प्रतिवादी कृष्ण प्रसाद सिग्देलसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।१२।०७ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
• प्रतिवादी चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत/राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीलाई बिगो रु.५५,०२,१९८।०६ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) बमोजिमको कसुरमा सो दफा ७ ले निर्दिष्ट गरे बमोजिम उक्त ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम कैदको सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिबाना हुन,
• प्रतिवादी आशिक कन्स्ट्रक्सन का सञ्चालक प्रतिवादी राम विनोद राउत बरैलाई भ्रष्टाचार ऐन, २०५९ को दफा ७ को खण्ड (क) बमोजिमको कसुरजन्य कार्यको सोही ऐनको दफा २२ बमोजिमको मतियारको कसुरमा सो दफा २२ को प्रतिवन्धात्माक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय हुन,
• प्रतिवादी चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीलाई रु.३७,३४,१९८।०६ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) बमोजिमको कसुरमा सो दफा ७ ले निर्दिष्ट गरे बमोजिम उक्त ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम कैदको सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिवाना हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०१।३१ को फैसलाबाट आंशिक सफाई दिएको-:
• प्रतिवादीहरु कृष्ण प्रसाद सिग्देल र किर्तिराज सुवेदीले ठेक्का सम्झौता गर्दा लिनुपर्ने रकम मध्ये रु.७,००,०००।- असुली भएको र बाँकी रहेको रु.१७,६८,०००।- रकम समेत असुल गर्न नगरपालिकाबाट कारवाही चलाएको देखिन आएको अवस्थामा प्रतिवादीहरुले आरोप दाबी बमोजिमको कसुर गरेको देखिन आएन ।
• प्रतिवादीहरुले अनुगमन नगरेको भन्ने मात्र आधारमा दोषी ठहर गर्न मिल्ने नदेखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।०७ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) चन्द्रपुर नगरपालिका, रौतहटले आ.व.२०७७/०७८ मा ठेक्का नं. १९/०७७/०७८ मा चाँदी नदीको नदीजन्य पदार्थ विक्री ठेक्कामा सबै भन्दा बढी कवोल अंक (मु.अ.क.) बाहेक रु.३६,००,०००।– गर्ने आशिक कन्स्ट्रक्सनलाई आफूले कवोल गरेको अंक रकमको ५० प्रतिशतले हुने रु.१८,००,०००।–रकम नगरपालिकाको आन्तरिक आय खातामा दाखिला गरी सोको सक्कल भौचर र वाँकी रु.१८,००,०००।– रकमको २०७८ बैशाख मसान्तसम्मको कार्य सम्पादन जमानत (बैंक ग्यारेटी) सहित सम्झौता गर्नुपर्नेमा सो विपरित बोल कवोल अंकको ५० प्रतिशतले हुने रकम २०७८ बैशाख मसान्त सम्मको कार्य सम्पादन जमानत (बैंक ग्यारेण्टी) तथा सम्झौता मितिमा नै दाखिला गर्नुपर्ने रु.१८,००,०००।– मध्ये रु.७,००,०००।- मात्र ठेकेदारबाट दाखिला गराई बाँकी रकम सम्झौता भएको मितिले सात दिन भित्र दाखिला गर्ने गरी २०७७ चैत्र मसान्त सम्म नदिजन्य पदार्थ संकलन, ओसारपसार र बिक्री वितरण गर्ने गरी सम्झौता गरी अस्थायी भोगचलन पट्टा दिएको मिसिल संलग्न कागजातबाट देखिएको, सो पश्चात उक्त ठेकेदारबाट चन्द्रपुर नगरपालिकाको खातामा मूल्य अभिवृद्धि कर बाहेक कबोल रकम रु.३६,००,०००।- मध्ये रु.२३,००,०००।- बुझाई कबोल अंकको बाँकी रु.१३,००,०००।- र मूल्य अभिवृद्धि कर रु.४,६८,०००।- गरी जम्मा रु.१७,६८,०००।- राजस्व दाखिला भएको नदेखिएको मिसिल संलग्न आधार प्रमाणबाट देखिंदा देखिंदै प्रतिवादीहरु तत्कालीन प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सिग्देल, लेखा अधिकृत किर्तिराज सुवेदी र ठेकेदार राम विनोद राउत बरैलाई आरोपदावी पुग्न नसक्ने ठहर गरी भएको फैसला त्रुटीपूर्ण भएकोले वदरभागी रहेको।
ख) ठेक्का सम्झौतामा जम्मा १९,९८२.७० घनमिटर मात्र नदिजन्य पदार्थ (ढुङ्गा गिट्टी र वालुवा) सकंलन गर्ने भनिएकोमा थप परिमाण १८,३१२.३० घन मिटर नदीजन्य पदार्थ एक्साभेटर प्रयोग गरी अवैध रुपमा उत्खनन् गरिएको स्थलगत नापजाँच प्रतिवेदनबाट देखिएकोमा उक्त ठेक्का सम्झौताका कार्यान्वयनका प्रमुख जिम्मेवार प्रतिवादीहरु कृष्ण प्रसाद सिग्देल र किर्तिराज सुवेदी रहेको देखिएकोले बढी उत्खनन् गरिएको नदीजन्य पदार्थको हुन आउने रोयल्टी/राजस्व रकम रु.३३,०४,६००।०५ र सो रकमको मूल्य अभिवृद्धि करको रु.४,२९,५९८।०७ गरी जम्मा रु.३७,३४,१९८।०६ नगरपालिकालाई प्राप्त हुने राजस्व चुहावट गरी भ्रष्टाचार गरेको पुष्टी भएकोमा प्रतिवादीहरु कृष्ण प्रसाद सिग्देल र किर्तिराज सुवेदीलाई सफाई दिने ठहर गरी भएको फैसला त्रुटिपूर्ण भएकोले बदरभागी रहेको।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल