प्रतिवादी तारा प्रसाद सापकोटासमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।११।०९ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट
• बिराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटा र भन्सार अधिकृत नवकुल शर्मालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिमको कसुरको सोही ऐनको दफा २१ बमोजिमको उद्योगको कसुरमा बिगो रु.८४,५५,६०५/- कायम गरी सोही ऐनको दफा ७ र दफा २१ बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ज) र सोही ऐनको दफा ७ बमोजिमको सजायलाई आधार मानी सोही ऐनको दफा २१ बमोजिम आधा सजाय हुन एवं प्रज्ञापन दर्ता नं ७२६ सरकारी कागजात नष्ट/नोक्सान गर्ने गराउने कसुर गरे गराएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको कसूरमा सोही ऐनको दफा १२ बमोजिम सजाय हुन सामान भन्सार यार्डमा हुँदा हुदै सामान आइनपुगेको भन्ने गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको समेत कसुर गरेको पुष्टि भएको हुँदा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम समेत सजाय हुन,
• Dev International Pvt. Ltd. र सोको संचालक शेरवहादुर बस्नेत र भन्सार प्रतिनिधी सरन कुमार खरेललाई प्रतिवादीहरु तारा प्रसाद सापकोटा र नवकुल शर्माले गरेको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिमको कसुर जन्य कार्यको सोही ऐनको दफा २१ बमोजिमको उद्योगको कसुरको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसूर गरेकोले उक्त कसूमा विगो रु.८४,५५,६०५/- कायम गरी सोही ऐनको दफा ७, दफा २१ र दफा २२ बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिमको सजाय सोही ऐनको दफा २२ बमोजिम मूख्य प्रतिवादीहरुलाई हुने सजाय वरावर सजाय हुन साथै, सोही ऐनको दफा १२ र दफा १९ को उपदफा (२) को कसुरको समेत मतियार भई कसुर गरेकोले सोही ऐनको दफा २२ बमोजिमको कसुरमा सोही ऐनको दफा १२ र दफा १९ को उपदफा (२) बमोजिम हुने सजायमा सोही ऐनको दफा २२ बमोजिम मूल प्रतिवादीहरुलाई हुने सजाय वरावर सजाय हुन,
मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८१।०२।०७ को फैसलाबाट सफाई दिएको-:
क. प्रतिवादीहरु आरोपित कसूरमा ईन्कार रही वयान गरेको देखिएको।
ख. तारा प्रसाद सापकोटा र नवकुल शर्माले एम ७२६ र एम ४०५७ दुवै प्रज्ञापनपत्रमा भन्सार एजेन्ट प्रतिनिधिले घोषणा गरेको सामानको मूल्य ७३,४३२.४६ अमेरिकी डलर रहेकोमा पछिल्लो प्रज्ञापनपत्र नं. एम ४०५७ मा मालवस्तुको जाँचपास गरी मुल्य ८६,९०९ अमेरिकी डलर थप गरी राजश्व असुल गरेको देखिँदा राजश्व असुल नगरी कसूर गर्ने मनसाय नदेखिएकोले आरोप दावीको राजश्व असूल नगर्ने कसूरको उद्योग गरेको भन्ने दावी पुग्न सकेन।
ग. प्रतिवादीहरु तारा प्रसाद सापकोटा र नवकुल शर्माले बदनियत राखी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सरकारी कागजात नष्ट/नोक्सान गर्ने गराउने कसुर भएको तथा सोही ऐनको दफा १९ को दफा (२) बमोजिमको समेत कसुर गरेको पुष्टि दावी पुग्न सकेन।
घ. मुख्य प्रतिवादीहरु उपरको आरोपदावी स्थापित हुन नसकेकोले सोही आधारमा प्रतिवादीहरु Dev International Pvt. Ltd. तथा सोको संचालक शेरवहादुर वस्नेत, सरन कुमार खरेलले मूल कसूरदारले गरेको उक्त कसुरको मतियार भई कसुर गरेको भन्ने आरोपदावी समेत पुग्न सकेन।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।११।०९ मा पुनरावेदन गरिएको छः-
देहाय:
क. मिति २०७९/०९/२० गते बिराटनगर भन्सार कार्यालयमा Dev International Pvt. Ltd. ले चीनबाट पैठारी गरेको विभिन्न किसिमका तयारी कपडा एवं जुत्ता लगायतका मालवस्तुको भन्सार जाँचपासको लागि प्रज्ञापन पत्र नं. M 726 को ASYCUDA प्रणालीमा भन्सार एजेन्ट ४२३ को प्रतिनिधी सरन कुमार खरेलले US Dollar ७३,४३२.४६ मुल्याङ्कन गरी गराई निवेदन दिए पश्चात सोही मितिमा नै सो प्रज्ञापनपत्रमा उल्लेख गरेको सामानको मूल्य कम भएको भनी भन्सार बिभाग काठमाण्डौमा जानकारी गराएको र बिभागबाट नियमित follow up को कारणले कम मूल्यमा भन्सार पास नभए पश्चात भन्सार यार्डमा सामान हुँदा हुदै सामान आइनपुगेको भन्ने गलत प्रतिवेदन तयार गरी गराई सोही प्रतिवेदनको आधारमा मिति २०७९/०९/२६गते सो प्रज्ञापनपत्र डिलिट/रद्द गरे/गराएको देखिएको।
ख. बिराटनगर भन्सार कार्यालयमा दर्ता भएको प्रज्ञापन पत्र नम्बर M ७२६ फारम रद्द गर्ने कार्यमा प्रक्रियाको पूर्ण पालना नभएको, भन्सार यार्ड/गोदाममा मालवस्तु दाखिला भएको अवस्थामा समेत चीनबाट चलान नै नभएको भनी उल्लेख गरेको, पटक-पटक जाँचपास गर्ने भन्सार अधिकृत तथा जाँचकीको नाम परिवर्तन गर्ने र प्रज्ञापनपत्र रद्द गर्ने यथेष्ठ आधार नदेखिएको भन्ने समेत व्यहोराको प्रज्ञापन पत्र M ७२६ रद्द गरेको सम्बन्धमा छानबिन गरी भन्सार बिभागमा प्रतिवेदन पेश भएको र सोही विषयमा छानबिन गर्न नेपाल सरकार (मा.उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) बाट मिति २०७९।१०।११ मा समिति गठन भएकोमा सो समितिबाट समेत सोही व्यहोराको प्रतिवेदन पेश भई प्रतिवादी तारा प्रसाद सापकोटा समेतलाई तत्काल जिम्मेबारीबाट हटाएको भन्ने अर्थ मन्त्रालयको पत्र रहेको।
ग. देव ईनटरनेशनल प्रा.लि. ले पैठारी गरेको सो Consignment मा CTD No. 1045174 को बिल बिजक, Packing List अनुसार ५९८ पोका मध्ये उक्त प्रज्ञापन दर्ता नं ७२६ पेश गर्दाको अवस्थामा ४१३ पोका सामान भन्सार यार्डमा आएको भन्ने ट्रान्स नेपाल फ्रेट सर्विसेस प्रा.लि. को पत्र तथा गेट इन्ट्रीबाट देखिएकोमा न्यून मूल्यांकनमा भन्सार पास गराई राजश्व हिनामिना गर्ने गलत उद्देश्यले तयार गरेको उक्त प्रज्ञापन दर्ता नं ७२६ लाई रद्द गर्ने उद्देश्यले सामान नआई पुगेको भन्ने गलत बेहोरा लेखि लेखाई प्रज्ञापनपत्र नं M726 रद्द गरी पाउँ भनी पैठारीकर्ताको तर्फबाट भन्सार एजेण्ट सरन कुमार खरेलले निवेदन पेश गरेको र भन्सार गोदाममा उक्त मालवस्तुको अवस्था चेकजाँच गर्दा निवेदनमा उल्लेख भए अनुसार मालवस्तु नभेटिएको हुँदा निवेदकको निवेदन अनुसार हुन भनी गलत व्यहोराको प्रतिवेदन भन्सार अधिकृत नवकुल शर्माले प्रमुख भन्सार अधिकृत समक्ष पेश गरेको देखिएबाट प्रतिवादीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको गलत प्रतिवेदन दिई कसूर गरेको र सोही मितिमा नै प्रमुख भन्सार अधिकृत तारा प्रसाद सापकोटाले निर्णय गरी सरकारी कायर्लायमा रहेको सरकारी कागज उक्त प्रज्ञापन पत्र दर्ता नं ७२६ सिस्टमबाट डिलिट गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिमको सरकारी कागजात नष्ट/नोक्सान गर्ने गराउने कसुर गरेको निर्विवाद रुपमा पुष्टि भएकोमा निजहरुलाई सफाई दिने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
घ. प्रतिवादीहरु तारा प्रसाद सापकोटा, नवकुल शर्मा, Dev International Pvt. Ltd. तथा सोको संचालक शेरवहादुर वस्नेत, भन्सार एजेन्ट सरन कुमार खरेलले प्रचलित कानुन बमोजिम राजश्व निर्धारण गर्दा/वस्तु मुल्याङ्कन गर्दा पेस भएको प्रज्ञापन पत्रको बस्तुको गुणस्तर फरक पारी पार्न लगाई प्रज्ञापन पत्र नं.M726 मा कम मूल्य घोषणा गरी पैठारीकर्तालाई ने रू.८४,५५,६०५ गैरकानूनी लाभ र नेपाल सरकारको राजश्व चुहावट भई नोक्सान हुने पुष्टि भएको देखिएकोबाट निज प्रतिवादीहरु तारा प्रसाद सापकोटा, नवकुल शर्माले आरोपित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (घ) बमोजिमको कसुरको सोही ऐनको दफा २१ बमोजिमको राजश्व चुहावट गर्ने उद्योगको कसुर गरेको निर्विवाद रुपमा पुष्टि भएको तथा सरन कुमार खरेल, Dev International Pvt. Ltd., र सोको संचालक शेरवहादुर वस्नेतले उक्त मूल कसूरदारहरुले गरेको गलत प्रतिवेदन दिएको, सरकारी कागजात नष्ट/नोक्सान गर्ने गराउने र राजश्व चुहावट गर्ने उद्योगको कसुरको सोही ऐनको दफा २२ बमोजिमको मतियारको कसूर गरेको निर्विवदा रुपमा पुष्टि भएकोमा निज प्रतिवादीहरुलाई सफाई दिने ठहर गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन प्रेश बिज्ञप्ति
पुनरावेदन आरोपपत्र
पुनरावेदन आरोपपत्र