प्रतिवादी केशवनन्द बनियाँसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको।
प्रेस विज्ञप्ति :- मिति २०८१।०९।२१ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी केशवनन्द बनियाँलाई भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(१) बमोजिमको कसुरमा बिगो रू.९१,८६,५४३।३० कायम गरी ऐ.ऐनको दफा २०(२) अनुसार बिगो बमोजिम जरिबाना र कैद सजाय तथा ऐ.ऐनको दफा २०(२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम जफत हुन तथा प्रतिवादी पङ्कज कान्दुको नाममा रहेको सम्पत्ति समेत ऐ.ऐनको ऐ दफाबमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएकोमा विशेष अदालतले निम्न आधारमा मिति २०८०।०९।२२ को फैसलाबाट सफाई दिएको-:
क) जिल्ला रूपन्देही, साबिक रायपुर-६ स्थित कि.नं. ३६९ को प्रतिवादीको घरको मूल्य रू.९२,१०,७७०/७८- कायम गरी व्ययतर्फ देखाएकोमा सो घर निजले जग्गा खरिद गर्दाको अबस्थामा नै बनिसकेको भनी जिकीर लिएको र मिति २०७८/७/२ मा घरको नक्सा पास नियमित गरी प्रमाणित गरेको देखिन आएबाट व्ययमा गणना गर्न नमिलेकाले निजको वैध आय रू.८४,१०,४५१.०६ रहेकोले स्वाभाविक रूपमा निजको आय भन्दा व्यय बढी देखिएको कारण निजको आर्जित सम्पत्ति गैरकानुनी आर्जन गरेको भनी आरोपदाबी बमोजिमको कसुरमा सजाय गर्न मिलेन।
ख) प्रतिवादी पङ्कज बनियाँले आरोपदाबीमा उल्लेख भएका सम्पत्ति आफैले गैरकानुनी रूपमा आर्जन गरेको भनी अभियोजकले दाबी नलिएको; दाबीको सम्पत्ति निजको नाममा रहे भएको देखिए पनि सोको स्रोत निजका बाबु नै हुन्।प्राप्त सम्पत्ति छोरा/छोरीहरूको स्वामित्वमा रहँदैमा कसुर गरी प्राप्त गरेको भनी अनुमान गर्न नसकिने भई बाबुले कुनै कसुरबाट आर्जन गरेका भए पनि सो कसुरको दायित्व कसुर गर्नेले नै बहन गर्नुपर्छ। प्राप्त सम्पत्ति अवैध हो भनी प्रतिवादी पङ्कज बनियाँलाई कसुरमा सजाय गर्नु न्यायोचित नहुने।
विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी देहायबमोजिमका आधार लिई सम्मानित सर्वोच्च अदालतमा मिति २०८१।०९।२१ मा पुनरावेदन गरिएको छः-
देहाय:
क) प्रतिवादी पङ्कज कान्दुको नाममा जिल्ला रूपन्देही साबिक रायपुर-६ स्थित कित्ता नं.३६९ को जग्गा कृपानन्द बनियासँग खरिद गर्दा भएको खर्च रू.२० लाख र रजिष्ट्रेशन दस्तुर रू. ४० हजाऱसमेत गरी रू २०,४०,०००।- खर्च भएकोमा उक्त रकम मध्ये रू ७,५३,५५९।५४ (३६.९४%) को स्रोत पुगेको देखिदैन।यसरी फैसलाको प्रकरणमा अदालतले प्रतिवादीको प्रारम्भिक आयको स्रोत नपुगेको सम्पत्तिबाट बढे बढाएको आम्दानीलाई समेत आय कायम गरी भएको फैसला त्रुटिपूर्ण रहेको।
ख) कित्ता नं.३६९ को जग्गा खरिद गर्दाको बखत खर्च गरेको उक्त रकम जाँच अवधिमा प्रतिवादीले वैधानिक रूपमा आय आर्जन गरेको स्रोतबाट पुष्टि गर्न सक्नुपर्छ।जग्गा खरिदका लागि रू.२०,४०,०००।- खर्च भएकोमा उक्त रकम मध्ये रू ७,५३,५५९।५४ को स्रोत पुग्न नसकेको तथा आरोपपत्रमा उल्लेख भए बमोजिम उक्त जग्गामा घर निर्माणमा भएको खर्च रू.९२,१०,७७०।७८ मा रू.६०,८१,७६४।३३ स्रोत नपुगेकोले श्रोत पुष्टि नभएको उक्त सम्पत्तिबाट बढे बढाएको सम्पत्ति स्वतः जफत हुने व्यवस्था भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २९ख ले गरेको। बढेबढाएको सम्पत्तिलाई आयको मान्यता दिँदा परिणामत: त्यसले आधारभूत सम्पत्तिको स्रोत पुष्टि हुन जाने अवस्था सिर्जना हुन आउँछ जुन कानुन सम्मत हुन नसक्ने” भनी नेपाल सरकार विरूद्ध युवराज शर्मा (ने.का.प. २०६९, नि.नं. ८८८६) भएको मुद्दामा सिद्धान्त प्रतिपादन भएको।
ग) पङ्कज कान्दुको नाममा रहेको कित्ता नं.३६९ को जग्गा राजिनामा पास गरी लिँदा लिखतमा उक्त जग्गामा घर छैन भनी पास गरेको हुँदा निज प्रतिवादीले जग्गाको मात्र कर तिरेको देखिएको।लिखतमा घर कायम नभएको अवस्थामा उक्त जग्गामा घर भए वापत राज्यले कर रकम नपाएको अवस्था रहेको। उक्त जग्गामा भएको घर, कम्पाउण्ड तथा आन्तरिक सजावट, फर्निचर आदिको मूल्याङ्कन गरी रू.९२,१०,७७०।७८ कायम भएकोमा निज प्रतिवादीहरूले खण्डन गर्न नसकेको अवस्था रहदाँ उक्त जग्गामा पहिल्यै घर रहेको भनी अपत्यारिलो बयान गरेको।यसरी घरको मूल्याङ्कन रू.९२,१०,७७०।७८ कायम गरिएकोमा उक्त घर सहित खरिद गरिएको जग्गाको जम्मा मूल्य रु २०,४०,०००।– मात्र नहुने भन्ने अविश्वसनीय तथ्यतर्फ अदालतले दृष्टि नदिई गरिएको फैसला त्रुटिपूर्ण रहेको।
घ) गैरकानूनी सम्पन्नता सम्बन्धी कसूरमा अपराधका तत्वहरू कार्य (Actus Reus) र मनसाय (Mens Rea) सम्पत्तिको परिमाण र स्रोतको पुष्टिसँगै अन्तरघुलित रूपमा रहेको।अर्थात् वैध स्रोत पुष्टि नहुने प्रकृतिको सम्पत्ति रहनु नै आपराधिक कार्य (Actus Reus) र त्यस्तो सम्पत्ति आर्जन गर्दा लुप्त वा जुनसुकै तवरबाट गरिने कार्यमा निहित मनसाय नै दूषित मनसाय (Mens Rea) को रूपमा सन्निहित रहेको।United Nation Convention Against Corruption, २००३ को धारा २८ मा समेत गैरकानूनी सम्पन्नताको कसूरमा knowledge, intent or purpose required as an element of an offence established in accordance with this convention may be inferred from objective factual circumstance भनी उल्लेख भएको। प्रतिवादी केशवानन्द बनियाँले कसुर गरी आर्जन गरेको सम्पत्ति निजको छोरा प्रतिवादी पङ्कज बनियाँको नाममा रहेको देखिएकोले निजको हकमा समेत कसूर कायम गरी सजाय गर्नुपर्नेमा सफाई दिइएको त्रुटिपूर्ण रहेको।
प्रवक्ता
नरहरि घिमिरे