प्रतिवादी खिम बहादुर वि.क.समेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।११।१९ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट:
• प्रतिवादीहरु खिम बहादुर वि.क., नवीन कुमार दास र सनोज उपाध्यायलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसुरमा बिगो रु.४,९०,२२७।७७ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी बिगो असुल उपर हुन र
• प्रतिवादीहरु रन बहादुर थापा, टेक नारायण पुन र पार्वती थापालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा बिगो रु. ४,९०,२२७।७७ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र उक्त बिगो जफत हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।१०।२५ को फैसलाबाट सफाई दिएको-:
क) प्रतिवादीहरुले मौका तथा अदालतमा आरोपित कसूरमा इन्कार रही बयान गरेको।
ख) मिसिल संलग्न कागजातबाट वर्षायामको बाढीले भइरहेको निर्माण कार्यमा क्षति पुर्याएको देखिएको र अनुसन्धान निकायको फरक फरक प्रतिवेदन पेस भई प्रतिवेदन व्यहोरामा एकरुपता नदेखिएको एवं प्रतिवादीहरुले पेस गरेका निर्माण सम्बन्धी प्रतिवेदन, स्थानीय उपभोक्ता समेत रहेका साक्षीहरुको बकपत्र समेतबाट आरोप दावी पुष्टि हुन नआएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।१९ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) जिल्ला बाग्लुङ, काठेखोला गाउँपालिका अन्तर्गत डुडियाघाट ह्युमपाईप आयोजनामा ह्युमपाईपको बेसमा PCC(Plain Cement Concrete) गरेको नदेखिएको, नापी किताबमा ह्युमपाईपको Wedge मा Concrete ढलान राखिएकोमा फिल्डमा माथिल्लो केही भागमा मात्र उक्त ढलान देखिएको र सो भागको काम पनि गुणस्तरीय (M15,1:2:4) नभएकोले नापी लिन उपयुक्त नदेखिएको, Stone Masonry Wall खोलाले बगाएको भनिएता पनि फिल्डमा बनेको थियो भनी पुष्टी हुने आधार नदेखिएको, नापी किताब अनुसारका कार्यहरु तथा परिणामहरुमा भिन्नता देखिन आएकोले गाउँपालिकाबाट निकासा भएको रु.५,२०,०००।- मध्ये रु.१,८५,२६३।११ रुपैयाँ बराबरको काम नगरी नापी किताब तयार पारी भुक्तानी दिएको भन्ने स्थलगत प्रतिवेदन र लामाबगर ह्यूमपाइप आयोजनाको स्थलगत अध्ययन गर्दा ८ वटा ह्यूमपाइप सहितको कल्भर्ट निर्माण भएकोमा ३ वटा ह्यूमपाइप दबेर स्ट्रक्चर फेलियर भएको, मेशिनरी वाल ३ वटा समेत नरहेको, ह्यूमपाइप मुनीको २५ सेमी ढलान भएको नदेखिएको। गाउँपालिकाबाट निकासा भएको रु.६,३०,०००।- मध्ये कुल रु.३,१७,८६७।२६ रुपैयाँ बराबरको काम नगरिकनै नापी किताब तयार गरी भुक्तानी दिएको भन्ने प्रतिवेदकहरुले पेश गरेको स्थलगत मुचुल्का सहितको प्रतिवेदनबाट देखिएको तथा निज प्रतिवेदनहरुले अदालतमा उपस्थित भई गरेको बकपत्र समेतका मिसिल संलग्न प्रमाणहरुले प्रतिवादीहरुले आरोपित कसूर गरेको निर्विवाद रुपमा पुष्टि भएकोमा प्रतिवेदनहरु फरक-फरक रहेको तथा निर्माण स्थल बाढीले बगाई क्षति पुर्याएको भन्ने आधार उल्लेख गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदरभागी रहेको।
ख) प्रतिवादी खिम बहादुर वि.क.,सब ईञ्जिनियर नवीन थापा र असिस्टेन्ट सव ईञ्जिनियर सनोज उपाध्यायले नापी किताबमा भए बमोजिमको वास्तविक कार्यसम्पादन गराई सो को चेक जाँच गरी मूल्याङ्कन प्रतिवेदन पेश गर्नु पर्नेमा निजहरुले पदीय जिम्मेवारी बमोजिम सुपरीवेक्षण नगरेको र ह्यूमपाईप राख्दा लगत स्टिमेट बमोजिम नभए नगरेको कार्यको समेत नापी किताब तयार गरी भुक्तानीका लागि सिफारिस गर्ने कार्य गरी उक्त आयोजनाहरुबाट रु.४,९०,२२७।७७ हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मिसिल संलग्न तथ्य प्रमाण समेतबाट पुष्टि भएको अवस्थामा प्रतिवादीहरुले इन्कारी बयान गरेको भन्ने आधारमा सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ग) डुडियाघाट, लामाबगर ह्युमपाइप निर्माण उपभोक्ता समितिका अध्यक्ष रन बहादुर थापा, सचिव टेक नारायण पुन र कोषाध्यक्ष पार्वती थापाले उक्त आयोजनाको सम्झौता बमोजिम लगत इस्टिमेटमा तोकिएका कामहरु गर्नु पर्नेमा सो नगरी नगराई स्थलगत रुपमा नभएको नगरेको कार्यको समेत झुट्टा बिल भरपाई बनाई बनाउन लगाई भए गरेको कार्य भन्दा बढी नापी किताबमा चढाउन लगाई सोही बमोजिमको भुक्तानी लिने कार्य गरी रु.४,९०,२२७।७७ हानि नोक्सानी गरी भ्रष्टाचार गरेको मिसिल संलग्न तथ्य प्रमाणबाट पुष्टी भई रहेको अवस्थामा प्रतिवादीहरुलाई सफाई दिने गरी भएको फैसला त्रुटिपूर्ण हुँदा बदर भागी रहेको।
प्रवक्ता
नरहरि घिमिरे
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र