प्रतिवादी कमलेश डि.सी.समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।१२।०६ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
• परिक्षा समितिका संयोजक एवं मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकायका सहायक डिन कमलेश डि.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय हुन,
• प्रतिवादी मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहप्राध्यापक डा. विनय कुमार दासलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।२५ को फैसलाबाट सफाई दिएको-:
• प्रतिवादीहरु कमलेश डि.सी र विनय कुमार दास उपरको आरोपदाबी पुष्टि हुन सक्ने अवस्था नदेखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।१२।०६ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकाय डीनको कार्यालयद्वारा मिति २०७७/१०/१९ र मिति २०७७/११/०५ मा आंशिक तथा करार उपप्राध्यापकहरुको पदपूर्तिका लागि विज्ञापन प्रकाशित भई, मिति २०७७/१२/४, ५ र ६ मा संचालित लिखित परिक्षाको सम्बन्धित विज्ञहरूले उत्तरपुस्तिका परीक्षण गर्दा अङ्ग्रेजी विषयतर्फ कोड नं. Eng-१८०७७ को उत्तरपुस्तिकामा दिएको अङ्क पटक-पटक केरमेट गरी बढाएको, कोड नं. Eng-१२०७७ को उत्तरपुस्तिकामा समेत पहिले दिएको अङ्कलाई पटक-पटक केरमेट गरी बढाएको र कोड नं. Eng-१५०७७ को उत्तरपुस्तिकामा पहिले दिएको अङ्कलाई केरमेट गरी घटाएको एवं कोड नं. Eng-२०७७, Eng-१२०७७, Eng-१००७७ र Eng-१८०७७ को उत्तरपुस्तिकामा सङ्केत जनिने गरी देब्रेपट्टि माथिल्लो कुनामा उम्मेदवारको सिम्बोल नम्बर लेखी केरमेट गरिएको देखिएको। उक्त सङ्केत के कुन समयमा लेखिएको हो भन्ने सम्बन्धमा अंग्रेजी विषयका विज्ञले लिखित परीक्षामा सफल चार जना उम्मेदवारकै उत्तरपुस्तिका अन्तरवार्ता सुरु हुनुअगावै माग गरी सबै उत्तरपुस्तिकाको माथिल्लो भागको बायाँ कुनामा सम्बन्धित उम्मेदवारको सिम्बोल नं. लेखी केरमेट गर्ने कार्य विज्ञ डा. विनय कुमार दासले गर्नुभएको भनी शिक्षक छनौट समितिका संयोजक कमलेश डि.सी.ले बयानमा लेखाई दिएकोमा उक्त कुरा निज प्रतिवादी विनय कुमार दासले आफ्नो बयानमा स्वीकारसमेत गरेको देखिरहेको अवस्थामा सो तर्फ अन्देखा गरी प्रतिवादीहरुलाई सफाई पाउने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ख) प्रतिवादी डा. विनय कुमार दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेद्वारलाई पटक/पटक अङ्क केरमेट गरी बढाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्कलाई पटक-पटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरे गराएको देखिएको र अन्तरवार्ताको क्रममा अन्तरवार्ता अगावै सहभागी उम्मेद्वारहरूका उत्तरपुस्तिका माग गरी सम्वन्धित उत्तरपुस्तिकामा सम्बन्धित परीक्षार्थीको Symbol No. राखी संकेत गरी उम्मेदवारको पहिचान गरी प्राप्ताङ्कको आधारमा अन्तरवार्तामा अङ्क प्रदान गर्ने योजना बनाई सोही बमोजिम अङ्क प्रदान गर्न र कोड नं. Eng-१८०७७ को उत्तरपुस्तिकाका विभिन्न प्रश्नहरूमा पहिले दिएको अङ्क बढाई ३७ अङ्क दिई योग्यता सूचीमा माथि पुर्याएको र कोड नं. Eng-१५०७७ को उत्तरपुस्तिकामा पहिले दिएको अङ्क केरमेट गरी घटाई अनुत्तीर्ण (उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण) गराउन बदनियतपूर्वक कार्य गरी उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको पुष्टि भइरहेकोमा अन्देखा गरी सफाई पाउने ठहरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ग) प्रतिवादी कमलेश डि.सी.ले अंग्रेजी विषयको Scrutiny Board को तर्फबाट उत्तरपुस्तिका सम्परीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटक-पटक दिएको अङ्क केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको, अन्तरवार्ताको क्रममा परिक्षण भइसकेको उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि परिक्षण भएका उत्तरपुस्तिकामा परिक्षार्थीको Symbol No. लेखी केरमेट गर्न सहमति जनाएको एवं अंग्रजी विषयको Scrutiny Board को संयोजक भएपनि विज्ञबाट परिक्षण भएको उत्तरपुस्तिका संपरिक्षण गर्दा विज्ञबाट बदनियतसाथ भएको अङ्क थपघट गरेको गैरकानूनी कार्यलाई समर्थन जनाई संस्थाको गरिमा र गुणलाई समेत आँच आउने कार्य गरी भ्रष्टाचार गरेको पुष्टि भईरहेकोमा आरोपदावीबाट सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
प्रवक्ता
राजेन्द्र कुमार पौडेल
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र