

 

सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

संलग्न फाइलहरू

अनलाइन उजुरी