जिल्ला काठमाडौं, नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहन बहादुर बस्नेत उपर बिगो रु. ८,६९,८७,१०५।६९ कायम गरी गैरकानूनी आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८१।१०।२७ गते।
------------------------------------------
जिल्ला काठमाडौं, नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी मोहन बहादुर बस्नेतले जाँच अवधिमा नागार्जुन नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्व निज तथा निजको परिवारका सदस्यका नाममा बिभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुमा रहेका खातामा शुरु मौज्दात वापतको रकम, निजको पारिश्रमिक/तलब, दैनिक भ्रमण भत्ता, बिभिन्न भत्ता वापतको शतप्रतिशत बचत रकम, निजको श्रीमती उर्मिला बस्नेतको पारिश्रमिक/तलब रकम, श्रीमतीको विद्यालय भत्ताको बचत रकम, छोराको तलव रकम, बिभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुबाट लिएको कर्जा वापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय वापत रकम (जग्गा बिक्री वापतको आय गणना गर्दा बिक्री भएको जग्गा खरिद गर्दा बैधानिक आय स्रोतबाट खरिद वापतको खर्चको स्रोत पुष्टि भएको अनुपातमा मात्र बिक्री आय गणना गरिएको छ), बीमा परिपक्व पश्चात प्राप्त आय वापत रकम, विभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरुमा रहेको मौज्दात रकममा कर कट्टी पश्चात प्राप्त ब्याज आय वापतको रकम र बिभिन्न कम्पनीहरुको शेयर बिक्रिबाट प्राप्त कूल आय रकमसमेत गरी निज मोहन बहादुर बस्नेत र निजका एकाघर परिवारका सदस्यहरुले जाँच अवधिमा कूल रु.१९,९५,७४,८६२।२५ (उन्नाईस करोड पन्चानब्बे लाख चौरहत्तर हजार आठसय बैसठ्ठी रुपैयाँ र पच्चीस पैसा मात्र) आय आर्जन गरेको। साथै, सोही जाँच अवधिमा प्रतिवादी मोहन बहादुर बस्नेतको व्ययतर्फ जग्गा खरिद (रजिष्ट्रेशन दस्तुर) समेतको रकम, घर निर्माण गर्दाको खर्च रकम, घर मर्मत गर्दाको खर्च वापतको रकम, अपार्टमेन्ट खरिदका लागि बुकिङ्ग प्रयोजनामा भएको खर्च रकम, बिदेश भ्रमणमा जाँदा अमेरिकी डलर (USD) सटही गर्दा भएको कूल खर्च वापतको रकम, आफ्नो तथा पारिवारका सदस्यहरुको उपचारको क्रममा भएको खर्च रकम, बिभिन्न व्यक्तिहरुलाई जग्गा खरिद बिक्री कमिसन वापत भुक्तानी गरेको कूल रकम, बिभिन्न कम्पनीहरुमा गरेको कूल लगानी रकम, कर्जा लिदाँ तिरेको सेवा शुल्क वापतको खर्च रकम, कर्जाको साँवा व्याज भुक्तानीका क्रममा भएको खर्च रकम, छोराको वैवाहिक भोज खर्च रकम, विवाहित छोरालाई दिएको व्यक्तिगत खर्च वापतको रकम, विवाहित छोरीलाई दिएको रकम, दान चन्दा/डोनेसन वापत दिएको रकम, घरमा काम गर्ने सहयोगीलाई दिएको परिश्रमिक वापतको खर्च रकम, बिभिन्न व्यक्तिलाई दिएको रकम, बीमा शुल्क भुक्तानी वापतको खर्च रकम, लकर शुल्क वापतको खर्च रकम, विदेश भ्रमणमा जाँदा हवाई टिकट खरिद प्रयोजनामा भएको खर्च रकम बिभिन्न कम्पनीहरुको शेयर खरिदमा भएको खर्च/लगानी रकम, सवारी साधन खरिदका क्रममा भएको कूल खर्च रकम, सवारी साधनको सर्भिसिङका क्रममा भएको खर्च रकम, सवारी साधन नवीकरणमा भएको खर्च रकम, सुन लगायतका बहुमुल्य धातुका गरगहना खरिदका क्रममा भएको खर्च रकम र बिभिन्न बैंक तथा वित्तीय संस्था एवं सहकारी संस्थाहरुमा रहेका खाताहरूमा रहेको मौज्दात रकमसमेत गरी जाँच अवधिमा कूल रु.२८,६५,६१,९६७।९४ (अठ्ठाईस करोड पैसठ्ठी लाख एकसठ्ठी हजार नौसय सड्सठ्ठी रुपैयाँ चौरानब्बे पैसा मात्र) खर्च तथा लगानी गरेको देखिंदा निजको जाँच अवधिको कूल/समग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक हुन गई जाँच अवधिमा रु.८,६९,८७,१०५।६९ (आठ करोड उनन्सत्तरी लाख सतासी हजार एक सय पाँच रुपैयाँ र उनन्सत्तरी पैसा मात्र) बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि भएको नदेखिएकोबाट नागार्जुन नगरपालिका काठमाडौँको नगर प्रमुख पदमा राष्ट्रसेवकको रुपमा सार्वजनिक पद धारण गरेका प्रतिवादी मोहन बहादुर बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी रु.८,६९,८७,१०५।६९ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निज मोहन बहादुर बस्नेत उपर रु.८,६९,८७,१०५।६९ (आठ करोड उनन्सत्तरी लाख सतासी हजार एक सय पाँच रुपैयाँ र उनन्सत्तरी पैसा मात्र) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय हुन, उल्लिखित तवरले त्यसरी आर्जन गरेको तथा बढे बढाएको गैरकानूनी सम्पत्ति सोही दफा २० को उपदफा (२) बमोजिम जफत गरिपाउन, प्रतिवादी मोहन बहादुर बस्नेतले आफू नगर प्रमुखमा पदमा बहाली भएपश्चात बार्षिक रुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुठ्ठा विवरण पेस गरेको पुष्टि भएकोले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुर भएको हुँदा निज प्रतिवादी मोहन बहादुर बस्नेतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिम कैद र जरिवाना गरी यसरी लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन,
साथै, निज प्रतिवादी मोहन बहादुर बस्नेत नागार्जुन नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएको सार्बजनिक पदाधिकारी भएको र निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ (भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्था) अन्तर्गतका माथि उल्लेखित मागदाबी बमोजिमको कसुर गरेको हुँदा निज प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन साथै निज प्रतिवादी मोहन बहादुर बस्नेतले आर्जन गरेको गैरकानूनी सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), ऐ. ऐनको दफा ४७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी असुल उपर हुन मागदाबी लिइएको छ।
यसैगरी निज मोहन बहादुर बस्नेतले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट निजको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज उर्मिला बस्नेतलाई प्रतिवादी कायम गरी आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे