प्रतिवादी डा.प्रदिप ढकालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।११।०९ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट
• प्रतिवादी डा. प्रदिप ढकाल र डा. मिलन कुमार थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.१,१७,०१,७८१.८५ कायम गरी निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को (झ) बमोजिम कैद र ऐ.ऐ.ऐनको दफा ३ (१) बमोजिम बिगो बमोजिम जरिवाना हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजहरुबाट बिगो रकमसमेत असुल हुन,साथै प्रतिवादी डा.प्रदिप ढकाल नेपाल सरकारबाट नियुक्ति भई श्रीपशुपति क्षेत्र बिकास कोष संचालक परिषद्को सदस्य सचिवको जिम्मेवारी प्राप्त गरी सार्बजनिक पदको जिम्मेवारीमा रहेको देखिंदा निज उपर भ्रष्टाचार निबारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजाय हुन,
• प्रतिवादी अरुण कुमार श्रेष्ठलाई बिगो रु.१,१७,०१,७८१.८५ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम ऐ.ऐ. ऐनको दफा ३ को उपदफा (१) को (झ) बमोजिम कैद र ऐ.ऐ. ऐनको दफा ३(१) बमोजिम बिगो बमोजिम जरिवाना हुन र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजबाट बिगो रकम समेत असुल हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०१।१८ को फैसलाबाट सफाई दिएको-:
• प्रतिवादीहरुले के कुन कार्य गरी श्री पशुपतिनाथ मन्दिरमा रहने सुनको जलहरी निर्माणका क्रममा १४९१.७१८ ग्राम सुन फरक पारी लापरबाही र बदनियत गरी हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरी भ्रष्टाचारजन्य कसुर गरेको भनी ठोस तथा बस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सकेको अवस्था नदेखिएको।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।०९ मा पुनरावेदन गरिएको छः-
देहाय:
क. श्री पशुपतिको मन्दिरमा जलहरि निर्माणको लागि चाहिने बहुमुल्य सुन लगायतका धातुहरु श्री पशुपतिनाथ क्षेत्र बिकास कोषले आफ्नो ढुकुटीको रकमबाट नेपाल राष्ट्र बैंकबाट खरिद गरेको, १०३,७७३.१ ग्राम सुनमा शुद्व सुन (pure gold) १०२६१४.० ग्राम देखिन आएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, चाँदी, तामासमेत गरी कुल १०६,४३२.५ ग्राम सुनमा शुद्व सुन (pure gold) १०००८५.९ ग्राम शुद्व सुन देखिन आएको साथै रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामासमेत गरी १०३७.५ ग्राम सुनमा शुद्व सुन (pure gold) ९६२.६ ग्राम देखिएको, सुनको जलहरीमा प्रयोग भएको चाँदी, तामासमेत मिसावट गरी हुन आउने १०६,४३२.५ ग्राम सुन र रुद्रगाडेश्वरमा बाँकी रहेको चाँदी, तामा समेत मिसावट गरी हुन आउने १०३७.५ ग्राम सुन गरी जम्मा तौल १०७,४७०.० ग्राम सुनमा शुद्व सुन (pure gold) १०१,०४८.५ ग्राम रहेको देखिन आएबाट नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको १०३,७७३.१ ग्राम सुनमा शुद्व सुन (pure gold) १०२६१४.० ग्रामबाट सुनको जलहरी निर्माणमा प्रयोग भएको र निर्माणका क्रममा बाँकी रहेको सुनसमेत गरी शुद्व सुन (pure gold) १०१,०४८.५ ग्राम घटाउँदा १५६५.६ ग्राम शुद्व सुनको परिमाणमा अन्तर (फरक) देखिएकोले जर्ती बापत नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार हुने ०.०७२% ले हुन आउने ७३.८८२०८ ग्राम सुन घटाउँदा बाँकी हुन आउने १४९१.७१८ ग्राम (एक किलो चार सय एकान्नब्बे ग्राम सात सय अठार मिलिग्राम) जलहरी निर्माणमा प्रयोगमा नआएकोले उक्त सुन हिनामिना तथा हानी नोक्सानी भएको तथ्य सुन खरिद गरिएका कागजातहरु, नापतौलका कागजातहरु तथा निर्माणको क्रममा खडा गरिएका मुचुल्काहरु समेतबाट पुष्टी हुन आएको।
ख. नेपाल राष्ट्र बैंक, मुद्रा ब्यबस्थापन बिभागबाट प्राप्त पत्रमा गलान गर्ने कार्यमा ०.०३०%, पाता तथा चक्की निर्माण कार्यमा ०.०२०% र पोली (पाता चक्की सफाई कार्य) मा ०.०२२% गरी जम्मा ०.०.७२% सामान्य जर्तीको मात्रामा सुन प्रयोग हुने भन्ने समेत खुली आएको र अनुसन्धानको क्रममा नेपाल गुणस्तर तथा नापतौल बिभागमा कार्यरत निरीक्षकसमेतले उपलब्ध गराईएको तथ्याङ्गहरुको आधारमा प्रतिबेदन तयार गरिएको र प्रतिबेदनमा उल्लिखित १.५६५६ के.जी. शुद्ध सुनको अन्तर बास्तबिक हो, यसबाट बास्तबिक शुद्व सुनको परिमाण यकिन गर्न सकिन्छ भन्ने समेतको बेहोरा खुलाई कागज गरेको देखिएको, निजले सो व्यहोरालाई समर्थित हुने गरी अदालत समक्ष गरेको वकपत्रलाई प्रमाण ऐन २०३१ को दफा १८ वमोजिम प्रमाणमा ग्रहण गर्न पर्ने नै देखिएको। श्री पशुपति क्षेत्र बिकास कोषका तत्कालीन सदस्य सचिब डा. प्रदिप ढकाल र ऐ. कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्य सचिव डा. मिलन कुमार थापासमेतको निर्देशनमा बिना मुचुल्का अनाधिकृत रुपमा रिङ्ग जडान गर्ने तथा बाँकी रहेको सुन राख्ने गरेको निजहरुको बयान कागजातसमेतबाट खुलेको हुँदा बदनियतपूर्बक सुनको जलहरी निर्माणको क्रममा हानिनोक्सानी भएको १४९१.७१८ग्राम सुनको नेपाल राष्ट्र बैंकसँग किनेको मूल्यमा पर्न आउने मुल्य रु.१,१७,०१,७८१.८५ मुल्य बराबरको सुन हिनामिना गर्ने कार्यमा यि प्रतिबादीहरु डा. प्रदिप ढकाल र डा. मिलन कुमार थापाको प्रत्यक्ष भूमिका समेत रहेको पुष्टि भईरहेको अवस्थामा सो तर्फ अन्देखा गरी भएको फैसला त्रुटिपूर्ण हुँदा वदरभागी रहेको।
ग. श्री पशुपतिनाथ मन्दिर रहने सुनको जलहरी निर्माणका क्रममा श्रीपशुपति क्षेत्र बिकास कोषले जिम्मा दिएको सम्पति सुरक्षित साथ राख्ने र कोषलाई आवश्यक परेको अबस्थामा दाखिला गराउने गरी जिम्मा प्रतिवादी अरूणकुमार श्रेष्ठलाई दिएको र सुनको जलहरी निर्माणका क्रममा निर्माणस्थलको बिहान तथा दिउँसोको दुबै सिफ्टको कार्यटोलीमा खटिईएको, सुनको जलहरी निर्माणमा प्रयोग भएको सुन, निर्माणका क्रममा बाँकी रहेको सुनसमेत के कति थियो भन्ने बिषयमा तत्काल तौल तथा मुचुल्कासमेत पारदर्शी रुपमा ब्यवस्थित नगरी बदनियत, लापरवाही तरिकाले आफुलाई दिएको जिम्मेवारीलाई वेवास्ता गरी जलहरीमा प्रयोग भएको चाँदी तथा तामा परिमाणमा फरक पारी सुनको परिमाण १४९१.७१८ ग्राम कम गरी चादी र तामाको परिमाणमा क्रमश: १०४१ ग्राम तथा ७३२.६२ ग्राम बृद्धि गरी सुनको हिनामिना गर्ने कार्यमा संलग्न रहेको देखिएको भन्ने देखिरहेको अवस्थामा निज प्रतिवादी अरूणकुमार श्रेष्ठ समेतलाई आरोपदावीवाट नै सफाई पाउने ठहरी भएको फैसला त्रुटिपूर्ण रहेको।
घ. आयोगबाट छानबिनको लागि खटिएको अनुसन्धान अधिकृतको टोलीले रितपूर्व पशुपति क्षेत्र बिकास कोषमा प्रतिनिधीहरु र अन्य स्थानिय सरोकारवालाहरु कै रोहवरमा मुचुल्का गरी सुनको नापतौल समेतका कार्य गरेको। श्री पशुपतिनाथको जलहरी निर्माणको क्रममा नेपाल राष्ट्र बैंकबाट खरिद गरिएको सुनको परिमाण १४९१.७१८ ग्राम कम गरी चाँदी र तामाको परिमाणमा क्रमश: १०४१ ग्राम तथा ७३२.६२ ग्राम बृद्धि गरी सुन हिनामिना गरिएको तथ्य स्पष्ट रुपमा उल्लेख गरी प्रतिबेदन पेश भएको। प्रतिबादीहरुले अदालतमा बयान गर्दा जलहरी निर्माण स्थल रुद्रगाढेश्वार ज्यासलमा बडारकुडारको क्रममा फेला परेको सुन भनी उल्लेख गरेको सुन आयोगमा छानबिनको क्रममा खटिएको टोलीले पहिले नै मुचुल्का गरी उठाई नापतौल गरिएको सुन रहेको। प्रतिबादीहरुले जलहरी निर्माणको क्रममा निर्माण स्थलमा सुन लुकाई ६२३ ग्राम फेला परेको भनी आफ्नै गठमेलका मानिसहरु राखी एकलौटी तरिकाबाट मुचुल्का पटक/पटक त्यही सुनलाई उठाएको भनी जिकिर लिएको देखिएको। फैसलाको क्रममा प्रतिबादीहरुले आफ्ने तरिका मुचुल्का गरि देखाएको ६२३ ग्राम सुन गणना गर्दा समेत निज प्रतिबादीहरु कै गणना अनुसारमा पनि १०८.५६ ग्राम सुन पुग्न नसकेको तथ्यलाई अदालतले एकातर्फ स्वीकार नै गरेको देखिएकोले प्रतिबादीहरुलाई सफाई दिन भएको फैसला त्रुटिपुर्ण रहेको।
ङ. सम्मानित सर्वोच्व अदालतबाट “अमुक व्यक्तिलाई कुनै अमुक मुद्दामा सजायको मागदाबी लिई अभियोजन गर्नु भनी मुद्दाको रोहमा आदेश गर्नु संवैधानिक र कानूनी व्यवस्थाको विपरीत हुनुको साथै स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणा र मूल्यमान्यताको विपरीत हुने देखिने” ने.का.प. २०७२अंक: ६ निर्णय नं ९४१४ मा प्रतिपादित सिद्धान्त, संविधानबमोजिम गठित निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कानूनको रित पुर्याई गरेको काम कारवाहीमा अदालतले हात हाल्नु भनेको असाधारण अपवाद हो भनी ने.का.प. २०७४ अंक: ३ नि.नं ९७८३ मा प्रतिपादित सिद्धान्त,“अख्तियार दुरुपयोग सम्वन्धी प्रश्नको अनुसन्धान र अभियोजनको लागि संविधानले नै विशेष ब्यवस्था गरेको अवस्थामा सो सम्बन्धी अन्तिम निर्णय लिने अधिकार तत् तत् निकायमा नै रहेको मान्नु पर्ने, अदालत स्वयंले अभियोजन कर्ता जस्तो अभियोजन सम्वन्धी अमुक निर्देशन वा आदेश जारी गरेमा सो न्यायिक निर्णय सरह भई पछि मुद्दा चलाउँदा सम्बन्धित पक्षले निश्पक्ष सुनुवाई नपाउने संभावना रहने र निश्पक्ष न्याय पाउने बाधा पर्ने सक्ने अवस्था श्रृजना हुने” ने.का.प २०६७ अंक १० नि.न. ९४९४ मा प्रतिपादित सिद्धान्त समेतको आधारमा Selective prosecution को तथ्य उठाई प्रतिबादीहरुलाई सफाई दिई भएको फैसला त्रुटीपूर्ण रहेको।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया